क्रिकेट समर्थकसँग ज्ञानेन्द्र मल्लको असन्तोष- मलाई ‘नेसनल भिलेन’ जस्तो बनाइयो (भिडियो) – Nepal Press

क्रिकेट समर्थकसँग ज्ञानेन्द्र मल्लको असन्तोष- मलाई ‘नेसनल भिलेन’ जस्तो बनाइयो (भिडियो)

काठमाडौं । ओमानमा आयोजना भएको त्रि-देशीय आईसीसी विश्वकप क्रिकेट लिग-२ हिजो सकिएको छ । अमेरिका र ओमानसँगको प्रतिस्पर्धामा नेपालले २ जित र २ हारसहित मिश्रित नतिजा निकाल्यो ।

अन्तिम म्याचमा नेपालले ओमानमाथि शानदार जित हासिल गरेको थियो । यसअघिका दुई म्याचमा हार व्यहोरेको नेपालल अन्तिम जितसँगै प्रतियोगिताको सुखद अन्त्य गर्न सफल भयो । यो जित खासगरि कप्तान ज्ञानेन्द्र मल्लका लागि निकै महत्वपूर्ण थियो । पारस खड्काको सन्न्यासपछि टिमको लय गुम्न नदिने जिम्मेवारी उनको काँधमा छ ।

ओमानविरुद्ध ज्ञानेन्द्रले आक्रामक अर्धशतक बनाउँदै टिमलाई जिततर्फ डोर्‍याएका थिए । अघिल्लो म्याचमा पनि उनले अर्धसतक हानेका थिए, तर सुस्त ब्याटिङ गरेको भनेर आलोचना खेप्नुपरेको थियो । यसपाली भने उनले आलोचकहरुलाई कुनै मौका दिएनन् ।

नेपालले खराब प्रदर्शन गर्दा बारम्बार समर्थकहरुको निशानामा पर्ने गर्छन् ज्ञानेन्द्र । एक–दुईवटा म्याचमा चुक्नासाथ उनको आलोचना सुरु भइहाल्छ । अझै पारस खड्को सन्न्यासपछि उनीमाथि दवाव र चुनौति थपिएको छ ।

हिजोको म्याचपछि प्रतिक्रिया दिँदै ज्ञानेन्द्रले तरिकाले क्रिकेट फ्यानहरुप्रति असन्तोष पोखे । नेपालले लिगमा राम्रो प्रदर्शन गरे पनि समर्थकले लगातार आफू तथा खेलाडीहरु लाई टार्गेट गरेर गाली गर्ने गरेकोमा दःुख लाग्ने गरेको उनले बताए । यसले आफूलाई मात्र नभएर श्रीमती र परिवारलाई पनि असर गरेको मल्लाकोे गुनासो छ ।

क्रिकेट फ्यानहरुको व्यवहारलाई लिएर ज्ञानेन्द्रको भनाइ जस्ताको तस्तैः

खोइ, मसँगको व्यक्तिगत दुश्मनी के हो ? मैले खोसेर लिएकोजस्तो, डाकु भएर आए जस्तो, त्यस्तो उहाँहरुलाई लागेको हुन सक्छ । हामी त जहिले पनि राम्रो गर्नको लागि आउने हो । मेरो लागि र टिमको लागि मात्रै भन्दा पनि त्यसमा मेरो परिवारदेखि लिएर हरेक कुरा जोडिएको हुन्छ । कहिलेकाहीँ दुख पनि लाग्छ । हामीलाई समर्थन आवश्यक भएको बेला नपाउँदा चाहिँ मन खिन्न हुन्छ ।

त्यो मलाई मात्रै होइन, हामी धेरैजसो खेलाडीलाई टार्गेट गरेको देखिराखेको हुन्छु । यसको काम छैन भनिरहेको हुन्छन् । तर मेरो बिचारमा के हो भने सबैजनाले आज नेपाललाई जिताउँछु र राम्रो खेल्छु भनेर नै आएका हुन्छन् । तर कहिलेकाहीँ त्यो भइदिदैन । फेरि हामी क्रिकेट कति नै खेल्छौ र रु यो लेबलको क्रिकेट पनि धेरै कम खेल्ने गर्छौँ । यसले गर्दा कतिजनालाई प्रेसर परिरहेको हुन्छ । सपोर्ट पाउनुपर्ने ठाउँमा आलोचना हुँदा कति जनालाई अफ्ठ्यारो परिरहेको पनि हुन्छ ।

म जहिले पनि टिमको राम्रो कसरी हुन्छ भनेर खेलिरहेको हुन्छु । अब त्यति गर्दा पनि सबैजनाले मनपराउनु हुन्न अथवा ‘नेसनल भिलेन’को रुपमा लिनुहुन्छ भने माइन्ड चाहिँ गर्दिन । मेरो उद्देश्य भनेको टिमको योजनाअनुसार कसरी जाने, टिमलाई कसरी अगाडि बढाउने भन्ने हुन्छ । चाहन्छु सक्दो माया गर्नुुस । सक्नुहुन्न भने कुनै पनि खेलाडीलाई टार्गेट गरेर सामाजिक सञ्जालमा दुव्र्यवहार नगर्नुुस ।

मलाई त अलिकति पर्सनल नै भयो जस्तो फिल भएको छ । म प्राय परिवारसँग क्रिकेटको कुरा गर्दिनँ । तर हिजो वाइफले फोनमा सोसल मिडिया नहेर भनिन् । एकदम नराम्रो लाग्यो । उसलाई नै धेरै असर गरेको रहेछ नि त । यसलाई सिरियसली लिनुपर्छ जस्तो लाग्छ । मेरो परिवारलाई समेत यो कुराले असर पारेको देख्दा दुख लाग्छ । यस्तो गर्नु गलत हो । आफुलाई पर्दा कस्तो हुन्छ सबैले बुझिदिए राम्रो हुने थियो ।

ओमानविरुद्ध नेपालको प्रदर्शनबारे

सुरुमा त हाम्रो बलिङ नै राम्रो भएको हो । हामीले ओमानलाई १२० रनमा रोक्न सक्यौं । जसरी करणले सुरुवात गर्यो त्यो राम्रो थियो । दुईवटा खेलपछि करण र सोमपालले पुनरागमन गरेका छन् । यद्यपि सोमपालले विकेट लिन सकेन, तर उनीहरुको सुरुवातले हामीलाई सेट गर्यो । उनीहरुले दवाव बनाएपछि सन्दीपलाई पनि फाइदा भयो । सन्दीपले पनि विकेट निकालेपछि व्याट्समेनले दवाव थेग्न सकेनन् ।
मेरो हकमा भन्नुपर्दा टिमको लागि के गर्नुपर्छ भन्ने कुरा महत्वपूर्ण हो । मैले जहिले पनि आफुलाई भन्दा टिमलाई अगाडि राखेर हेरँे । चाहे त्यो ओपनिङ गर्दा होस जुनसुकै स्थानमा ब्याटिङ गर्दा होस । टिमले के माग्छ त्यो मात्रै हेर्ने गरेको छु ।

सँधै हामी खेलिरहन सक्दैनौ । मलाई लाग्छ पुस्ता हस्तान्तरण हुँदा जहिले पनि राम्रो तरिकाले हुनु पर्छ । अहिले जुन तरिकाले हामीले २÷४ वर्षदेखि युवा खेलाडीहरुलाई गु्रम गरिरहेका छौँ, त्यसको नतिजा देखिइरहेको छ । बिस्तारै चाहन्छौ उनीहरुले नै टिमलाई सम्हालुन् र नेतृत्व गरुन् ।

हामी सँधै खेल्न सक्दैनौ । विस्तारै फिटनेसदेखि लिएर अरु धेरै समस्या आउन सक्छन् । त्यो अवस्थामा युवा खेलाडीहरु फरक खेलमा फरक तरिकाले ‘म्याच विनर’ भएर आइरहेको देख्दा धेरै खुशी लाग्छ । त्यो राम्रो संकेत हो जस्तो लाग्छ । र, टोलीको लागि राम्रो पक्ष पनि हो ।
ओमान यात्रामा हामीले धेरै नेगेटिभ तथा पोजेटिभ कुराहरु नोट गरेका छौं । यहाँबाट लाने पोजेटिभ नोट भनेको युवा खेलाडीहरु अगाडि आएका छन् । ओपनिङ व्याट्सम्यानहरु, रोहित र गुल्सन जसरी आएका छन्, सबै कुरा हेर्दा हामीले यो लेवलमा खेलाडीबाट जुन रुप चाहेको थियौ त्यो बिस्तारै निर्माण भइरहेको छ जस्तो लाग्छ । र, यसलाई सबै कुरा मिलाएर अगाडि बढाउने हो भने धेरै राम्रो हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *