खोपको पूर्ण मात्रा लगाएकालाई नोभेम्बरदेखि अमेरिकाले प्रवेश अनुमति दिने – Nepal Press

खोपको पूर्ण मात्रा लगाएकालाई नोभेम्बरदेखि अमेरिकाले प्रवेश अनुमति दिने

काठमाडौं । अमेरिकाले नोभेम्बरदेखि कोभिड-१९ विरुद्धको खोप लगाएका ३३ मुलुकका नागरिकलाई प्रवेश अनुमति दिने भएको छ । रोयटर्सका अनुसार यो सूचीमा चीन, भारत, ब्राजिलसहित युरोपेली मुलुक रहेको ह्वाइट हाउसले जनाएको छ ।

अमेरिकामा पछिल्लो समय भाइरस संक्रमण वृद्धि भएकाले आवागमनलाई खुकुलो नतुल्याउने बाइडेन प्रशासनको भनाइहरु आइरहँदा ह्वाइट हाउसका कोरोनाभाइरस मामिला हेर्ने संयोजक जेफ जायन्ट्सले यस्तो घोषणा गरेका हुन् ।

यो निर्णयलाई अमेरिकी साझेदार मुलुकहरुले स्वागतयोग्य भएको बताएका छन् । अमेरिकी प्रतिबन्धले अमेरिकासँग व्यापार सम्बन्ध भएका हजारौं विदेश नागरिकलाई अवरोध गरिरहेको थियो । खोपको पूर्ण मात्रा लगाएका युरोपको २६ वटा सेन्जेन मुलुकसहित बेलायत, आयरल्यान्ड, चीन, दक्षिण अफ्रिका, इरान र ब्राजिल लगायतका मुलुक छन् । जनवरी २०२० मा पहिलोपटक चीनबाट जाने यात्रुलाई अमेरिकाले रोक लगाएको थियो ।

संयोजक जायन्ट्सले यो नियम लागू हुने यकिन मिति त खुलाएनन् तर, उनले नोभेम्बर महीनाको सुरुआतमा हुने उल्लेख गरे । यसैबीच, अमेरिकाले अक्टोबर २१ देखि लागू हुने गरी क्यानडा र मेक्सिको सीमावर्ती ठाउँमा अनावश्यक हिँड्डुलमा रोक लगाउने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर