यति समूहका अध्यक्षको पहिलो अन्तर्वार्ता- हाम्रो परिवारलाई ‘भिक्टिम’ बनाइयो, अब मुख खोल्छु – Nepal Press
नेपाल टक

यति समूहका अध्यक्षको पहिलो अन्तर्वार्ता- हाम्रो परिवारलाई ‘भिक्टिम’ बनाइयो, अब मुख खोल्छु

नेपाल एयरलाइन्स सित्तैमा दिए पनि चाहिँदैन, दलाल पुँजिपतिले हामीलाई सिध्याउन खोजे

काठमाडौं । पाथिभरा हेलिकोप्टर दुर्घटनमा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँगै चर्चित पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको पनि निधन भयो । मिडियाले उनी भन्ठानेर पर्वतारोहण महासंघका पूर्वअध्यक्ष अर्का आङछिरिङको फोटो प्रकाशित गरे ।

चर्चित भएर पनि धेरैले आङछिरिङको फोटो भेट्टाउन र उनलाई चिन्न सकेनन् । कारण थियो, भित्रभित्रै सक्रिय हुने तर सार्वजनिक रुपमा नदेखिने उनको शैली । आङछिरिङको निधनपछि संयोग नै मान्नुपर्छ ‘यति काण्ड’ भनेर ठूलो स्क्याण्डल नै मच्चियो । मिडिया हेडलाइन नबनेको कुनै दिन रहेन । तर यति समूहका ‘मुख्य मान्छे’ कहिँकतै देखिएनन् र समाचार खण्डन गर्न पनि आएनन् ।

नेपालको पर्यटन उद्योगको अग्रणी थामसेर्कु ट्रेकिङसहित दर्जनौं कम्पनी चलाइरहेका ल्हाक्पा सोनाम शेर्पा त्यो परिवारका जेष्ठ सदस्य हुन् । यति ठूलो व्यापारिक घराना र राष्ट्रिय राजनीति प्रभावित पार्ने घटनाक्रमका प्रमुख पात्र सोनाम कहिल्यै मिडियामा देखिँदैनन् । यति ग्रुप भनेर दर्ता नभए पनि सो समूहका अध्यक्ष शेर्पा पहिलोपटक नेपाल प्रेसमार्फत केही सेक्रेट्सहरु खोल्न तयार भए ।

जीवनमै पहिलो पटक मिडियामा अन्तर्वार्ता दिएका उनी भिडियोमा भने आउन चाहेनन् ।

शेर्पा लबजमा उनले गुनासो गरे- हामी शेर्पाहरु भरियाभन्दा माथि उठ्न हुँदैन भन्ने मान्यता नेपालका नेता, दलाल पुँजिपति र मिडियाका केही टाइकुनहरुमा अहिले पनि देखिन्छ । त्यसको शिकार हाम्रो परिवार भयो ।

बसुन्धरास्थित बेसक्याम्पको कार्यालयमा यति समूहमाथि लागेका आरोपदेखि केपी ओलीसँगको सम्बन्ध लगायतका विषयमा उनी खुलस्त रुपमा प्रस्तुत भए ।

प्रस्तुत छ, यति ग्रुपका अध्यक्ष सोनाम शेर्पासँग नेपाल प्रेसका प्रधानसम्पादक मात्रिका पौडेलले गरेको उनको जीवनकै पहिलो अन्तर्वार्ता नेपाल टकमा ।

पछिल्ला दुई वर्ष नेपालमा सायद सबैभन्दा धेरै चर्चा यति ग्रुपको भयो होला । राजनीतिक दलका बैठकदेखि मिडियाका हेडलाइनसम्म छाउँदा पनि तपाई कतै देखिनुभएन । तपाई रहस्यमय रहन खोज्ने पात्र हो ?

म रहस्यमय पात्र होइन, एउटा साधारण गाउँबाट उठेर देशलाई योगदान गर्ने ठाउँमा आइपुगेको उद्यमी हुँ । मलाई चर्चामा आउन, मिडियामा बोल्न आउँदैन र मन पनि लाग्दैन । सायद मिडिया युज गर्न नसक्दा मिडियाबाटै भिक्टिम बन्न पुग्यौं म र मेरो परिवार । आज तपाईसँग नेपाल प्रेसको लागि म अन्तर्वार्ता दिँदैछु, यो मेरो जीवनको  पहिलो सार्वजनिक अन्तर्वार्ता हो । यो पनि मैले अब केही बोल्नुपर्छ, भ्रमहरु विस्तारै निवारण गरेर हामीलाई कसरी  भिक्टिम बनाइँदैछ, राष्ट्रिय उद्योगपतिलाई सिध्याउन दलाल पुँजिपतिहरुले कसरी मिडिया र राजनीतिकर्मीमाथि लगानी गरिरहेका छन् भन्ने जानकारी दिनुपर्छ भनेर पहिलोपटक मिडियामा आउँदैछु ।

ममात्र होइन मेरो भाइ आङछिरिङ (स्वर्गीय) को पनि अन्तवार्ता दिने, मिडियामा आफ्ना भए नभएका कुरा लेखाउने, काम नगरी चर्चामात्र बटुल्ने बानी थिएन ।

यति ग्रुप यसरी विवादमा आउँदा, नेकपा विभाजनको कारकसमेत यति ग्रुप बनाइँदा पनि तपाईहरु मौन रहनुको कारण के त ?

हामीलाई बोल्न दिइएन, एकोहोरो भिक्टिम बनाइयो । तर अहिले बाध्य भएर म बोल्दैछु । हामीले यो देशका लागि के गर्‍याैं ? हामी कसरी आयौं ? यसबारेमा विस्तारै बोल्दै जानेछौं ।

आज म यतिभन्दा हाम्रो परिवार मिडियाबाट भिक्टिम भएको छ । हामीले यति ग्रुप भनेर कुनै ब्राण्डिङ गरेर खाएको छैन । हाम्रो कम्पनीहरु सबै अलग–अलग छन् । केही मिडिया जसले यति ग्रुपले यसो गर्‍याे, उसो गर्‍याे भन्दै धारावाहिक कहानीहरु लेखे, उनीहरुले कम्पनी रजिष्टार कार्यालयमा गएर एकपटक यति ग्रुप छ कि छैन भन्ने बुझे हुन्छ । अहिलेसम्म यति ग्रुप भनेर कुनै कम्पनी नै हामीले दर्ता गरेको छैन । बरु अब यिनै मिडियाले ब्राण्डिङ गरिदिएको हुनाले यति ग्रुप दर्ता गर्नुपर्छ कि भन्ने चाहिँ सोच्दैछौं ।

यति ग्रुप भनेर यति धेरै चर्चा र विवादमा आयो, खासमा कसरी शुरु भएको थियो ?

आजभन्दा ३५ वर्षजति अघि हामी सोलुखुम्बुबाट आयौं । मेरा भाइहरुसहित तीन जनाले शेर्पालाई भरियामात्र भनेर चिने सबैले, पर्यटन उद्योगमा केही गरौं भनेर थालेका हौं ।

आज हामीले २८ सय जनालाई प्रत्यक्ष रोजगारी दिएका छौं । हिमालको मान्छेको पीडा त हामीलाई थाहा थियो । हरेक ठाउँमा होटल चाहिन्छ भनेर त्यहाँका मान्छेलाई पनि उद्यम गर्न सिकाउने ढंगले होटल सिस्टम चलायौं ।

हामीले एभरेष्ट एरियामा ८ वटा होटल खोल्यौं । मनाङमा ५ वटा छन् । मुस्ताङमा ५ वटा खोल्ने क्रममा छन् । अन्नपूर्णमा ७ वटा छन् । हामीले हिमाली क्षेत्रमा लगानी गर्‍याैं, किनभने त्यहाँ राज्यले केही गर्दैन ।

हिमाली क्षेत्रका मान्छेको जीवनस्तर उठोस्, हामीले गरेपछि उनीहरुले सिक्नेछन् भनेर हो । हामीले हिमाली क्षेत्रमा लगानी गरेपछि त्यहाँका मान्छेले रोजगारी पाए । स्थानीय उत्पादनले ठाउँ पायो ।

त्यसपछि हामीले २३ वर्षअघि आजकै दिन (असोज ५ गते) यति एयरलाइन्स खोल्यौं । यति एयरलाइन्सले ब्यापारमात्र गरेको छैन । घाटा खाएर शुरुदेखि नै कर्णालीमा सेवा दिएका छौं । प्राइभेट सेक्टरले घाटा खाएर ब्यापार गर्छ ?

तर हामीले दुर्गममा सेवा दिँदा घाटा हेरेका छैनौं । हामीले यति नगर्ने हो भने पर्यटन फस्टाउँदैन । एउटा पर्यटक नेपाल प्रवेश गरेपछि नफर्केसम्म हाम्रै कम्पनीको सेवा पाउँछ । यसरी हामीले ट्राभल, ट्रेकिङ, पर्वतारोहण, होटल, एयरलाइन्स जस्ता पुर्वाधारमा लगानी गरेका हौं ।

महामारी नहुँदा वर्षमा ६ महिना प्लेनमै हुन्थेँ । विभिन्न देशमा पर्यटक खोज्दै मार्केटिङ गर्न सबैतिर पुगिन्थ्यो । किनभने मार्केटिङ नगरी त क्वालिटी टुरिजम हुँदैन ।

तर सरकारलाई हातमा लिएर राज्यका सम्पत्ति, सरकारी जग्गाहरुमा पुर्वाधार बनाउनुभयो भन्ने आरोप छ नि ?

हामी व्यवसायीका लागि सबै राजनीतिक दलका नेता समान हुन् । हामी सबैसँग राम्रो सम्बन्ध राख्छौं । सरकार जसको आए पनि हामीले काम गर्ने हो । तर हामीले सरकारबाट अतिरिक्त सहयोग लिएका छैनौं र हाम्रो व्यवसाय नै सरकारबाट अतिरिक्त सहयोग लिएर लाभ लिने खालको हुँदैन ।

किनभने हामी ठेक्कापट्टा गर्दैनौ । सरकारको पैसा लिएर गर्ने व्यवसाय नै होइन हाम्रो । अनि कसरी सरकारलाई हातमा लिने ?

जहाँसम्म सरकारी जग्गाको कुरा गर्नुभयो, म आफैं अन्योल र अचम्ममा परेको छु यो इस्यु कसरी यति ठूलो बनेर आयो । नेपाल ट्रष्टका केही जग्गामा हामीले पुर्वाधार बनाएका छौं, ती जग्गा पूर्णरुपमा टेण्डर प्रक्रिया पूरा गरेर प्रतिस्पर्धामा भाग लिएर पाएका हौं ।

अरुले भन्दा बढी भाडा कबुल गरेर कानूनी प्रक्रियाबाट पाएको कुरालाई यति ठूलो इस्यु बनाउनुको पछाडि अरु नै कारण छन् भन्ने अहिले आएर बुझिँदैछ । नत्र भने टेण्डरमा कुनै सरकार वा मन्त्रीको आशिर्वादले हुन्छ ? प्रक्रियामा पसेपछि धेरै कबोल गर्नेले पाउने हो ।

दरवारमार्गकै केसको कुरा गरौं, जसलाई ठूलो इस्यु बनाइयो । नेपाल ट्रष्टले टेण्डर आह्वान गर्दा ७ वटा कम्पनीले भाग लिए । त्यसमा ३ वटा छनोट भए । ३० वर्षको लागि लिजमा दिँदा हामीले डेढ अर्ब भाडा तिर्ने प्रस्ताव लग्यौं ।

दोस्रो शाखा कम्पनीले ६२ करोड प्रस्ताव गर्यो । तेस्रोले २२ करोड प्रस्ताव गर्दा सबैभन्दा बढी हामीले प्रस्ताव गरेकाले पायौं । प्रक्रियाबाट मैले पाएँ त के भयो ? धेरै पैसा कबोल गर्नु नै मेरो दुर्भाग्य भयो ।

केही छैन त्यो पैसा राज्यको कोषमा गयो । दरवारमार्गमा डेढ अर्बमा त जग्गा किन्न पाइन्छ । राज्यको सम्पत्तिमा प्राइभेट सेक्टरले बनाएको भवन हेर्नुस कस्तो छ ।

हामीले पैदल हिँड्ने सडकमा समेत टायल बिछ्याएका छौं । तर यो त कसैले देख्ने रहेनछ । प्रतिस्पर्धामा सबैभन्दा बढी पैसा तिरेर पाउँदा पनि कब्जा गरेको आरोप लाग्छ भने अरु कुन प्रक्रिया हुन्छ ?

जहाँसम्म गोकर्ण रिसोर्टको कुरा छ, संसदले ऐन पास गरेपछि हामीले ऐन बमोजिम लिजको अवधि थप्न र कोठा तथा सेमिनार हल बनाउन अनुमति लिएका हौं । यतिले गोकर्णको लिज थप्यो भनेर सार्वजनिक खपतका लागि बोल्ने नेताहरु संसदबाट ऐन पारित गर्दा थपडी मारेर बसेका किन ? उनीहरुले पारित गरेको ऐन बमोजिम हामीले काम गर्दा विरोध भएको देख्दा उद्देश्य अरु नै छ भन्ने बुझ्न गाह्रो छैन ।

तर केपी ओली सरकार बदनाम गराउन त यति समूह मुख्य पात्र बन्यो नि होइन र ? आखिर केपी ओलीसँग तपाईंहरुको सम्बन्ध चाहिँ के हो ?

केपी ओली सरकार कति बदनाम भयो, कसरी कसले कुन उद्देश्यले हामीलाई प्रहार गरे यसको उजागर हुँदै जाला । केही मिडियाले बदनाम गर्दैमा कति समयसम्म बदनाम हुन्छ ? त्यो पनि विभिन्न समयमा जनताले आफ्नो मतबाट फैसला गर्लान् ।

हामीले उहाँबाट अतरिक्त कुनै सहयोग लिएको छैन । जहाँसम्म केपी ओलीसँगको हाम्रो सम्बन्धको प्रश्न छ यसबारे म केही प्रष्ट पार्न चाहन्छु । वास्तवमा केपी ओलीसँग र एमालेसँग हाम्रो परिवारको सम्बन्धमा मदन भण्डारी र पासाङ ल्हामु शेर्पा जोडिएका छन् । पहिलो महिला सगरमाथा आरोहीका रुपमा पासाङलाई मदन भण्डारीले झण्डा दिएर बिदाइ गर्नुभएको थियो । दुःखद संयोग दुवैजनाको शवयात्रा एकैपटक भयो । यो भावनात्मक सम्बन्ध हो ।

अर्कोतर्फ हामी त राजनीतिमा थिएनौ र छैनौं । मेरो कान्छो भाइ २०५४ सालमा एमालेबाट सोलुको जिल्ला विकास समिति सदस्य निर्वाचित भएको थियो । उसको कारण हामीले एमालेका नेताहरु केपी ओली, माधव नेपाल सबैसँग राम्रो सम्बन्ध नै बनाएका हौं ।

तर जसरी केपी ओलीले नै यति पोसेको र यतिले केपी ओलीलाई सघाएको भन्ने १०० प्रतिशत गलत समाचारहरु आए । यसबाट कसैलाई फाइदा होला तर कुनै सत्यता छैन ।

केपी ओलीले तपाईहरुलाई यति धेरै सहयोग गर्नुको कारण चाहिँ के हो त ?

केपी ओलीसँगै चाहिँ कसरी सम्बन्ध राम्रो भन्दा उहाँले हाम्रो कुरा ध्यानपूर्वक सुन्नुभयो । हामी शेर्पा, भरिया भनेर कुरै नसुन्ने नेताहरु छन् । उहाँसँग हाम्रा कुरा शेयर गर्न पायौं ।

उहाँलाई हामीले कुनै अतिरिक्त सहयोग गरेका छैनौं । उहाँबाट पनि हामीले सम्बन्ध छ भनेर अतिरिक्त कुनै लाभ लिएका छैनौं । एउटा चाहिँ उहाँले गर्नुभयो, त्यो के भने मेरो जेठी छोरीलाई उहाँले राजदूत बनाइदिनुभयो ।

मेरो छोरी आफैं सक्षम छ । पासाङ ल्हामु शेर्पाको छोरी भएका कारण उहाँले त्यो जिम्मेवारी दिनुभयो । मैले भनेर होइन, एमाले र पासाङ ल्हामु भावनात्मक रुपमा जोडिएका हुनाले होला । त्यसप्रति म उहाँप्रति आभारी छु ।

दिनमा चारवटासम्म हेडलाइन हुन्थे तपाईका, नेकपाका बैठकदेखि संसद र सडकमा यतिलाई जोडेर सरकारमाथि प्रहार हुन्थ्यो, त्यो बेला के सोचिरहनुभएको थियो ?

मविरुद्ध भनौं हाम्रो परिवारविरुद्ध तिनीहरुले ६ महिनासम्म धारावाहिक टेलिसियरलका कहानी लेखे । शुरुको हप्ता दिनसम्म त डर पनि भयो । लौ अब सिध्याउने भए, फेरि गाउँ फर्किनुपर्ने भयो कि जस्तो लाग्यो ।

तत्कालीन नेकपाको आन्तरिक विवादमा हामीमाथि राजनीति भयो । चौधरीजस्ता ग्रुपहरु लागेका पनि सुनेका छौं । हामीलाई सिध्यायो भने राष्ट्रिय पुँजिपति निरुत्साहित हुन्छन् र कब्जा गरिन्छ भन्ने होला ।

तर हुँदै नभएका कहानीहरु आइरहँदा मतलबै हुन छाड्यो । कुनै दिन आएन भने चाहिँ किन आएन आज ? भन्ने लाग्न थाल्यो । रमाइलो पो हुन थाल्यो आफ्नै कहानी पढेर ।

उनीहरुले हामीलाई राजनीतिकरण गरे । विस्तारै मुख खोल्छु भनेरै तपाईसँग आज यति खुलेको हुँ । विस्तारै दस्तावेजहरु बनाउँछौ, इतिहासमा हामीले के गर्‍याैं, हामीमाथि किन र कसरी आक्रमण भयो, कस्ता कस्ता मान्छे लागे भन्ने भावी पुस्तालाई जानकारी गराउँछौं ।

तपाईंहरुको विरुद्धमा यसरी लाग्नुपर्ने कारण के हो ? कसले गर्‍याे ?

यसमा केही राजनीतिक कारण छ । तत्कालीन नेकपाको आन्तरिक विवादमा हामीमाथि राजनीति भयो । चौधरीजस्ता ग्रुपहरु लागेका पनि सुनेका छौं । हामीलाई सिध्यायो भने राष्ट्रिय पुँजिपति निरुत्साहित हुन्छन् र कब्जा गरिन्छ भन्ने होला ।

धेरै नेताहरु खुलेरै लागे,जसले आफैंले संसदबाट पास गरेको ऐनविपरित बोले । हामी विस्तारै तथ्य खोल्छौं । किनकी हामीलाई त यिनीहरुले जनताको अगाडि ठग बनाउन खोजे । मेहनत गरेर राज्यलाई योगदान गर्ने हामीलाई ठगका रुपमा देखाएर देशको अर्बौ राजश्व छलेर, विदेशमा लगानी गर्नेहरुले हामीमाथि मिडिया र नेता प्रयोग गरेर हमला गरे ।

वास्तवमा यो लडाई दलाल पुँजिपति र राष्ट्रिय पुँजिपतिबीचको हो । हामी देशभित्र लगानी गरेर, यहीँ रोजगार सिर्जना गर्ने, राज्यलाई अर्बौ राजश्व बुझाउने, देशको पर्यटन उद्योगको जिम्मा लिनेहरुलाई सिध्याउन दलाल पुँजिपतिहरुले राम्रैसँग हामीलाई मिडिया भिक्टिम बनाए ।

तपाईंहरुमाथि नै प्रतिशोध चाहिँ किन त ?

यो त कुण्ठा, इर्स्या र इगो होला । गाउँबाट आएको शेर्पाको छोराले यत्रो प्रगति कसरी गर्‍याे ? पर्यटन उद्योगको साम्राज्य कसरी बन्यो ? उनीहरुलाई डाहा भयो । शेर्पा भनेका भरिया हुन्, उनीहरुले देशको उद्योग चलाउन पाउँदैनन् भन्ने मानसिकताले पनि काम गरेको होला । किनकी यहाँ त विदेशबाट माल ल्याएर त्यही माल जनतालाई बेचेर नाफा कमाउने दलाल पुँजिपतिले राजनीति र मिडिया कब्जा गरेका छन् । उत्पादनमूलक, रोजगारीमूलक र समृद्धिमा टेवा पुग्ने उद्योग चल्न दिँदैनन् तिनीहरुले । त्यसकै पहिलो निशाना हामी बनेका हौं ।

अब केपी ओली सरकार ढलेको छ, तपाईंहरु कमजोर बन्नु भयो नि होइन ?

सरकार परिवर्तनसँग हामीलाई सम्बन्ध हुँदैन । मेरो व्यवसाय टुरिजम व्यवसायमा सरकारको कुनै लगानी हुँदैन । सरकारको पैसामा गर्ने व्यवसाय यो होइन । सरकारले राम्रो नीति बनाइदियो भने पर्यटक आउँछन् । त्यो फाइदा हामीलेमात्र होइन सबैले पाउने हो ।

यति ग्रुपको तर्फबाट नेता र अन्य सबैतिर म्यानेज गर्ने तपाईको भाइ आङछिरिङको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यतिमाथि प्रहार शुरु भयो, यो संयोगमात्र हो जस्तो लाग्छ कि लाग्दैन ?

हामीले वाइडबडी ३२० जहाज ५० मिलियन डलरमा किन्यौं । त्यही जहाज नेपाल एयरलाइन्सले १०५ मिलियन डलरमा किन्यो । २८० जना बोक्ने एयरबस ३३० भनेर नेपाल एयरलाइन्सले किनेको जहाजले अहिले १८० जनामात्र बोक्छ । हामीसँग ४ वटा ठूला जहाज छन्, उनीहरुसँँग पनि त्यति नै छन् । हाम्रोमा ४०० कर्मचारी छन्, नेपाल एयरलाइन्समा १६०० जना कर्मचारी छन् । अब आफैं बुझ्नुस त्यो कम्पनी हामी जिम्मा लिन बौलाहा कुकुरले टोकेको छ ?

मेरो भाइ आङछिरिङ त कांग्रेसका नेताहरुसँगै हुन्थ्यो । उसको संगत नै त्यता थियो । मैले नै केपी ओली र माधव नेपालसँग भेटघाट मिलाएर सबैसँग राम्रो सम्बन्ध राख्न लगाएँ । मेरो भाइ बोल्नेमा पनि म भन्दा क्षमतावान, सबैसँग फरवार्ड थियो ।

केही वर्षदेखि म ब्याकमा बसेर भाइलाई अघि बढाएँ । अहिले आएर लाग्छ जुन ग्रुपले हाम्रो परिवारमाथि आक्रमण गरे उनीहरुको यसमा केही न केही योजना थियो होला ।

यसको भाइ मरिहाल्यो, अब यसको कोही पनि छैन । यहि मौकामा सिध्याइदिउँ र बाँडेर खाउँ भनेर लागेका हुन सक्छन् । तर हामी यस्ता प्रहारबाट अझ बलियो बनेका छौं ।

पछिल्लो समय हिमालय एयरलाइन्सबाट अन्तर्राष्ट्रिय उडान थालेपछि तपाईहरुमाथि अझ प्रहार हुँदैछ । नेपाल एयरलाइन्स यतिलाई दिन कम्पनी मोडलमा जान लागेको भन्ने कुरा पनि सुनिन्छ नि ?

पहिलो कुरा हाम्रो परिवारले अब नेपाल एयरलाइन्सले मात्र अन्तर्राष्ट्रिय उडान सक्दैन, पर्यटन उद्योगका लागि वैकल्पिक एयरलाइन्स आवश्यक छ भनेर सोच्यौं । किनभने हामी हाम्रै कम्पनीबाट आउने टुरिस्टबाट चलाउन सक्छौं ।

शुरुमा एयर अरेबियासँग मिलेर उनीहरुको जहाज लिएर फ्लाइ यति डट कम चलायौं । तर हामीलाई उनीहरुसँगको ब्यापारमा ठूलो घाटा लाग्यो । इन्डिगोसँग पहल गर्‍याैं तर सफल भएन ।

म तपाई र नेपाल प्रेसमार्फत नै आज घोषणा गर्छु, मलाई शेयर किन्ने त परै जावस सित्तैमा चलाउ भनेर दिए पनि नेपाल एयरलाइन्स चाहिँदैन । त्यसमा मैले इन्टरेस्ट राख्यो भनेर भन्दैछन् रे । मैले त घोषणा गरेर भनेँ, सित्तै दिए पनि चाहिँदैन ।

लास्टमा चाइनिजहरुसँग कुरा मिल्यो । हामीले हिमालय एयर चलायौं । अहिले हामीसँग ४ वटा एयरबस छन् । अरु दुईवटा छन् ।

अब नेपाल एयरलाइन्सको जहाँसम्म कुरा छ, उनीहरु र हाम्रो तुलना गरौं । हामीले एयरबस ३२० जहाज ५० मिलियन डलरमा किन्यौं । त्यही जहाज नेपाल एयरलाइन्सले १०५ मिलियन डलरमा किन्यो । २८० जना बोक्ने एयरबस ३३० भनेर नेपाल एयरलाइन्सले किनेको जहाजले अहिले १८० जनामात्र बोक्छ ।

हामीसँग ४ वटा ठूला जहाज छन्, उनीहरुसँँग पनि त्यति नै छन् । हाम्रोमा ४०० कर्मचारी छन्, नेपाल एयरलाइन्समा १६०० जना कर्मचारी छन् । अब आफैं बुझ्नुस त्यो कम्पनी हामी जिम्मा लिन बौलाहा कुकुरले टोकेको छ ?

तर नेपाल एयरलाइन्स कम्पनीमा लैजाने हुँदा तपाईंहरुले पनि भाग लिन त सक्नु हुन्छ नि ?

म तपाई र नेपाल प्रेसमार्फत नै आज घोषणा गर्छु, मलाई शेयर किन्ने त परै जावस सित्तैमा चलाउ भनेर दिए पनि नेपाल एयरलाइन्स चाहिँदैन । त्यसमा मैले इन्टरेस्ट राख्यो भनेर भन्दैछन् रे । मैले त घोषणा गरेर भनेँ, सित्तै दिए पनि चाहिँदैन ।

यहाँ त शेर्पाले कुनै ठाउँमा नियुक्ति पायो भने यतिकै मान्छे भनिहाल्छन् । हुँदा हुँदा नेपाल ट्रष्टमा नियुक्ति भइछन् एकजना यान्जोम शेर्पा । मेरै कान्छी बहिनी भनेर लेखे । उनी ताप्लेजुङको रहिछन्, हामी सोलुखुम्बुको । भनेपछि तपाई बुझ्नुस केसम्म गर्ने रहेछन् ।

यो जस्तो नाजुक कम्पनी विश्वमा कहिँ पनि हुन्न । ७० वर्षको इतिहास बोकेको नेपाल एयरलाइन्स र ४ वर्षमा हामीले बनाएको हिमालय एयरलाइन्सको तुलना गरौं । नेपाल एयरलाइन्स जतिको मैले बनाइसकेँ । सोनाम शेर्पा तिमी सित्तैमा चलाउ भनेर दिए पनि चाहिँदैन ।

यतिले नेपाल एयरलाइन्स लिने भयो भन्ने हल्ला गरेर इमोशनल ब्ल्याकमेल गर्न खोजेका होलान् ।

नेपाल एयरलाइन्सलाई कसरी सुधार्न सकिएला त ? तपाईको अनुभवले सुझाव चाहिँ दिनुस् न त ?

सुझाव माग्नेले मागे दिने हो । देशको ध्वजाबाहक भएको हुनाले यसलाई कम्पनी मोडलमा लगेर भने पनि जोगाउनु राम्रो हो । मैले त भनेको छ यसरी हुँदैन । शेष घले जस्तोलाई अध्यक्ष बनाइदिउँ ।  यसको शेयर २५ लाख गैरआवासीय नेपालीलाई बेचौं अनि बच्छ यो संस्था ।

नेपाल एयरलाइन्सको बोर्डमै यतिका मान्छे नियुक्त गरेको आरोप छ नि ?

यहाँ त शेर्पाले कुनै ठाउँमा नियुक्ति पायो भने यतिकै मान्छे भनिहाल्छन् । हुँदा हुँदा नेपाल ट्रष्टमा नियुक्ति भइछन् एकजना यान्जोम शेर्पा । मेरै कान्छी बहिनी भनेर लेखे । उनी ताप्लेजुङको रहिछन्, हामी सोलुखुम्बुको । भनेपछि तपाई बुझ्नुस केसम्म गर्ने रहेछन् ।

नेपाल एयरलाइन्सको बोर्डमा फुर्बा ग्याल्जेन शेर्पा र ईश्वरी पौडेल यतिका मान्छे नियुक्त गर्‍याे भने । जबकी उनीहरुसँग कुनै सम्बन्ध छैन । म त यस्ता सबै खाले कुप्रचार पचाउन सक्ने भइसकेको छु ।

अब अलि फरक प्रसंगको कुरा गरौं । नेपालको पर्यटन उद्योगको पायनियर मानिन्छ तपाईंहरुलाई । अब हामीलाई कोभिडपछिको अवस्था रिकभर गर्न कति समय लाग्ला ?

समय त तीन चार वर्ष अझै लाग्छ नै । विश्वभर नै तहसनहस भएको हो, विभिन्न देशले बिस्तारै चलायमान बनाउन थालेका छन् । अब हामीले पनि ढिला गर्न हुँदैन ।

हिजोको जस्तो अप्ठेरो अवस्था अहिले छैन । भ्याक्सिनको कारण पनि अब पर्यटन उद्योग चलायमान हुन्छ । हाम्रै सन्दर्भमा पनि पर्यटनको मुख्य क्षेत्र खुम्बुमा शत प्रतिशतले भ्याक्सिन लगाइसके ।

 

टुरिस्टले सोधिरहेका छन् हामीलाई । तर सरकारले निर्णय नगरेसम्म त अरु देशको नजरमा नेपाल रेड जोनमै रहन्छ । रेड जोनमा रहेको मुलुकमा भ्रमण गर्ने  पर्यटकको विमा कभरेज हुँदैन ।

मनाङ,मुस्ताङ र अन्नपूर्णमा पनि खोप लगाइसकेको अवस्था छ । पोखरा र काठमाडौंकै पनि पर्यटक छहलपल हुने क्षेत्रमा भ्याक्सिन एकसरो लाएको अवस्था छ ।

अब मुख्य कुरा सरकारले क्वारेन्टाइनको व्यवस्था तत्काल हटाउने हो भने हामीलाई पर्यटक बोलाउन सहज हुन्छ । तत्कालै क्वारेन्टाइन हटाउने निर्णय गर्दा पनि पर्यटक आउन तीन चार महिना लाग्छ । किनभने हाम्रो त आफ्नै प्रक्रिया हुन्छन् ।

हामीले हाम्रा क्लाइन्टहरुलाई सरकारको नीतिबारे जानकारी गराउनुपर्छ । उनीहरुले पनि नेपाल आउनका लागि विभिन्न तयारी गर्नुपर्छ । त्यसैले क्वारेन्टाइन हटाएको सन्देश दिन ढिला नगरौं भन्ने मेरो आग्रह छ ।

सरकार पर्यटन उद्योग चलायमान बनाउन सहयोगी भएन भन्ने हो ?

सरकारले किन चासो नराखेको हो ? मलाई अचम्म लागिरहेको छ । क्वारेन्टाइनमा बस्का लागि कुनै विदेशी नेपाल आउँदैन । हामीलाई उसै पनि पर्यटन उद्योगलाई रिभाइभ गर्न ३ वर्ष भन्दा बढी लाग्छ ।

सिंगल भ्याक्सिन लगाइसकेको मान्छेलाई अब क्वारेन्टाइन पर्दैन । एयरपोर्टमै तत्काल रिपोर्ट दिने गरी पीसीआर राख्ने,एन्टीजेन परीक्षण गर्न सकिन्छ । सरकारले सक्दैन भने प्राइभेट सेक्टरबाट नर्सहरु राखेर ६-७ वटा काउन्टरमा परीक्षण गर्ने र पर्यटकलाई झन्झटिलो नहुने गरी तत्काल रिपोर्ट दिन सकिन्छ । निजी क्षेत्रबाटै सहयोग लिन सकिन्छ ।

तपाईंहरु त सबैभन्दा धेरै पर्यटक भित्र्याउनेमा पर्नुहुन्छ, अहिले पर्यटकले नेपाल आउने प्रक्रियाको बारेमा कत्तिको चासो राखेका छन् ?

टुरिस्टले सोधिरहेका छन् हामीलाई । तर सरकारले निर्णय नगरेसम्म त अरु देशको नजरमा नेपाल रेड जोनमै रहन्छ । रेड जोनमा रहेको मुलुकमा भ्रमण गर्ने  पर्यटकको विमा कभरेज हुँदैन ।

विमा कभरेज नभएपछि कोही पनि रिस्क मोलेर नेपाल आउँदैन । फाट्ट फुट्ट व्यक्तिगत रुपमा आउनेहरु आउछन् । तर हाम्रो पर्यटनको मुल आधार भनेको ट्रेकिङ र पर्वतारोहण नै हो । उनीहरु त यस्तो अवस्था रहेसम्म आउँदैनन् ।

देशलाई राजश्व आउने,रोजगारी दिने र गाउँ गाउँसम्मकै मान्छेलाई राहत दिने भनेको ट्रेकिङ नै हो । सरकारले क्वारेन्टाइनमात्र हटाउँदा पनि हामी पर्यटक ल्याउन सक्छौं ।

अरु देशको पर्यटन उद्योग पूरै खुलिसकेको हो र ?

युरोप लगायत धेरै देशमा खुलिसक्यो । आ आफ्ना प्रोटोकल अनुसार पर्यटकलाई सहजीकरण भइरहेको छ । नेपाल जस्तो पर्यटनमै धेरै सम्भावना भएको देशले त आफैंले चासो लिनुपर्ने हो ।

सरकारले आफैं पहल गर्नुपर्नेमा,हामी जस्ता व्यवसायीका कुरा पनि सुन्दैन । यहि उद्योगमा जीवन बिताएका हामीजस्ता व्यक्तिहरुको अनुभव शेयर गर्ने ठाउँ पनि छैन ।

यदि सरकार अलिकति पनि पर्यटन उद्योगप्रति गम्भीर बन्ने हो भने संसारमै नेपालसँग टुरिजममा अरुले प्रतिस्पर्धा गर्न सक्दैनन् । हाम्रो हिमाल, हाम्रा ल्याण्डस्केप, हाम्रा सम्पदा संसारमा कहाँ छन् ?

८ हजार माथिका हिमाल यहिँ छन् । ७ हजारभन्दा माथिका त कति छन् कति ? सररकारले नै मापन गर्न सकेको छैन । यस्तो सम्भावना भएको देशले आज ५ लाख जनसंख्या भएको भुटानमा जति पनि पर्यटक ल्याउन सकेको छैन ।

फेरि पर्यटन उद्योग यस्तो हो कि यसमा सरकारको कुनै योगदान नै हुन्न भन्दा पनि हुन्छ । नीति राम्रो बनाइदिए राज्यलाई दिनेमात्र हो यसले ।

कतिपय साना उद्यमीहरु त पलायन नै भइसकेका छन्, थामसेर्कु जस्ता पर्यटन उद्योगको अवस्था अहिले कस्तो छ ?

अब व्यवसाय त तहसनहस नै भइहाल्यो । हामीले अर्बौ क्षति व्यहोरिसकेका छौं । थामसेर्कु २ वर्षदेखि जिरो बिजनेशमा छ । अब यस्तै अवस्था एक वर्षभन्दा बढी रह्यो भने धान्न सम्भव छैन ।

हामीले आधा स्टाफलाई घरमा राखेर आधाबाट काम गराउने र फेरि आलोपालो गराइरहेका छौं ।

प्रतिक्रिया

12 thoughts on “यति समूहका अध्यक्षको पहिलो अन्तर्वार्ता- हाम्रो परिवारलाई ‘भिक्टिम’ बनाइयो, अब मुख खोल्छु

  1. इमानदारिता र मेहनत ले गर्दा सोनाम सर लाइ सफलताले चुमेको हो। उहाँ र परिवार को ठूलो देन छ नेपाल को पर्यटन विकास हुनुमा। धन्यवाद सोनाम सर 🙏

  2. Sherpa pariwarle nepalko tourism xetrama garnubhako yogdaan auta aitihasikxa,jun sarkharle garna nasakne yesto jatil bhaugolik Nepalko banawatmathi Pani sahasj rupma tourist harulai manoranjan dilauna saknu yo chanchune bikas thiena,sabai ma solute Mero tarfabata sathai 23rd years pugekoma yeti airlines Lai badhai sathai hajjarau barsa samma chalirahos sampurna yeti group Lai shubhakamana🙏

  3. धेरै धेरै धन्यवाद मातृका सर सत्यतथ्य खोजी गर्नु भएकोमा थोरै भए नि शेर्पा परिवार प्रति को नकारात्मक भवनमा कम हुनेछ नेपाली जनताको र अधार हिन नेपाली मिडिया को नाङ्गो रुप पनि नेपाल जनता बाट लुकेको छैन तपाईंको पत्रकारिता र सोनाम शेर्पा जी को मेहनत दुबै लाई सलम 🙏🙏जय नेपाल

  4. तपाईंहरू कुनै स्वार्थ समूहलाई बोकेर कति गलत समाचारको खेती गर्दै हुनुहुन्छ भन्ने यहि सटलाई आधार बनाउनुहुन्छ भन्ने प्रश्न गर्न मन लाग्यो । नेपाल एयरलाइन्सको एयरवस ३३० ले कति यात्रु बोकिरहेको छ भन्ने रूजु गर्न नेपाल नागरिक उड्डययन प्राधिकरणबाट तथ्यांक लिन सक्नुहुन्छ । कसैको स्वार्थ पूरा गर्ने मिसनमा लाग्दा आफ्नो विश्वसनीयता नगुमाउनुहोला Matrika Poudel सर । नेपाल एयरलाइन्सको एयरवस ३३० ले यात्रुहरू पूर्णक्षमतामा बोकिरहेकाछन् आजकल । कूल सिट सङ्ख्या २७४ हो । अनि दोहा, दुवई आजकल उडेका यात्रुहरूको विवरण नियमनकारी निकायबाट लिन सक्नुहुनेछ । जब पत्रकारिताले पक्ष र विपक्षको आँखा खोल्ने र चिम्लिने आदत बस्छ तब पाठकहरू निष्पक्ष सूचना पाउने हकबाट बञ्चित भइरहनेछन् । जुन पत्रकारिताको धर्म विपरीत हुने देख्छु म । अनि कर्मचारी सङ्ख्याको कुरा गर्नुभएको छ त्यो विवरण घुसाउँदा नेपाल एयरलाइन्सले आफ्नो उडान मात्रसञ्चालन गर्दैन । त्रि.अ.वि.बाट हुने प्रायसबै अन्तर्राष्ट्रिय उडानहरूको ग्राउन्ड ह्यान्डलिङ् सेवा गरिरहेकोले ठूलो मानवस्रोतको खपत भइरहेको छ ।

  5. Extremely proud of Sonam Sir and team,You are the real golden pillar of nepali tourism industry big and grant salutes.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर