सिन्धुपाल्चोक कांग्रेस: पूर्वसभापति र नेविसंघ महामन्त्रीसहित हस्ती वडामै पराजित – Nepal Press

सिन्धुपाल्चोक कांग्रेस: पूर्वसभापति र नेविसंघ महामन्त्रीसहित हस्ती वडामै पराजित

नेतृत्वमा युवाको उत्साहजनक उपस्थिति

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १४ औ महाधिवेशनअन्तरगत दोस्रो चरणमा मंगलबार सिन्धुपाल्चोकका १०३ वडामध्ये ९० वडामा अधिवेशन सम्पन्न भएका छन् । बेलुकी अबेरसम्म भएको अधिवेशनमा संस्थापन पक्ष र पौडेल पक्षका प्रतिनिधिको मिश्रित परिणाम आएको छ । अझ रोचक त के भएको छ भने, जिल्लाका पूर्वसभापतिदेखि नेविसंघका महामन्त्रीलगायत ठूला नेता गाउँमै पराजित भएका छन् । र, विद्यार्थी राजनीतिक गरिरहेका युवाहरु प्रतिनिधि चयन भएका छन् ।

१०३ वडा मध्ये जुगल गाउँपालिकाको गुम्बा, सुनकोशी गाउँपलिकाको कालिका र हेलम्बु गाउँपालिका ७ मा निर्वाचन प्रक्रिया नै अघि बढ्न सकेन । त्यस्तै बाँकी १० वडामा बेलुकीसम्म सबै प्रक्रिया सकिए पनि निर्वाचन भने हुन नसकेको शिक्षक संघ सिन्धुपाल्चोकका अध्यक्ष तुलसी दंगालले जानकारी दिए ।

ठूला नेताहरु गाउँमै पराजित

नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशनमा ठूला नेताहरु नै पराजित भएका छन् । कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति भुपेन्द्रबहादुर थापा वडामा नै पराजित भए । त्यस्तै नेविसंघ महामन्त्री बलदेव तिमिल्सना पनि गाउँमा नै पराजित भएका छन् ।

त्यस्तै महिला संघ सिन्धुपाल्चोककी अध्यक्ष गिता नेपाल र सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल पनि गाउँमा नै पराजित भएका छन् । अन्य जिल्लास्तरका कतिपय नेताहरु पनि गाउँमा नै पराजित भएको कांग्रेसले जानकारी दिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत गाउँबाट प्रतिनिधि छनोट हुनु नपर्ने भए पनि बस्नेत आफ्नो गृह वडाबाट क्षेत्रीय प्रतिनिधिमा निर्वारोध चयन भएका छन् । त्यस्तै थुम्पाखरका भिष्मप्रताप भण्डारी र ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी पनि गाउँमै पराजित भए ।

ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीले भने निर्वाचनमा धाँदली भएको भन्दै बहिस्कार गरेका थिए । ‘निर्वाचन अधिकृतले धाँदली गर्नुभयो, मनोनय दर्ता गर्दा अल्फाबेटअनुसार नामवाली हुने भने पनि हाम्रो नाम अन्तिममा राखेपछि मतदान प्रक्रियामा नै सहभागी भइनँ’, भण्डारीले भने ।

कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले रामचन्द्र पक्षधर नेता कार्यकर्ताहरुलाई गाउँमै हराउने नीति अघि सारेका थिए । अघिल्लो जिल्ला अधिवेशनमा पौडल पक्षधर विकास लामा जिल्ला सभापतिमा निर्वाचित भएपछि यो पटक भने बस्नेतले अन्य पक्षधरलाई गाउँबाट ‘पत्तासाफ गराउने नीति’ लिएको कांग्रेस स्रोतको दाबी छ ।

बस्नेतले गाउँगाउँमा अन्य पक्षका नेताहरुलाई हराउन निर्देशन दिएको स्रोतको दाबी छ । लामो समयदेखि कांग्रेसमा क्रियाशील पूर्व सभापति भुपेन्द्र थापाले अधिल्लो वर्ष जिल्ला सभापतिमा समेत उम्मेदवारी दिएका थिए ।

दुवै पक्षका बराबारी प्रतिनिधि

बुधबार बिहानसम्म कांग्रेसको क्षेत्रीय प्रतिनिधिहरुको सबै विवरण सार्वजनिक नभए पनि क्षेत्र नम्बर १ मा संस्थापन पक्ष (देउवा समूह)मा प्रतिनिधिहरुको बहुमत देखिएको छ भने क्षेत्र नम्बर २ मा पौडल पक्षको बहुमत देखिएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ का प्राय गाउँ सभापतिहरु समेत बस्नेत पक्षधरका नै रहेका छन् । ‘केही गाउँमा अर्काे पक्षका सभापतिहरु पनि छन् तर हाम्रो पक्षका बढी निर्वाचित भएका छन्’, देउवा पक्षीय कांग्रेस नेता हरिशरण श्रेष्ठले भने । क्षेत्र नम्बर २ मा भने पौडेल पक्षधर प्रतिनिधि र वडा सभापतिहरुको बहुमत देखिएको छ ।

चुनिए धेरै युवा प्रतिनिधि

कतै मतदानबाट त कतै सर्वसम्मत रुपमा कांग्रेसका वडा सभापतिहरु निर्वाचित भएका छन् । अधिवेशन सम्पन्न भएका वडाहरुमा हेर्दा ८० प्रतिशत भन्दा बढी वडा सभापतिमा युवाहरु चयन भएका छन् । क्षेत्रीय प्रतिनिधिहरुमा पनि युवाकै बर्चस्व देखिएको छ ।

सुनकोशी गाउँपालिकाबाट १९ वर्षीया सरस्वती जिसी क्षेत्रीय प्रतिनिधि चुनिएकी छन् । उनी जिल्लाबाट चुनिने प्रतिनिधिमध्ये सबैभन्दा कम उमेरको भएको कांग्रेसले जनाएको छ । त्यस्तै बाह्रविसे नगरपालिकाबाट २१ वर्षीय कृष्ण बस्नेत क्षेत्रीय प्रतिनिधि छानिएका छन् । उनी उक्त नगरपालिकाबाट चुनिएका प्रतिनिधिमध्ये सबैभन्दा कम उमेरका हुन् ।

बलेफी गाउँपालिकाबाट सन्तोष नेपाल, राजाराम नेपाललगायत युवा प्रतिनिधि चयन भएका छन् । समग्रमा सिन्धुपाल्चोकबाट धेरै युवाहरु कांग्रेसको क्षेत्रीय प्रतिनिधि भएका छन् ।

पछिल्लो समय कांग्रेसका युवाहरु नेतृत्वमा आइरहेका छन् । यसरी देशभर नै क्षेत्रीय प्रतिनिधिमा युवाको उल्लेख्य सहभागिता भएको नेविसंघको निवर्तमान केन्द्रीय सदस्य एलिजा ढकालले बताइन् । उनी भन्छिन्, ‘विद्यार्थीले पार्टीमा पनि हस्तक्षेप गरिराखेका छन् । यो आफैंमा एकदमै उत्साहजनक कुरा हो। यसले पार्टीको भविष्य सुन्दर भएको जस्तो लाग्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर