सुर्खेत मालपोतमा प्रक्रियाबिनै दुई कर्मचारी नियुक्त, प्रमुख र लेखापालको मिलेमतो – Nepal Press

सुर्खेत मालपोतमा प्रक्रियाबिनै दुई कर्मचारी नियुक्त, प्रमुख र लेखापालको मिलेमतो

सुर्खेत । मालपोत कार्यालय सुर्खेतमा प्रक्रियाबिना नै आफन्तलाई नियुक्ति गरेको पाइएको छ । निमित्त कार्यालय प्रमुख जनकबहादुर हमाल र लेखापाल राजबहादुर हमालको मिलेमतोमा दुईजना आफन्तलाई नियुक्ति दिइएको खुलेको हो ।

निमित्त कार्यालय प्रमुखले भाइ नाता पर्ने प्रकाश शर्मालाई कम्प्युटर अपरेटरमा नियुक्त गरेका छन् तर उनलाई हालसम्म हाजिरी गर्न भने दिइएको छैन । लेखापाल हमालको ठूलोबुबाको छोरा कमलबहादुर शाहीलाई कार्यालय सहयोगीमा नियुक्ति दिइएको छ ।

हिक्मत जंग शाहीको पालामा कम्प्युटर अपरेटरमा नियुक्त भएकी सुनिता चन्दलाई कामबाट हटाई जनकले आफन्तलाई नियुक्ति गरेपछि यो कुरा खुलेको हो ।

‘मैले धेरै समय काम गरें । समस्या परेको समयमा काम गरें तर हाल आफ्ना भाईलाई नियुक्त गरे ।’ सुनिता भन्छिन्, ‘मलाई थाहै नदिइ मेरो स्थानमा हाकिम सावले भाइलाई राख्नु गलत हो ।’ कम्तीमा काम गरिरहेकालाई सोध्नुपर्ने भन्दै उनले गुनासो गरिन् । उनी भन्छिन्, ‘करारमा राख्ने नै भएको भए पनि कम्तीमा प्रक्रिया अपनाउनुपर्थ्यो । बिनाविज्ञापन, बिना सूचना यसरी आफन्त भर्ती केन्द्र बनाउन पाइँदैन भनेर मैले कार्यालय प्रमुखसामु नै आवाज उठाएको हो ।’

यता, कार्यालय प्रमुख हमालले भने प्रकाश नाताले भाइ नै पर्ने भएको बताए । ‘उसलाई नियुक्ति पत्र दिएको छैन । भदौ १ गतेदेखि काम गर्दै आइरहेको छ । दरबन्दी करारमा काम गर्दै आइरहेको साँचो हो ।’

उनले नेपाल प्रेससँग भने, ‘हामीले सूचना निकाल्नुपर्थ्यो निकालेनौं । मलाई विगतमा काम गर्दा मान्छे राख्नका लागि राजनीतिक दबाब पनि आएको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर