ओलम्पिक गुमाएका गोपीलाई बर्लिन म्याराथनको सान्त्वना (भिडियो) – Nepal Press

ओलम्पिक गुमाएका गोपीलाई बर्लिन म्याराथनको सान्त्वना (भिडियो)

बैकुण्ठ मानन्धरको कीर्तिमान बर्लिनमा तोड्ने लक्ष्यमा गोपीचन्द्र

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पाएको सफलता र ओलम्पिक खेल्न नपाउँदाको चोटले चर्चित बनेका नेपाली धावक गोपीचन्द्र पार्की बर्लिन म्याराथनमा सहभागी हुँदैछन् ।

सन् २०१९ मा नेपालमै आयोजना भएको १३औं सागमा नेपाललाई स्वर्ण दिलाएयता राष्ट्रिय प्रतियोगितामा वर्चश्व जमाएका गोपीले यसै वर्ष जापानमा भएको टोकियो ओलम्पिकमा सहभागिता हुने निश्चित थियो । त्यसका लागि उनले तयारी पनि गरेका थिए । तर, प्राविधिक पक्ष नमिलेपछि गोपीकै शब्दमा ‘एउटा खेलाडीको सबैभन्दा ठूलो- ओलम्पिक खेल्ने सपना’ टुटेको थियो ।

प्रत्येक खेलाडीका लागि सबैभन्दा तीव्र चाहना भनेको ओलम्पिक खेल्ने हुन्छ । त्यो पूरा हुन सकेन । कारण जे भए पनि, कारक जो भए पनि महिनौको मेहनत पानीमा मिल्दा पीडा गोपीलाई नै भएको थियो । अनि, चोट पनि उनलाई नै लागेको थियो । तर, ओलम्पिक गुमाउनु पर्दाको चोटलाई बर्लिन म्याराथनको अवसरले अलिकति मलम पक्कै लगाउने आशा लिएका छन् ।

‘ओलम्पिकको कुनै अन्य प्रतियोगितासँग तुलना नै हुँदैन,’ त्यो पीडादायी क्षण सम्झिँदै गोपी भन्छन्, ‘तर, त्यो (ओलम्पिक गुमाउँदाको) चोटमा मलम पक्कै लाग्ने छ ।’

‘३४ वर्षदेखि पुरानो वैकुण्ठ मानन्धरको नाममा एउटा राष्ट्रिय कीर्तिमान छ,’ नयाँ चुनौतीमा अवसर देखेका गोपी आफ्नो बोलीमा ऊर्जा थप्दै भन्छन्, ‘बर्लिन म्याराथन भनेको त्यो तोड्नका लागि एकदम उपयुक्त (प्रतियोगिता) हो । त्यसका लागि म निरन्तर लागिरहेको छु । यदि म त्यहाँ गएर राष्ट्रिय कीर्तिमान पनि बनाउन सफल भएँ भने एउटा उपलब्धी हुन्छ…, घाउमा मलम हुन्छ ।’

उनको तयारी चाहिँ कस्तो चलिरहेको छ त ?

‘सत्य कुरा भन्छु’ भन्दै गोपीले सुनाए, ‘कुनै पनि खेलाडीले सधैँ ‘टप ट्रेनिङ’ गर्दैन । बिचमा एउटा लेभल हुन्छ । ओलम्पिक स्थगित भइसकेपछि राष्ट्रिय खेलहरूलाई लक्षित गरेर तयारी गर्‍यौं, । त्यसैले बीचमा ट्रेनिङ अलिकति डाउन भयो । तीन हप्ता अगाडि मात्र बर्लिन म्याराथनको कन्फरमेसन लेटर आयो । त्यस कारणले म अहिले ट्रेनिङ ‘हार्ड’ गरिरहेको छु ।’

बर्लिन म्याराथनलाई राम्रो प्रदर्शन गरेर देखाउने अवसरको रूपमा आफूले लिएको गोपी बताउँछन् । अवसर जुटाइदिने प्रशिक्षक, राखेप लगायत सबै निकायलाई उनले धन्यवाद दिए ।

‘ओलम्पिक खेल्न नपाएको क्षणलाई अन्य कुरासँग तुलना गर्न मिल्दैन । त्यो एकदमै पीडादायक छ । अब त्यो कुरालाई बिर्सेर आगामी २०२४ ओलम्पिकको लागि हामी तयारीमा छौं,’ तीन वर्षपछि फ्रान्समा आयोजना हुने ओलम्पिक पर्खिरहेका गोपी भन्छन्, ‘त्यसका लागि सबै संघ–संस्था, व्यक्तिगत र सामूहिकरुपमा पनि मलाई सहयोग भइरहेको छ । सबै कुरा सकारात्मक छ ।’

बर्लिन म्याराथनमा सहभागी हुने अवसर मिलाइदिन प्रशिक्षकको माध्यमबाट राखेप र नेपाल एथ्लेटिक्स संघको सहयोग अपरिहार्य रहेको बताउँदै उनले त्यो सहयोगबाट आफू खुशी भएको बताए ।

बर्लिन म्याराथनमा सहभागिताका लागि तीन दिनको आयोजकले ब्यहोर्ने र बाँकी खर्च एथ्लेटिक्स संघकै एकजना सरले ब्यहोरदिने आश्वासन दिएको गोपीले सुनाए ।

‘बर्लिनको पहिलो लक्ष्य राष्ट्रिय कीर्तिमान हो । कथम् कदाचित केही भइहाल्यो भने पनि नेपालगञ्जको भन्दा राम्रो नतिजा निस्किनेमा विश्वस्त छु,’ गोपी भन्छन्, ‘ कसले कति चोट पुर्‍यायो भन्दा पनि आउने दिनमा कसले कति सहयोग गर्‍यो भन्ने महत्त्व राख्छ । विगत जसको राम्रो हुन्छ, भविष्य उसको अप्ठेरो हुन्छ, विगत जसको कठिन हुन्छ, भविष्य उसको सहज हुन्छ भने जस्तै जुरेको छ ।’

दुईपटकको ट्रेनिङमा आफूले राष्ट्रिय कीर्तिमानको प्रयास गरेको र सफल पनि भएको जानकारी दिँदै गोपीले भने, ‘बर्लिनमा मेरो लक्ष्य नै राष्ट्रिय कीर्तिमान हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर