हात्तीको संरक्षण नगरे लोप हुने खतरा (भिडिओ) – Nepal Press

हात्तीको संरक्षण नगरे लोप हुने खतरा (भिडिओ)

काठमाडौं । नेपालमा हात्ती बचाउन तत्काल रणनीति र कार्यक्रम नबनाउने हो भने छिट्टै लोप हुनसक्ने विज्ञहरुले बताएका छन् ।वासस्थान घट्दै जानु र आहारको कमीले हात्तीको संख्या घट्ने बताइएको छ । सँगै मान्छे र हात्तीबीच द्वन्द्व बढाउने पनि देखिएको छ ।

नेपालको तराई क्षेत्रमा रहेको सबै निकुञ्ज आरक्षमा हात्तीको वासस्थान र आवतजावत हुने गरेको पाइन्छ । एउटा हात्तीलाई कम्तिमा २५० वर्गकिमिको क्षेत्र आवश्यक पर्ने हुन्छ । त्यो क्षेत्र घट्दै जाँदा र सानो क्षेत्रफलमा धेरै हात्ती बस्ने बाध्यताले नजिकै रहेको मानव बस्तीमा हात्ती पस्न थालेको विज्ञहरुले बताएका छन् ।

हात्तीले खानाको लागि, प्रजानन समागमका लागि र पुर्खा हिँड्ने बाटो भए त्यसलाई पहिल्याउँदै हिड्ने गर्दछ । यसरी हिँड्ने क्रममा बाटोमा भएको मानव बस्ती, खेत खलियान बिगार्दै हिँडेको पाइन्छ । पूर्वको कोही टप्पु आरक्षमा अर्नासँगै १९ वटा जंगली हात्ती रहेको तथ्यांक छ ।

कुल १७५ वर्ग किलोमिटर क्षेत्रफल रहेको कोही टप्पुमा १९ वटा हात्ती हुनु भनेको मानव–वन्यजन्तुको द्वन्द्वको मुल कारण हो । यस्तो द्वन्द्वमा मानवीय क्षति मात्र होइन, वन्यजन्तु पनि दुर्घटनामा पर्ने, मारिने– मर्ने जोखिम हुन्छ । मानव–हात्ती द्वन्द्व कम गराइ आरक्ष क्षेत्रको दिगो विकास गर्न सरकारले तुरुन्त रणनैतिक योजना बनाएर काम गर्न आवश्यक छ ।

प्रमुख वार्डेन रामले कोशी टप्पुको संरक्षण,विस्तार र विकाशको लागि स्थानीय सरकार र प्रदेश सरकारले पनि भूमिका खेल्नुपर्ने बताए ।राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले नेपालमा रहेका संरक्षण क्षेत्रको संख्या र स्थानबारे अध्ययन हुन आवश्यक रहेको बताए ।

संरक्षित क्षेत्रलाई मानवबस्ती र खेतीगर्ने जमीन घेर्दै जाने र अनावश्यक घुसपैठले मानव–वन्यजन्तु द्वन्द्व बढाइरहेको डा. ओलीले बताए । संरक्षित क्षेत्रको क्षमता तथा बिस्तार र वन्यजन्तु स्थानान्तरणबारे विद्यमान कानूनि व्यवस्थालाई संसोधन गरेर अगाडि बढ्नुपर्ने आवश्यक्ता रहेको डा. ओलीले बताए ।

कोशीटप्पु वन्यजन्तु आरक्ष खासगरी जंगली भैँसी, अर्नाको संरक्षको लागि स्थापना गरिएको थियो । २०३२ सालमा अर्ना संरक्षणको लागि स्थापना भए पनि अहिले लोपोन्मुख चराहरु, हात्तीको संरक्षणमा काम भइरहेको छ । पछिल्लो समय यस आरक्षलाई मानव–हात्ती द्वन्द्व व्यवस्थापनको काम गर्नेमा बढी केन्द्रित भएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *