एमाले अध्यक्ष ओलीकाे हिसाबः पाँच सिट नजित्ने माओवादीलाई ३६ सिट दिएर गल्ती भयो – Nepal Press

एमाले अध्यक्ष ओलीकाे हिसाबः पाँच सिट नजित्ने माओवादीलाई ३६ सिट दिएर गल्ती भयो

बर्दिया । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच सिट नजित्ने माओवादीसँग गठबन्धन गरेर ३६ सिट जिताउनु नै आफ्नो गल्ती भएको बताएका छन् । एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई बुधबार गुलरियामा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डले सर्पलेझैं दुध दिने हातलाई डसेको आरोप लगाए । भने, ‘जुन हातले दुध दिर्यौं, प्रचण्डले त्यहीं हात टोके ।’

अध्यक्ष ओलीले पार्टी नफुटेको दाबी गर्दै दुई चारजना कार्यकर्ता मात्रै बाहिरिएको र उनीहरु कुहिएर झरेका पात भएको टिप्पणी गरे । ‘कुहिएको पात झरेर केही लछारपाटो लाग्दैन’ उनले भने ।

ओलीले माधवकुमार नेपालको साथमा दुई चारजना कार्यकर्ता मात्रै भएको दाबी गरे ।

अर्को पार्टीले निस्काशन गरेका व्यक्तिहरुको सनाखत लिएर नयाँ दल दर्ता गर्नु ज्यादती भएको ओलीले बताए । यस कार्यविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको बताउँदै ओलीले भने, ‘अदालतले फैसला गर्यो भने त यिनीहरुको पार्टीले मान्यता पाउनै सक्दैन ।’

ओलीले आफ्नो सरकारले गरेको काम देख्न नसकेर प्रतिगामी तत्वहरुले अदालतको साहारामा सरकार ढालेको बताए । ओलीले जनादेशको सरकारलाई हटाएर परमादेशको सरकार बनेकाले लामो समयसम्म अहिलेको सरकारले पूर्णता पाउन नसकेको बताए ।

अध्यक्ष ओलीले ‘देशको विकासका लागि पैसा नै नभएको बताउने कस्तो दरिद्रहरुको सरकार हो ?’ भनेर प्रश्न गरे । उनले भने, ‘हामी जानेवित्तिकै पैसा हुन्छ उनीहरु जाने वितिक्कै पैसा छैन । कस्तो दरिद्रहरुको सरकार बनेछ । मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने सरकारले गरिबहरुलाई जग्गा दिने सुकुम्बासी आयोग खारेज गर्दछ । बनाउन नसक्ने तर भत्काउन विगार्न सक्ने कस्तो सरकार बनेछ ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर