‘किताब जात्रा’ असोज १० देखि भर्चुअल रुपमा हुने – Nepal Press

‘किताब जात्रा’ असोज १० देखि भर्चुअल रुपमा हुने

काठमाडौं । किताब यात्रा फाउण्डेसनले हरेक वर्ष आयोजना गर्ने किताब जात्रा असोज १० देखि एक सातासम्म आयोजना हुने भएको छ ।

कोरोना जोखिम कायम रहेको भन्दै फाउण्डेसनले यो वर्ष पनि भर्चुअल माध्यमबाट ‘जात्रा’ आयोजना गर्ने जानकारी दिएको छ । यो वर्ष जात्राको सेसनहरु एपीवान एचडी टिभीबाट हेर्न सकिनेछ भने उसको युट्युब च्यानलबाट पनि प्रशारण हुनेछ ।

‘किताब जात्रा’ असोज १० बेलुकी ५ बजेदेखि ७ बजेसम्म र त्यसपछिका दिनमा ६ बजेदेखि ७ बजेसम्म एपिवान टेलिभिजनमा हेर्न सकिनेछ । जात्रामा जोडिएको किताब नामलाई सार्थक बनाउन भने किताब यात्रा डटकमबाट नेपालमा उपलब्ध पुस्तकबारे जानकारी लिन र खरिद गर्न पनि सकिने फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले बताए ।

जनजीवनको अभिन्न अंग पठनसंस्कृति बन्नुपर्छ भन्ने ध्येय स्थापित गर्न फाउन्डेसनले आयोजना गर्ने गरेको ‘किताब जात्रा’को यो चौथो संस्करण हो । समाजका विभिन्न क्षेत्रका व्यक्तित्वबीच अन्तरक्रिया गरिने जात्रामा यस साहित्य, सिनेमा, संगीत, अर्थ, उद्यमलगायतका क्षेत्रका व्यक्तित्वहरू समावेश ८ वटा सेसनका साथै विशेष र काव्यिक प्रस्तुति पनि रहने फाउन्डेसनका सचिव कला अनुरागीले जानकारी दिए ।

उनका अनुसार ‘कथा लेखनको कथा’ शीर्षकमा आख्यानकार नयनराज पाण्डे र अमर न्यौपानेसँग शोभिता सिंखडाले सम्वाद गर्नेछिन् भने ‘लेखनमा लगाव’ शीर्षकमा सुरेश बडाल र प्रभाव बरालसँग मोहराज शर्माको संवाद हुनेछ । जात्रामा कवि नवराज पराजुलीको विशेष प्रस्तुति समेटिनेछ ।

अभिनेता निखिल उप्रेती र विपिन कार्कीसँग ‘सिनेमाको संसार’ तथा सुगम पोखरेल, प्रकाश सपुत र प्रमोद खरेलसँग ‘स्वरको सरगम’ शीर्षकमा समा थापाले बहस चलाउँदैछिन् । त्यसैगरी गायक अमृत गुरुङसँग टिकाराम यात्रीको अन्तरंग कुराकानी जात्रामा हेर्न सकिनेछ । गायिका आनी छोइङ डोल्माको विशेष प्रस्तुति पनि जात्रामा रहनेछ ।

‘अबको नेपाल, डिजिटल नेपाल’ शीर्षकमा डा। बैकुण्ठ अर्याल, पुरुषोत्तम खनाल र सुनैना पाण्डेसँग सुवास शर्माको अन्तरक्रिया हुनेछ भने ‘उद्यमको बाटो’ शीर्षकमा लक्ष्मण न्यौपाने र रमेश शेर्पासँग रूपा खड्काले अन्तरक्रिया गर्नेछिन् । ‘अर्थको अर्थ’ सेसनमा महाप्रसाद अधिकारी, किरणकृष्ण श्रेष्ठ र वर्षा श्रेष्ठसँग भरत रिजालले बहस गर्नेछन् ।
जात्राकै अवसरमा नेपाली वाङ्मय क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिने ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिने फाउन्डेसनका उपाध्यक्ष कृपेश किशोर घिमिरेले भने ।

नगद राशिसहितको प्रदान गरिने सम्मान सर्लाही जिल्लाका शिक्षासेवी स्व. प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको हो । उनी फाउन्डेसनका संस्थापक अध्यक्ष ऋषिराम अधिकारीको पिता हुन् । प्रेम साहित्य सम्मान साहित्यकार सरुभक्त र कवि जसराज किराँतीले प्राप्त गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर