४ सचिव र ९ सहसचिवले अवकाश पाउँदै, को-को छन् सचिवकाे प्रतिस्पर्धामा ? – Nepal Press

४ सचिव र ९ सहसचिवले अवकाश पाउँदै, को-को छन् सचिवकाे प्रतिस्पर्धामा ?

काठमाडौं । दसैं तथा तिहारअघि चार विशिष्ठ श्रेणीका कर्मचारीले अनिवार्य अवकाश पाउँदै छन् । लेखापरीक्षण, प्रशासन र प्राविधिकतर्फ गरी सचिवसरहका चार विशिष्ठ श्रेणीका कर्मचारीले अवकाश पाउन लागेका हुन् ।

महालेखापरीक्षकको कार्यालयमा कार्यरत उप-महालेखापरीक्षक बाबुराम गौतम र ईश्वर नेपालले कात्तिक ५ गते अनिवार्य अवकाश पाउन लागेका हुन् । त्यस्तै प्रशासनतर्फ युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने र प्राविधिकतर्फ नेपाल ट्रष्टको कार्यालयका सचिव राजेन्द्रप्रसाद खनालले यसैसाता अनिवार्य अवकाश पाउँदैछन् ।

शुक्रबार अनिवार्य अवकाश पाउन लागेका सचिव खनाललाई दुई महिनाअघि अर्थात् असार २८ गते बसेको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले सहसचिवबाट सचिवमा बढुवा गरेको थियो । खनाल प्राविधिक सेवातर्फ नेपाल इन्जिनियरिङ सेवा क्षेत्रका सचिव हुन् ।

चार सचिवका लागि नौ सहसचिव प्रतिस्पर्धामा

अनिवार्य अवकाशपछि रिक्त हुने चार सचिव पदका लागि नौ सहसचिव प्रतिस्पर्धामा छन् । लेखापरीक्षणतर्फ दुई पदका लागि वरिष्ठ तीन नायव महालेखापरीक्षक प्रतिस्पर्धामा छन् । जसको एक नम्बरमा महेश्वर काफ्ले, दोस्रोमा बिन्दु विष्ट र तेस्रोमा वामदेव अधिकारीको नाम छ ।

जेष्ठताका आधारमा एक नम्बरमा रहेका काफ्लेलाई बढुवा सिफारिस समितिले एकल सिफारिस गर्ने सम्भावना छ । तर अर्को एक पदका लागि भने ३ जनाको नाम जाने कानूनी व्यवस्था रहेकाे छ । वरिष्ठताका आधारमा बिष्ट र अधिकारीको नाम सिफारिस हुनेछ । विष्ट र अधिकारीमध्ये एकजनालाई मन्त्रिपरिषद्ले बढुवा गर्नेछ ।

प्रशासनतर्फ तीनजना वरिष्ठ सहसचिव प्रतिस्पर्धामा छन् । जसमा एक नम्बरमा रविलाल पन्थ, दुई नम्बरमा रामेश्वर दंगाल र तीन नम्बरमा मुकुन्दप्रसाद निरौला रहेका छन् ।

जेष्ठताका आधारमा पन्थको नाम सिफारिस हुने संभावना धेरै छ । पन्थ लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिव, दंगाल अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुख र निरौला वातावरण विभागको महानिर्देशको जिम्मेवारीमा छन् ।

यस्तै प्राविधिक रिक्त हुने एक सचिवका लागि सहसचिव गोपाल सिग्देल, सुरजुकुमार बैद्य र रामाआधार शाह प्रतिस्पर्धामाा छन् । सिग्देलको नाम यसअघि नै तीनपटक बढुवाका लागि सिफारिस भइसकेको छ ।

यसअघि राजेन्द्रप्रसाद खनाल सचिवमा बढुवा भएका बेला सिग्देलको नाम पहिलो नम्बरमा सिफारिस भएको थियो । तर खनाललाई बढुवा नगर्दा उनी सहसचिवबाट अनिवार्य अवकाशमा जाने भएपछि एक नम्बरमा सिफारिस भएका सिग्देललाई रोकिएको थियो ।

सिग्देल कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको सचिव हुन् । वैैद्य जल तथा मौसम विज्ञान विभागको महानिर्देशकको जिम्मेवारीमा छन् । यस्तै शाह शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन् ।

प्राविधिकतर्फ बढुवा हुने सम्भावना कम

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको काम गर्ने समयसीमा पुससम्म भएकाले त्यहाँ कार्यरत सचिवलाई व्यवस्थापन गर्नका लागि प्राविधितर्फ सचिव बढुवा हुने सम्भवाना कम देखिएको छ ।

८ महिनापछि अर्थात आगामी जेठ ४ गते मात्रै प्राविधिकतर्फका सचिव देवेन्द्र कार्कीले अनिवार्य अवकाश पाउने भएकाले त्यतिबेला मात्र सचिव बढुवा हुने सम्भावना पनि छ ।

यस विषयमा सचिव बढुवा सिफारिस समितिले कुनै निर्णय गरिसकेको छैन । यसअघि राजेन्द्रप्रसाद खनाललाई सचिवमा बढुवा गर्ने समयमा पनि यो विषयमा छलफल भएको थियो ।

नौ सहसचिवले पनि अनिवार्य अवकाश पाउँदै

दसैं र तिहारसम्म नौ जना सहसचिवले पनि अनिवार्य अवकाश पाउने भएका छन् । निजामति किताबखानाका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव देवीप्रसाद ज्ञवालीले शुक्रबार अनिवार्य अवकाश पाउँदै छन् । त्यस्तै असोज २३ गते सहसचिव एवम बाराकाे कलैया उपमहानगरपालिका  प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद रेग्मी पनि अनिवार्य अवकाश पाउने सूचीमा छन् ।

कात्तिक ६ गते सहसचिव एवम् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक उपेन्द्र राय, कात्तिक १० गते ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सरोजचन्द्र पण्डितले अनिवार्य अवकाश पाउँदैछन् ।

कात्तिक १२ गते गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुखसमेत रहेका सहसचिव सुनिल खनाल, कात्तिक २१ गते आयोजना कार्यान्वयन समूह ललितपुरका सहसचिव हरिराम श्रेष्ठ, कात्तिक २९ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान तथा प्रविधि महाशाखा प्रमुख सहसचिव सुरेन्द्र सुवेदीले र वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक एवम् वन व्यवस्थापन महाशाखा प्रमुख नवीन गिरीले अनिवार्य अवकाश पाउँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर