गृहजिल्लामा कमजोर कांग्रेस नेता कँडेल, खनाललाई देवकरणको साथ – Nepal Press

गृहजिल्लामा कमजोर कांग्रेस नेता कँडेल, खनाललाई देवकरणको साथ

रुपन्देही । पार्टी केन्द्रको राजनीतिमा प्रभावशाली मानिएका प्रतिनिधिसभा सदस्य एवम् कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको समूह गृहजिल्ला पश्चिम नवलपरासीमा कमजोर देखिएको छ ।

जिल्लामा कँडेल र अर्का संविधानसभा सदस्य विक्रम खनालको दुई समूह छ । कँडेल देउवा समूहका बलियो नेता हुन् भने खनाल देउवाइतरको समूहमा छन् । खनाल वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा शशांक कोइरालासँग नजिक छन् ।
पार्टीको १४ औं महाधिवेशनअन्तरगत वडा अधिवेशनको प्रतिनिधि छनोटका आधारमा जिल्लामा खनाल समूह बलियो देखिएको पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा बताउँछन् ।

जिल्लामा देउवा र रामचन्द्र समूहभन्दा पनि कँडेल र खनाल समूहको टकराबका कारण वडास्तरसम्म गुट विभाजित छ । केन्द्रमा कँडेलको प्रभाव राम्रो देखिएपनि जिल्लामा खनाल बलियो हुनुको अर्को कारण हो, संविधानसभा सदस्य देवकरण जयसवालको बलियो साथ ।

कांग्रेस नेताहरुका अनुसार वडा तथा क्षेत्रीय प्रतिनिधिले जिल्ला नेतृत्वदेखि, क्षेत्र, गाउँ, नगर र महाधिवेशन प्रतिनिधि छनौट गर्ने प्रावधान रहेकाले दुवै पक्षका नेताहरु थप जोडघटाउमा लागेका छन् ।

जिल्लाका ७ स्थानीय तहमा रहेका ७४ वडाको अधिवेशन सकिएको छ भने गाउँनगरको अधिवेशन नजिकिंदै गरेकाले पनि यी दुई गुटका नेताहरु एक अर्काको मत तान्न दौडधुपमा लागेका छन् ।

निर्वाचन अधिकृत बाबुराम पाण्डेका अनुसार ७ स्थानीय तहका ७४ वडामा सम्पन्न अधिवेशनबाट १३ सय ५० जनाको हाराहारीमा क्षेत्रीय प्रतिनिधिहरु चयन भएर आएका छन् ।

जसअनुसार जिल्ला नेतृत्वसहित १ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ वटा प्रदेशसभा क्षेत्रमा खनाल समूह बलियो छ । पालिकातर्फ २ नगरपालिका र २ वटा गाउँपालिकामा खनाल पक्ष बलियो देखिएको छ । कँडेल पक्ष बलियो देखिएकामा १ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र, १ प्रदेशसभा तथा १ नगरपालिका र १ गाउँपालिका छन् । १ गाउँपालिकामा कडा प्रतिस्पर्धा रहेकाले दुवै समूहले ध्यान केन्द्रित गरेका छन् ।

मतको आंकलन अनुसार खनाल समूह जिल्ला नेतृत्वमा २ सय ३० भोटको हाराहारीमा कँडेल समूहभन्दा अघि देखिएको तर्क स्थानीय नेताहरुको छ । चुनावी प्रतिस्पर्धामा अलग–अलग समूह नै बनाएर उत्रिएका दुवै पक्षले १–२ पालिकाबाहेक सबैमा आफ्नो पकड बलियो रहेको दाबी गरेका छन् । उनीहरुले धेरै पालिकामा अलग–अलग प्यानलै बनाएर उम्मेदवारी सार्वजनिक गरिसकेका छन् ।

जिल्ला सभापतिमा कँडेल समूहले शिक्षक संघका पूर्वअध्यक्ष मोहन शर्मा र खनाल समूहले वर्तमान जिल्ला उपसभापति अर्जुनकुमार पोखरेललाई अघि सारेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर