करोडौं खर्चेर बनाइएको अस्पताल प्रयोगमै आएन, संरचना जीर्ण बन्दै – Nepal Press

करोडौं खर्चेर बनाइएको अस्पताल प्रयोगमै आएन, संरचना जीर्ण बन्दै

जनकपुरधाम । १४ वर्ष अगाडि सहिद सूर्यनाथ रानको स्मृतिमा धनुषाको डुमरियामा अस्पताल बनाउने घोषणा भयो । करोडौं रुपैयाँ खर्चेर अस्पताल पनि बन्यो । तर, उक्त अस्पताल अझै सञ्चालनमा आएको छैन ।

सहिदको सम्झनामा अस्पताल बनाउने घोषणा हुँदा स्थानीय खुसी थिए । तर बनेको अस्पताल पनि सञ्चालनमा नआउँदा स्थानीय दु:खी भएका छन् । सहिद सूर्यनाथको २२औं स्मृतिसभामा माओवादी नेता एवम् त्यतिबेलाका स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले अस्पताल बनाउने घोषणा गरेका थिए ।

अस्पताल बन्ने भएपछि उत्साहित भएर ५ जना किसानले झण्डै २ विघा जग्गा दान गरे । करोडौंको लागतमा भौतिक संरचना पनि निर्माण भयो । सुविधासम्पन्न ४ वटा भवन बनेपछि अस्पताल सञ्चालन हुनेमा ढुक्क थिए स्थानीय बासिन्दा । तर विडम्बना अहिलेसम्म अस्पताल सञ्चालनमा आउन सकेको छैन । र उनीहरु निरास छन् ।

दुई दिन अगाडि असोज ४ मा माओवादी केन्द्रले विगतजस्तै सहिद सूर्यनाथ रानको ३६ औं स्मृति दिवस मनाए ।

माओवादी नेता नारायणकाजी श्रेष्ठ थिए, स्मृति दिवसको प्रमुख अतिथि । उनले अस्पतालबारे केही बोल्ने धेरै स्थानीयको आश थियो । तर उनले त्यसबारे केहि बालेनन् । सहिद रानले कोरेको क्रान्तिको बाटोमा हिँड्न स्थानीयलाई सुझाएर उनी काठमाडौं फर्के ।

अस्पताल सञ्चालनका लागि बनेको त्यहाँको भौतिक संरचना पनि गजबको छ । हरेक कोठामा पंखा, अट्याच शौचालय र बेसिन जडान भएको छ । कोठामा मार्बल ओछ्याएको छ । त्यो सुविधा सम्पन्न भवन अहिले संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । कतिपय कोठाको सिसाको झ्याल र काठको ढोकासमेत फोडिसकेको छ । केही कोठामा दिसापिसाव गरिएको छ । अस्पताल दुर्गन्धित छ ।

कोरोना महामारीका बेला अस्पताल सञ्चालन गर्न भौतिक संरचनाको अभावको कैयौं समाचार बने । तर डुमरियामा निर्माण भएको झण्डै ४ करोडको भौतिक संरचना अझै प्रयोगविहीन छ ।

गत वर्ष प्रदेश २ सरकारले उक्त अस्पताललाई जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने निर्णय पनि गर्यो । तर चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमबाटै उक्त कार्यक्रम हटाइएको छ ।

अस्पताल सञ्चालनका लागि स्थानीयले पटक पटक आन्दोलन गरे । धनुषा क्षेत्र नम्बर २ मा पर्ने उक्त ठाउँबाट निर्वाचित संघीय सांसद एवं पूर्वपर्यटन मन्त्री उमाशंकर अरगरियाले पटक–पटक सदनमै अस्पताल सञ्चालन गर्न आवाज उठाए, जतिबेला उनी जसपामा थिए ।

सांसद अरगरियाकै दबाबका कारण तत्कालीन स्वास्थ्यमन्त्री एवं जसपा अध्यक्ष उपेन्द्र यादवले उक्त अस्पताललाई प्रदेशमातहतमा ल्याउने निर्णय गराए । तर पछिल्लो समय पार्टी विभाजन भएपछि सांसद अरगरिया लोसपामा गएकै कारण प्रदेश सरकारले उक्त अस्पताल सञ्चालनमा ल्याउने योजना चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट हटायो ।

अस्पताल सञ्चालनमा नआएपछि स्थानीय खिन्न छन् । जनकपुरधामदेखि करिब २५ किलोमिटर दूरीमा पर्छ डुमरिया । सामान्य बिरामी पर्दा जनकपुर वा सिरहा सदरमुकाम पुग्नुपर्ने त्यहाँका बासिन्दाको बाध्यता छ ।

स्थानीय युवा निशान्त यादव भन्छन्, ‘हरेक वर्ष ठूला नेता आउँछन् । यो गर्छु, त्यो गर्छु भन्ने भाषण ठोक्छन् । तर फर्केपछि सबै बिर्सिन्छन् । त्यसैले त शहिद रानको नाममा अस्पताल सञ्चान गर्न करोडौंको लागतमा बनेको भवन पनि प्रयोगविहीन छ ।’ भवन बनेको १४ वर्षमा पनि अस्पता सञ्चालन नहुनु शहिद रानको अपमान भएको उनको बुझाई छ ।

‘गाउँमै अस्पताल ठूलो मध्यम वर्गका जनतालाई ठूलो राहत हुने थियो’, उनले भने, ‘तर जनकपुर वा सिरहा उपचार गराउन जानुपर्दा समय पनि बर्बाद हुन्छ । रुपैयाँ पनि बढी खर्च हुन्छ ।’

जनताको पीडा महसुस गरेर अबिलम्ब अस्पताल सञ्चालनमा ल्याउन सरकारसँग उनको अनुरोध छ ।


प्रतिक्रिया

One thought on “करोडौं खर्चेर बनाइएको अस्पताल प्रयोगमै आएन, संरचना जीर्ण बन्दै

  1. आँइ यौ, नगर पैल्का घोषना कर्तै, गाम नगर भ जतै? करोडोके अस्पताल त बनल मुदा ईलाज करेकेलेल डाकटर, नर्श, हेल्थ असिस्टेन्ट, अहेबए, कमचारी सब चाहि कि नै चाहि? ई सब गोटे गाम प आयत से? सपना नै देखु से गामके ई अस्पताल सुरु हेत। बुझलियै??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर