क्यानडामा कुनै दलले हासिल गरेनन् बहमुत, जस्टिन ट्रुडोले नै अल्पमतको सरकार बनाउने – Nepal Press

क्यानडामा कुनै दलले हासिल गरेनन् बहमुत, जस्टिन ट्रुडोले नै अल्पमतको सरकार बनाउने

ओटावा । क्यानडाको तल्लो सदन हाउस अफ कमन्समा कुनैपनि राजनीतिक दलले बहुमत जुटाउन सकेनन् । बहुमत नजुटेपछि वर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोको दल लिबरल पार्टीले अल्पमतको सरकार बनाउने भएको छ ।

हाउस अफ कमन्समा कन्जरभेटिभ प्रतिस्पर्धी एरिन ओटोलकाबिरुद्ध जस्टिनको पार्टी लिबरलको कडा प्रतिस्पर्धा भएको थियो । बहुमत हासिल गर्न नसकेपनि ट्रुडोको दल सत्तामा रहने भएको छ । ट्रुडो शक्तिमा त फर्किएका छन् तर, उनले बहुमत प्राप्त गर्न सकेनन् ।

सोमबार भएको मत परिणाम अनुसार ट्रुडो नै प्रधानमन्त्रीमा कायम रहनेछन् । तर, औपचारिक घोषणा हुन भने बाँकी नै छ । गत अगस्टमा लोकप्रियता बढेको देखिएपछि ट्रुडोले संसदमा सिटसंख्या बृद्धिको अपेक्षासहित आकस्मिक चुनावको घोषणा गरेका थिए ।

लिबरल पार्टीलाई मुलुकको नेतृत्व गर्नका लागि बलियो जनादेश प्राप्त गर्ने चुनावी उद्देश्य प्राप्त गर्न भने ट्रुडो चुकेका छन् । कतिपय मतहरु गणना हुन बाँकी रहेकै अवस्थामा चुनावी परिणामले पहिलेकै जस्तो अवस्था निर्माण गरेको छ । लिबरल पार्टीले १५६ सिट जितेको छ, जुन सन् २०१९ को चुनावको तुलनामा एकसिटले कम हो । कन्जरभेटिभ पार्टीले भने सन् २०१९ मै जस्तो १२१ सिट नै जितेको छ ।

संसदमा ब्लक क्युबेकोइस, न्यू डेमोक्रेटिक लगायतका दलको पनि उल्लेख्य सिट संख्या छ । कुल ३३८ सिट रहेको क्यानडेली संसदमा बहुमतको सरकार बनाउन कूल १७० सिट आवश्यक पर्छ । कुनैपनि दलले यो सिट संख्या प्राप्त गर्न नसकेपछि अल्पमतको सरकार बन्ने भएको हो ।

प्रधानमन्त्री ट्रुडोले कुनै कानून पारित गराउनुपरेको खण्डमा विपक्षी दलका सांसदको समर्थन आवश्यक पर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर