योगेशले भरतमणीलाई ९ लाख दिँदा सँगै चेक समातेका विक्की र सन्तोष खाली हात ! (भिडिओसहित) – Nepal Press

योगेशले भरतमणीलाई ९ लाख दिँदा सँगै चेक समातेका विक्की र सन्तोष खाली हात ! (भिडिओसहित)

काठमाडौं । आफ्ना जिल्लावासी भरतमणी पौडेल कमेडी च्याम्पियन बनेपछि एमाले नेता योगेश भट्टराई निकै खुशी छन् । भरतमणीलाई जिताउन उनले सुरुदेखि खुलेर लविङ गर्दै आएका थिए ।

योगेशको सक्रियतामा गठित ‘भरतमणि सहयोग समिति ताप्लेजुङ’ ले आज एक कार्यक्रम गरी भरतमणिलाई ९ लाख ५ हजार रुपैयाँ प्रदान गर्यो । समितिका तर्फबाट उनले नै चेक हस्तान्तरण गरेका थिए । भरतमणीलाई जिताउने अभियानका क्रममा संकलन गरिएको रकम थियो यो ।

अमिल्दो चाहिँ के भयो भने यस कार्यक्रममा कमेडी च्याम्पियनमा दोस्रो र तेस्रो भएका विक्की अग्रवाल र सन्तोष थापालाई पनि निम्त्याइएको थियो । तर, उनीहरुलाई कुनै नगद पुरस्कारको व्यवस्था थिएन । उनीहरु दुवैलाई खादा ओढाएर सम्मानपत्र मात्र दिइयो । भरतमणीको दायाँ र बायाँ उभिएर बिक्की र सन्तोषले उनलाई ठूलो आकारको ‘चेक’ समात्न सहयोग गरे । आफूहरुले एक रुपैयाँ पनि पाएनन् ।

उक्त दृष्य देख्दा कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुले समेत असहज मानेका थिए । एकजनालाई मात्र पुरस्कार दिने कार्यक्रममा अरु प्रतिस्पर्धीलाई बोलाएर अनि चेक समात्न लगाएर बिल्ला गरिएको टिप्पणी पनि सुनियो ।

कार्यक्रममा तीनैजनालाई मन्तव्य दिन लगाइएको थियो । विक्की र सन्तोष दुवैले व्यंग्यात्मक तरिकाले असन्तोष पोखे ।

विक्कीले भने, ‘यहाँ तीनजना विजेता लेखेको छ, तर भरतमणिले २५ लाख पनि पायो, ९ लाख पनि पायो, गाडी पनि छ । हाम्रो त भाको पैसा पनि गइसक्यो ।’

उनको यस्तो व्यंग्यात्मक भनाइमा सहभागीहरु गललल हाँसेका थिए ।

सन्तोष थापाले पनि ठट्यौली शैलीमा ‘यहाँ किन आएछु जस्तो लागेको’ बताए ।

‘कमेडी च्याम्पियन जितेर हामीलाई यहाँ ल्याएको चाहिँ मेरो यति धेरै पावर छ भनेर रैछ,’ उनले हाँस्दै भने, ‘अहिले यहाँ किन आइयो जस्तो भइरहेको छ ।’

आफ्नो भरतमणीलाई कमेडी च्याम्पियनमा जिताउन योगेशले सुरुदेखि नै खुला लविङ गरिरहेका थिए । उनले व्यक्तिगतरुपमा पनि भरतमणिलाई एक लाख रुपैयाँ प्रदान गरेका छन् । आज दिएको ९ लाख चाहिँ ताप्लेजुङबासीबाट संकलित हो । भरतलाई भोट गरेर उब्रेको पैसा हस्तान्तरण गरिएको एक सदस्यले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर