‘सन्तुलित विदेश नीति अघि बढाउँछौं, एमसीसीमा राष्ट्रिय सहमति जुटाउँछौं (भिडिओ) – Nepal Press
परराष्ट्रमन्त्रीले सम्हाले कार्यभार

‘सन्तुलित विदेश नीति अघि बढाउँछौं, एमसीसीमा राष्ट्रिय सहमति जुटाउँछौं (भिडिओ)

राष्ट्रसंघ महासभामा भाग लिन आजै बेलुका न्यूयोर्क जाँदै

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सबैको सहमतिमा मुलुकको परराष्ट्र नीति अघि बढाउने बताएका छन् । परराष्ट्र मन्त्रालय सिंहदरबारमा आज मन्त्री पदको कार्यभार सम्हाल्दै खड्काले आफू आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जान लागेको बताए ।

राष्ट्रसंघीय महासभामा भाग लिन मन्त्री खड्कासहितको नेपाली डेलिगेसन टोली आजै बेलुका ८ः३० मा न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

महासभामा सार्क क्षेत्रसहित विभिन्न मुलुकका विदेशमन्त्रीलाई भेटेर विचार आदानप्रदान गर्ने योजना रहेको उनले बताए । राष्ट्रसंघमा नेपालको एजेन्डा प्रस्तुत गर्ने बताउँदै उनले त्यसबाहेक अन्य योजना त्यहाँ नरहेको उनले बताए ।

‘राष्ट्रसंघको महासभा कूटनीतिक सम्बन्ध विस्तारको अवसर पनि हो’ उनले भने ।

एमसीसी लगायतका विषयमा भएका कुराहरुसहित यसले पार्न सक्ने प्रभावलाई अध्ययन गरेर अघि बढ्ने उनले बताए । ‘एमसीसीबारे सिर्जना भएका मिथ्या कुरालाई ध्यानमा राखेर राष्ट्रिय हित, सार्वभौमसत्ता र सुरक्षालाई ख्याल राखेर अघि बढ्छु’ उनले भने ।

परराष्ट्र नीति दल विशेषको नहुने बताउँदै उनले सबै मुलुकसँग घनिष्ठ र सन्तुलिन सम्बन्ध कायम राख्दै अघि बढ्ने जनाए । इन्डो–प्यासिफिक र अन्य नयाँ गठबन्धको कारण अवसरसँगै चुनौति पनि सिर्जिएको बताउँदै उनले एकपक्षीयभन्दा बहुपक्षीय नीति अँगालिने बताए ।

राष्ट्रसंघीय महासभामा भाग लिएर स्वदेश फर्किएपछि राजदूतहरु सिफारिस गर्ने समेत उनले जनाए । ‘म फर्केर आएपछि मात्र कुन देशमा कस्तो व्यक्ति पठाउने र साझा हित हेरेर राजदूत पठाउँछौं’ उनले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आजै खड्कालाई परराष्ट्रमन्त्रीको रुपमा सपथ खुवाएकी थिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर