क्रिकेट टक: ओमानमा आशा र निराशा – Nepal Press

क्रिकेट टक: ओमानमा आशा र निराशा

काठमाडौं । नेपाली क्रिकेट टोलीले हालै गरेको ओमान भ्रमण ४ जित र २ हारसहित समग्रतामा सुखद रह्यो । करिब १५ महिनाको अन्तरालपछि एकदिवशीय क्रिकेटमा फर्किँदा नेपालको खेलस्तरमा सुधारका संकेतहरु देखिएका छन् । यद्यपि, ‘लुपहोल’हरुको पनि कमी छैन ।

यस भ्रमणका क्रममा नेपालले पपुवा न्यूगिनी, अमेरिका र ओमानविरुद्ध समान २-२ खेल खेल्यो । अमेरिका र ओमानविरुद्धको त्रिदेशीय प्रतियोगिता आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत थियो भने पपुवा न्यूगिनीविरुद्धको खेल त्यसको तयारीस्वरुप खेलाइएको थियो । यो भ्रमणबाट नेपाली टिमले आफ्नो स्तर पनि जाँच्ने मौका पाएको छ ।

नेपालले ओमानविरुद्ध अन्तिम म्याचमा शानदार जित हासिल गर्दै ‘ह्याप्पी इन्डिङ’ गर्‍याे । यो जित धेरै अर्थमा नेपालका लागि माइलस्टोन थियो । एकदिवशीयमा यसअघि नेपालले ओमानलाई पराजित गर्न सकेको थिएन ।

अमेरिकाविरुद्धको हारलाई भ्रमणको ‘लो प्वाइन्ट’ मान्न सकिन्छ । कमजोर ब्याटिङका कारण नेपालले आफूभन्दा कमजोर अमेरिकासँग ६ विकेटको लज्जास्पद हार स्वीकार्न वाध्य भयो ।

यस प्रतियोगितपछि नेपाल विश्वकप क्रिकेट लिग २ को अंकतालिकामा चौथो स्थानमा उक्लेको छ । नेपालले लिग २ मा धेरै खेल खेल्न बाँकी रहेको हुँदा अझै माथि उक्लिने आशा राख्न सकिन्छ । तर, नेपालले आफ्ना केही कमजोरीमा ध्यान दिनुपर्ने हुन्छ ।

यस आलेखमा चाहिँ ओमान भ्रमणमा प्रभाव पारेका र निराश बनाएका केही खेलाडीहरुको चर्चा गरिएको छः।

ओपनिङ जाडी भेटियो !

लामो समयदेखि नेपाली क्रिकेटको ‘सरदर्द’ बनेको विषय हो ओपनिङ जोडीको संकट । अनगिन्ति खेलाडीहरुलाई ट्राइ गर्दा पनि भरपर्दो जोडी भेटिएको थिएन ।

यस प्रतियोगितामा नेपालले कप्तान ज्ञानेन्द्र मल्ललाई तेस्रो स्थानमा झारेर दुई युवा ब्याट्सम्यानलाई ओपनिङमा उतार्यो । प्रशिक्षक डेव ह्वाटमोरले गरेको यो परीक्षणलाई २४ वर्षीय कुशल भुर्तेल र २० वर्षीय आसिफ शेखले सफल बनाएका छन् ।

यसअघि गत वैशाखमा नेपालमै भएको त्रिदेशीय टी–२० सिरजमा पहिलोपटक यो जोडीलाई ह्वाटमोरले ओपनिङमा उतारेका थिए र सुखद नतिजा हात पारेको थियो । त्यसैका आधारमा ओडीआइमा पनि प्रशिक्षकले उनीहरुलाई निरन्तरता दिएका हुन् । उनीहरु दुवैले आशालाग्दो प्रदर्शन गरेका छन् ।

कुशल र आसिफ दुवैले ओपनिङ ब्याट्सम्यानबाट अपेक्षा गरिने खेल देखाए दिए । दुवै एक–एक म्याचमा शतकको नजिक पुगेका थिए । बलको मेरिटअनुसार खेल्ने र चाहिएको बेला रिस्क मोल्ने उनीहरुको ब्याटिङ उस्तै शैलीको थियो ।

दुई ओपनरको प्रदर्शन तुलना गर्दा कशुलभन्दा आसिफको आँकडा राम्रो छ । कुशलले ६ म्याचमा १४४ रन बनाउँदा आसिफले १८९ रन बनाएका छन् । यस भ्रमणमा नेपालका लागि सबैभन्दा बढी रन बटुल्ने ब्याट्सम्यान पनि हुन् आसिफ ।

यसअघि घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आए पनि आसिफ र कुशलले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गर्न सकिरहेका थिएनन् । अब भने नेपालको ओपनिङ जोडीका रुपमा उनीहरुलाई लामो समय हेर्न पाइने आशा लिइएको छ ।

सन्दीपको सनसनी

तस्बिर: एनएसजेएफ

नेपालको ओमान भ्रमणको नतिजा अर्कै हुनसक्थ्यो यदि सन्दीप लामिछाने टिममा थिएनन् भने । केही वर्षदेखि अन्तर्राष्ट्रिय टि–२० लिगमा छाइरहेका २१ वर्षीय स्टार स्पिनरले राष्ट्रिय टिमबाट फेरि एकपटक अविस्मरणीय योगदान दिएका छन् ।

ओमान भ्रमणमा नेपाली टिमको प्रदर्शन धेरै हदसम्म सन्दीपको बलिङमा अडेको थियो । उनी विपक्षी टिमहरुमाथि पूर्णरुपमा हावी भए । ब्याट्सम्यानहरु जति सचेत भएर खेल्दा पनि सन्दीपको ‘चक्रवात’ बाट जोगिन सकेनन् ।

५ इनिङ, १३३ रन, १८ विकेट । सन्दिपको यो आँकडा नै सबै बताउँछ । कुनै पनि स्तरको बलरका लागि यो स्वप्निल आँकडा हो । अझ महत्वपूर्ण, उनले नेपाललाई चाहिएको समयमा विकेटहरु निकालेका थिए । विपक्षी टिमका प्रमुख ब्याट्सम्यानहरुलाई आफ्नो शिकार बनाएका थिए ।

ओमानविरुद्धको एउटा म्याचमा स्वास्थ्य समस्याका कारण सन्दीपले बलिङ गर्न सकेनन् । उक्त म्याच नेपालले हार्‍याे । पहिलो ब्याटिङ गरेको नेपालले १९६ कमजोर योगफल तयार पारेको थियो, जसलाई रक्षा गर्न सन्दिपबिनाको नेपाल समर्थ भएन । यदि सन्दीपले बलिङ गर्न पाएको भए नतिजामा फरक पार्थे कि भन्ने चुकचुकी रहिरह्यो ।

नेपालले ६ खेलमा विपक्षी टिमका ४४ विकेट लिएको थियो, जसमध्ये १८ विकेट सन्दीपको नाममा रह्यो । यस भ्रमणअघि अन्तिम खेल नेपालले सन् २०१९ मा अमेरिकाविरुद्ध खेलेको थियो । त्यसमा सन्दीपले सनसनी बलिङ गर्दै ६ विकेट लिएका थिए । सन्दीपले जहाँ छोडेका थिए, त्यहीबाट थाले ।

आइसीसीले निकालेको पछिल्लो वरियताक्रममा सन्दीप लामिछाने शीर्ष १०० मा अटाएका छन् । ओडीआई वरीयतामा नेपाली खेलाडीले प्रवेश पाएको यो पहिलोपटक हो । आफूलाई अन्तर्राष्ट्रिय लिगहरुमा किन खोजी गरिन्छ भन्ने प्रश्नको जवाफ सन्दिपले दिएका छन् ।

कप्तानले भेट्टाए लय

पारस खड्काको सन्न्याससँगै नेपाली क्रिकेटको भार ज्ञानेन्द्र मल्लको काँधमा सरेको छ । हुन त दुई वर्षअघि नै उनी राष्ट्रिय टिमको कप्तान नियुक्त भएका हुन् । तर, पारस टिममा छँदासम्म उनलाई दवाव कम थियो ।

ओमान भ्रमणका क्रममा ज्ञानेन्द्रले आफ्नो लय भेट्टाएका छन्, जुन नेपालका लागि सुखद खबर हो । ज्ञानेन्द्रले आफूलाई ओपनिङबाट तेस्रोमा झार्नु सही रणनीति सावित भयो ।

प्रतियोगितामा ज्ञानेन्द्रले ठूलो स्कोर त बनाउन सकेनन्, तर धेरै उपयोगी पार्टनरसीपहरु गरे । अन्तिम दुई म्याचमा उनले लगातार अर्धसतक प्रहार गर्दै आलोचकहरुको मुखमा बुजो लगाइदिएका छन् ।

ज्ञानेन्द्रले आफ्नो उत्कृष्टता चाहिँ ओमानविरुद्धको अन्तिम म्याचका लागि साँचेका थिए । ओमानलाई नेपाली बलरहरुले १२१ रनमै अलआउट पारेपछि सानो लक्ष्य पछ्याउने क्रममा ज्ञानेन्द्रले बिन्दास आक्रामक गरे, जुन अमेरिकाविरुद्धको अर्धसतकमा खट्किएको थियो ।

आइतबारको जितपछि पत्रकारलाई प्रतिक्रिया दिने क्रममा मल्लले नेपाली क्रिकेट समर्थकप्रति गुनासो पोखेका छन् । टिमले खराब प्रदर्शन गर्दा आफूलाई व्यक्तिगतरुपमा आक्रमण गर्ने गरिएको र यसले परिवारलाई समेत असर गरेको उनले बताएका छन् । तर, एउटा खेलाडीको जीवनमा ताली र गाली दुवै अपरिहार्य चिज हुन् । उनी भविष्यमा अभ्यस्त हुँदै जालान् ।

सोमपालबाट निराशा

लामो समयदेखि नेपाली टिमका प्रमुख स्ट्राइक बलरका रुपमा रहेका छन् सोमपाल कामी । तर उनको प्रदर्शनले भने सो भूमिकालाई न्याय गर्न सकिरहेको छैन । ओमानमा त उनी पूर्णरुपमा फ्लप भए ।

सोमपालले ६ म्याचमा जम्माजम्मी दुई विकेट लिएका थिए । टिमका प्रमुख बलरबाट यस्तो प्रदर्शनको आशा गरिँदैन । पछिल्ला ४ म्याचमा उनी लगातार विकेटविहीन रहेका छन् । यो अत्यन्तै खराब रेकर्ड हो ।

त्यसो त विगतका खेलहरु हेर्ने हो भने पनि आक्कलझुक्कलबाहेक सोमपालको प्रदर्शन फितलो नै छ । ब्याटिङको समेत क्षमताले गर्दा उनलाई टिममा टिकाइरहेको छ । साथै, उनीभन्दा गतिला बलर पनि नेपालले भेटेको छैन ।

समग्रमा नेपालको फास्ट बलिङ नै अहिले कमजोर छ । करण केसीले अन्तिम म्याचमा गरेको प्रदर्शन बिर्सने हो भने बाँकी ५ म्याचमा फास्ट बलरहरुले खासै प्रभाव बनाउन सकेनन् । विक्रम सोबले सुरुवाती म्याचहरुमा राम्रो संकेत देखाए पनि पछि खस्किएर प्लेइङ ११ मा स्थान नै गुमाए ।

करणको प्रदर्शन पनि हट एन्ड कोल्ड नै रह्यो । ओमानविरुद्ध ४ विकेट लिँदै म्यान अफ द म्याच भएका उनले त्यसअघि ४ म्यानमा ४ विकेट मात्र लिएका थिए ।

ओमानको पिच स्पिनरभन्दा फास्ट बलरका लागि बढी प्रभावकारी हुने मानिएको थियो । तर, त्यसको सदु्पयोग फास्ट बलरहरुले गर्न नसक्दा नेपाल स्पिन बलिङमा नै निर्भर रहनुपर्यो ।

कुशलको दयनीय फर्म

नेपाली क्रिकेटमा पछिल्लो समय उदाएका आशालाग्दा ब्याट्सम्यानमध्येका एक हुन् कुशल मल्ल । आक्रामक ब्याटिङका लागि चिनिने कुशलले कम उमेरमा अर्धसतकको विश्व किर्तिमानसमेत बनाएका थिए । तर, अहिले उनको खराब समय चलिरहेको छ ।

नेपाली टिमको ओमान भ्रमणमा कुशलको प्रदर्शन सम्झिनलायक भएन । ५ वटा म्याचमा अवसर पाएका उनले जम्माजम्मी ७ रन बटुलेका थिए । उनको सबैभन्दा ठूलो स्कोर थियो- ४ रन ।

कुशलबाट नेपालले यस भ्रमणमा निकै आशा गरेको थियो । प्रशिक्षक डेभ ह्वाटमोरले शरद भेषावकर र आरिफ सेखजस्ता अनुभवी ब्याट्सम्यानलाई बाहिर राखेर कुशलमाथि भरोसा देखाएका थिए । तर, उनी आफ्नो भूमिकामा खरो उत्रिन सकेनन् । न उनी विकेटमा टिक्न सके, न रन बटुल्न । कुशलको आत्मविश्वास पूर्णरुपमा डग्मगाएको देखियो ।

लगातार असफल हुँदा पनि सम्भवतः कुशलको बलिङलाई हेरेर प्रशिक्षकले उनलाई धेरै मौका दिए । तर, अब आगामी खेलहरुमा उनले टिमबाट स्थान गुमाउन सक्ने खतरा छ ।

हरेक खेलाडीको खेलजीवनमा खराब समयहरु आउँछन् नै । कुशल पनि त्यही समयबाट गुज्रिरहेका छन् । उनलाई आफ्नो फर्म फर्काउनका निम्ति एउटा लामो इनिङको आवश्यकता छ ।

रोहितः मध्यक्रमका आशा

पारस खड्काको सन्न्याससँगै नेपाली ब्याटिङ लाइनमा ठूलो खाडल पैदा भएको छ । लामो समयदेखि पारस नेपाली ब्याटिङको खम्बाको रुपमा रहेका थिए । उनको अनुपस्थितिमा सिर्जना भएको रिक्तता पूर्ति गर्न युवा ब्याट्सम्यान रोहित पौडेलले केही आशा देखाएका छन् ।

पारसको सन्न्यास र दिपेन्द्रसिंह ऐरीको चोटका कारण रोहितले राष्ट्रिय टिममा पुनरागमन गरेका थिए । उनले आफ्नो पुनरागमनलाई सफल बनाएका छन् । लगातार दुई अर्धसतकसहित तीन म्याचमा उनले अविस्मरणीय प्रदर्शन गरे । अमरिकाविरुद्ध बनाएको ६२ रनलाई उनको करिअरकै उत्कृष्ट मान्न सकिन्छ ।

उमेरले कच्चा भए पनि रोहितसँग विकेटमा टिकेर खेल्ने धैर्यता छ । अनि, आवश्यक पर्दा ठूला सट हान्ने खुबी र साहस पनि । उनलाई चाहिएको छ, बढिभन्दा बढी अनुभव ।

रोहितको प्रदर्शनले नेपालको मध्यक्रम बलियो बन्न सक्ने आधार निर्माण भएको छ । दिपेन्द्रसिंह ऐरी टिममा फर्केपछि उनीसँग रोहितको पार्टनरसिप जम्न सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *