कस्तो बन्ला देउवाको प्यानल ? उपसभापतिमा आकर्षण कम, महामन्त्रीमा हानाथाप – Nepal Press

कस्तो बन्ला देउवाको प्यानल ? उपसभापतिमा आकर्षण कम, महामन्त्रीमा हानाथाप

काठमाडौं । महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसभित्र नेतृत्वका आकांक्षीहरुले उम्मेदवारी घोषणा गर्ने क्रमले गति लिइरहेको छ । खासगरी सभापति र महामन्त्रीका दावेदारहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् ।

उपसभापति विमलेन्द्र निधिले गत भदौ ११ गते महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने औपचारिक घोषणा गरे । पूर्व उपसभापति गोपालमान श्रेष्ठले पनि मिडियामार्फत आफू सभापतिको प्रत्याशी बन्ने बताउँदै आएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भदौ २४ मा महामन्त्री पदको उम्मेखदवारी घोषणा गरे । त्यसअघि केन्द्रीय सदस्य गगन थापाले पनि महामन्त्रीको उम्मेदवार हुने घोषणा गरिसकेका थिए । कांग्रेसका अन्य नेताहरुले पनि अनौपचारिक रुपमा आ-उम्मेदवारीबारे बोल्ने क्रम सुरु भएको छ भने कतिपय नेताहरु अझै उपयुक्त समयको पखाईमा छन् ।

कांग्रेसको आसन्न महाधिवेशनमा बहुपक्षीय प्रतिस्पर्धाको सम्भावना बढ्दै गएको छ । सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहबाट उपसभापति निधि पनि प्रतिस्पर्धामा उत्रने निश्चित देखिन्छ । वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको संस्थापनइतर समूहमा पनि महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइरालाले बलियो दावेदारी प्रस्तुत गरिरहेका छन् ।

संस्थापनइतर समूहमा सभापति र पदाधिकारीका आकांक्षी संख्या धेरै देखिन्छ । उनीहरुमध्ये अधिकांशले उम्मेदवारी सार्वजनिक घोषणा पनि गर्दै आएका छन् । यद्यपि देउवा नेतृत्वको संस्थापन समूहका नेताहरु भने सार्वजनिक रुपमा आफ्नो उम्मेदवारीबारे खुलेका छैन । प्रवक्ता शर्माबाहेक अहिलेसम्म देउवा समूहका नेताहरुले आफ्नो आकांक्षा सार्वजनिक रुपमा खुलाएका छैनन् ।

महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धा हुने भएकोले देउवा नेतृत्वको प्यानलमा को-को पदाधिकारी रहलान् भन्ने चासो बढ्दो छ । आफ्नो प्यानल बनाउने विषयमा देउवाले छलफल थालिसकेका छैनन् तर देउवानिकट नेताहरुबीच प्यानलमा पर्ने प्रतिस्पर्धा आन्तरिक रुपमै चर्किदो छ ।

उपसभापतिमा आकर्षण कम

सभापति देउवाले विमलेन्द्र निधि र विजयकुमार गच्छदार दुवैलाई वर्तमान कार्यसमितिको उपसभापतिमा मनोनित गरेका हुन् । १४ औं महाधिवेशनमा दुवै उपसभापति निर्वाचित हुनुपर्नेछ ।

निधिले सभापतिमै लड्ने तयारी गरेका छन् भने गच्छदार आफ्नो उम्मेदवारीबारे खुलेका छैनन् । देउवाका मनोनित महामन्त्री पूर्णबहादुर खड्कालाई उनको प्यानलको उपसभापतिको बलियो दावेदार मानिएको छ । खड्काले भने महाधिवेशनबारे क्षेत्रीय अधिवेशनपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताउँदै आएका छन् ।

पूर्व उपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमै प्रतिस्पर्धा गर्ने बताइरहेका छन् । यद्यपि देउवाको टिममा उनी पनि उपसभापतिको दावेदार हुनसक्ने आँकलन गरिन्छ । महामन्त्रीमा दावी गरिरहेका ज्ञानेन्द्रबहादुर कार्की पनि टिम मिलाउन पर्ने अवस्थामा उपसभापतिको उम्मेदवार बन्न सक्छन् । कानूनमन्त्रीको समेत भूमिका रहेका कार्की देउवाको सहजता अनुसार ‘सेट’ हुने बताइन्छ ।

हालसम्म उपसभापति पदकै लागि देउवा समूहका नेताहरुले आकांक्षा व्यक्त गरिसकेका छैनन् । अधिकांश नेताहरुको ध्यान सकभर महामन्त्री नै बन्नेमा रहेकोले उपसभापतिका लागि उत्साह नदेखाएका हुन् ।

महामन्त्रीमा हानाथाप

सभापतिमा दोहोरिन चाहेका देउवाका लागि आफ्नो महामन्त्रीको उम्मेदवार छान्न सबैभन्दा सकस हुने देखिन्छ । देउवा टिममा दशकौ सक्रियदेखि नवप्रवेशीसम्मले महामन्त्रीमा दावी गरिरहेका छन् ।

सह-महामन्त्री डा. प्रकाशशरण महत र सरकारका गृहमन्त्री बालकृष्ण खाँडको दावी महामन्त्रीमा छ । देउवाका विश्वासपात्र एवं सुदुरपश्चिमका नेता एनपी साउद पनि महामन्त्रीका दावेदार हुन् । खाँड गृहमन्त्रीको भूमिकामा रहेकोले महामन्त्रीमा ‘विकल्प खोज्न’ देउवालाई दवाव छ । त्यस्तो अवस्थामा साउद देउवाको महामन्त्री हुनसक्छन् । यद्यपि सुदुरपश्चिमकै रमेश लेखकको पनि दावी महामन्त्रीमा छ ।

राप्रपाबाट कांग्रेसमा आएका सहमहामन्त्री सुनीलबहादुर थापा पनि महामन्त्रीका आकांक्षी हुन् । देउवा टिमबाट महामन्त्रीमा ‘सेट’ हुन थापाको प्रयास जारी छ । प्रवक्ता विश्वप्रकाश शर्मा पनि देउवा टिमकै महामन्त्री उम्मेदवार हुन् । यद्यपि एक्लै उम्मेदवारी घोषणा गरेको र उपसभापति निधिसँग जोडिएका कारण शर्मालाई सहज भने हुने छैन ।

सभापति देउवानिकट नेताहरु महाधिवेशनको संघारमै पुगेर मात्रै प्यानलबारे तय हुने बताउँछन् । समूहका नेताहरुले आ-आफ्नो तयारी गरेपनि प्यानल निर्माणमा देउवाको ‘ईन्ट्रेस्ट’ नै निर्णायक हुने उनीहरुको भनाई छ । ‘शेरबहादुर दाई पहिलोपटक सभापति लड्न लाग्नुभएको होइन । दशौं महाधिवेशनदेखि नै सभापति लडेकोले कस्तो टिम बनाउने उहाँलाई थाहा छ । अहिले नै देउवाको प्यानलबारे धारणा बनाउन हतार हुन्छ’, देउवा निकट एक नेताले भने । देउवाले आफ्नो टिमका केही नेता र संस्थापन इतरसमूह छाडेर आउनसक्ने नेताहरु मिलाएर प्यानल बनाउने ती नेताको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर