एएफसी महिला एसियन कपमा नेपाल र हङकङ भिड्दै – Nepal Press

एएफसी महिला एसियन कपमा नेपाल र हङकङ भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मंगलबार एएफसी एसियन महिला कप–२०२२ छनोटको दोस्रो खेलमा हङकङको सामना गर्दैछ । शनिबार भएको पहिलो खेलमा फिलिपिन्सविरुद्धको अग्रता जोगाउन नसकेको नेपाल १–२ गोलको नतिजामा पराजित भएको थियो ।

खेलको दशौं मिनेटमा विमला चौधरीको गोलसँगै अग्रता लिएको नेपालले खेलको अन्तिम मिनेटमा बराबरी गोल खाएको थियो । अन्तिमको पाँच मिनेट सम्हालिन नसकेको नेपालले इन्जुरी समयमा पुनः गोल खाँदा पराजित हुनु परेको थियो ।

अर्को वर्ष भारतमा हुने एएफसी महिला एसियन कपमा छनोटको आशा जिवितै राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । फिलिपिन्सविरुद्धको खेलमा चोटका कारण बाध्य भएर मैदान छाडेकी विमला चौधरी आजको खेलमा उपलब्ध हुनेमा आशंका छ भने पुजा राना अनुपस्थित रहने निश्चित भइसकेको छ ।

ताश्केन्त पुगेर एक खेल पनि नखेलेको हङकङ फ्रेस भएकाले आजको खेलमा नेपाललाई कठिन चुनौती हुने निश्चित छ । हङकङबाट आजको खेलमा नेपाली मूलकी स्नेहा लिम्बुले पनि खेल्ने सम्भावना छ ।

प्रवासी नेपालीकी छोरी स्नेहाले विद्यालय स्तरीय फुटबलबाट ‘सिटिजन्स’ क्लब हुँदै हङकङको राष्ट्रिय टोलीबाट डेब्यू गरिसकेकी छन् ।

यद्यपि, हङकङको टोलीका केही महत्त्वपूर्ण खेलाडीले आजको खेल गुमाउने छन् । हङकङकी कप्तान चान विङ्ग–स्जसहित टोलीका सिनियर खेलाडी चुङ्ग वाई–की, युई हेइ–म्यान र वाइ युन–टिङ विविध कारणले अनुपस्थित रहने छन् ।

तर, फिफा बरियतामा ७६औं स्थानको हङकङविरुद्ध १ सय १औं स्थानमा रहेको नेपाललाई सकारात्मक नतिजा निकाल्न कठिन हुने निश्चित छ ।

समूह ‘एफ’ मा रहेका नेपाल, हङकङ र फिलिपिन्समध्ये एक टोलीले भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर