किन बढाइयो स्यानिटरी प्याड र डाइपरको मूल्य ? – Nepal Press

किन बढाइयो स्यानिटरी प्याड र डाइपरको मूल्य ?

काठमाडौं । महिलाहरुले महिनावारीको समयमा प्रयोग गर्ने स्यानिटरी प्याड र बच्चाहरुलाई दिशापिसाव गराउने डाइपरको मूल्य बढेको छ । विदेशबाट आउने कच्चा पदार्थ र ढुवानी खर्च बढेको भन्दै प्याड र डाइपरको मूल्य बढाइएको जनाइएको छ ।

सरकारले प्रतिस्थापन विधेयकमार्फत स्थानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई तीन वर्षसम्म करमा पूर्ण छुट र त्यसपछिको दुई वर्षसम्ममा ५० प्रतिशत छुट दिने भने पनि कच्चा पदार्थ र ढुवानी खर्च वृद्धि भएको भन्दै उद्योगी र व्यापारीले मूल्य बढाएका हुन् ।

सरकारले प्याड निशुल्क वितरण गर्नुपर्ने बारे बहस भइरहेका बेला व्यापारीले मूल्य बढाएका हुन् ।

यागेड इन्टरनेसनल प्रालिका सञ्चालक राजन वाग्लेले कच्चा पदार्थ र ढुवानी खर्च प्रतिकन्टेनर ४ हजार डलरबाट वृद्धि भएर १२ हजार डलर पुगेकाले बाध्य भएर मूल्य वृद्धि गर्नुपरेको बताए । वाग्लेले भने, ‘कच्चा पदार्थ आयात गर्दा लाग्ने ढुवानी खर्च दुई गुणाले वृद्धि भएको छ । कच्चा पदार्थकै पनि मूल्य बढेकाले प्याडको मूल्य बढाउन बाध्य भएका हौं ।’

सरकारले अहिले विद्यार्थीलाई मात्रै निशुल्क स्यानिटरी प्याड वितरण गरिरहेको छ ।

वाग्लेको अनुसार नेपालमा प्रतिवर्ष ६०० करोडको स्यानिटरी प्याड खपत हुने गरेको छ । ३०० करोडको प्याड नेपालमा नै उत्पादन हुन्छ भने ३०० करोडको तयारी प्याड भारत, चीनलगायत देशबाट आयात हुने गरेको छ ।
प्याड बनाउन पल्प, पोलिमर, एसएपी, कपडा र सक्सिटलगायत कच्चा पदार्थ अमेरिका, चीन र भारतबाट ल्याउने गरिएको छ ।

स्यानिटरी प्याड उत्पादक सावित्री भन्डारीले विदेशबाट आयात हुने कच्चा पदार्थको मूल्य वृद्धि भएकाले नै नेपाली बजारमा पनि प्याडको मूल्य बढेको बताइन् ।

भण्डारीले भनिन्, ‘हामीले उत्पादन गरेको ६ देखि ८ वटा प्याड भएको पाकेट एक सय रुपैयाँमा बिक्री गर्दै आएका छौं । पुनः प्रयोग गर्न सकिने प्याड भने अहिले प्रतिगोटा १५० रुपैयाँमा बिक्री भइरहेको छ । तर प्याडमा प्रयोग हुने कपडा, सल्लोको बोक्रा, कपास जस्तै कच्चा पदार्थको मूल्य वृद्धि भएकाले मूल्य बढाउन परेको हो ।

सरोज मेडिकलका सञ्चालक सरोज खड्काले भने, ‘पछिल्लो समय स्यानिटरी प्याड र डाइपरको मूल्य वृद्धि भएर आएको छ । पहिलेको तुलनामा प्रति प्याकेट २ देखि ५ रुपैयाँ मूल्य वृद्धि भएर आएको छ । डाइपरको भने कम्पनीअनुसार १ देखि ३ प्रतिशत मूल्य वृद्धि भएको छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले प्याड प्रयोगकर्ता र यसको मूल्यबारे यकिन तथ्यांक नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर