राजदूत रिक्त हुने नियोग संख्या २३ पुग्यो, परराष्ट्रमन्त्री भन्छन् : न्यूयोर्कबाट फर्केपछि सिफारिस गर्छु


काठमाडौं । सरकारले राजनीति कोटामा पठाइएका १२ मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णयसँगै राजदूत रिक्त हुने नियोगको संख्या २३ पुगेको छ ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले भारत, चीन, अमेरिका, बेलायतसहितको मुलुकका राजनीतिक पृष्ठभूमिका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
पहिल्यै नियुक्त रहेका ११ देशसहित अब राजदूत रिक्त हुने दूतावासको संख्या २३ पुगेको हो ।
अष्ट्रिया, अष्ट्रेलिया, रुस, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क, साउदी अरब, ब्राजिल, बहराइन र म्यानमारमा यसअघि नै राजदूत पद रिक्त थियो । अघिल्लो सरकारले नियुक्त गरेका ११ राजदूतको सिफारिस देउवा सरकार बने लगत्तै खारेज भएको थियो ।
नेपालको ३० मुलुकमा आवासीय राजदूतावास, राष्ट्रसंघका लागि तीनवटा स्थायी नियोग र ६ वटा महावाणिज्य दूतावास छन् ।
यसैबीच, सरकारले अर्को साताभित्र राजदूत सिफारिस गर्ने तयारी गरेको छ । सिंहदरबारमा आज पद्भार सम्हाल्दै परराष्ट्रमन्त्री खड्काले आफू राष्ट्रसंघीय महासभामा भाग लिएर फर्किएपछि राजदूतको सिफारिस प्रक्रिया अघि बढाउने उनले बताएका छन् ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राजदूत सिफारिसबारे जानकारी गराएको जनाइएको छ ।
यी हुन् बाँकी रहेका राजदूतहरु (परराष्ट्र सेवा अन्तर्गत)
अमृतबहादुर राई (न्युयोर्क, राष्ट्रसंघीय स्थायी नियोग), गणेशप्रसाद ढकाल (थाइल्यान्ड), तापस अधिकारी (पाकिस्तान), मणिप्रसाद भट्टराई (स्वीटजरल्यान्ड), भृगु ढुंगाना (क्यानडा), दुर्गाप्रसाद भण्डारी (कुवेत), रामकाजी खड्का (जर्मनी), गेहेन्द्र राजभण्डारी (बेल्जियम), दीपक अधिकारी (फ्रान्स) र कृष्णप्रसाद ढकाल (युएई)