एनभीए क्लब च्याम्पियनसिपको खेलपाटीले प्रत्यक्ष प्रशारण गर्ने – Nepal Press

एनभीए क्लब च्याम्पियनसिपको खेलपाटीले प्रत्यक्ष प्रशारण गर्ने

काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रशारण खेलपाटीले गर्ने भएको छ ।
नेपाल भलिबल संघले प्रतियोगिताको प्रत्यक्ष प्रशारणका लागि आह्वान गरेको खुल्ला प्रतिस्पर्धामा खेलपाटी छनोट भएको हो ।

बुधबार भलिबल संघकी उपाध्यक्ष निरोज मास्के र खेलपाटीका तर्फबाट आशिष पौडेलले प्रत्यक्ष प्रशारण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एनभीए क्लब च्याम्पियनसिप अन्तर्गतको सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रशारणको अधिकार खेलपाटीले प्राप्त गरेको छ ।

संघकी उपाध्यक्ष निरोज मास्केले भलिबल खेलको प्रत्यक्ष प्रशारण अधिकार बिक्री हुनु खुशीको विषय भएको बताइन् । उनले भलिबल खेललाई थप व्यवसायीक बनाउने अभियानमा यसले एउटा कोशेढुङ्गाको काम गर्ने बताइन् ।

खेलपाटीका प्रबन्ध निर्देशक आशिष पौडेलले भलिबलसँग जोडिएर काम गर्न पाएकोमा खुसी व्यक्त गरे । राष्ट्रिय स्तरको क्लब च्याम्पियनसिपको प्रत्यक्ष प्रशारणले भलिबलको प्रवर्द्धन र विकासमा थप टेवा पुग्ने धारणा राखे ।

नेपाल भलिबल संघको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता असोज १० देखि १६ गतेसम्म सञ्चालन हुदैछ । राखेपको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा देशभर उत्कृष्ट क्लब सहभागी बन्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर