माओवादी केन्द्रमा पनि एमाले नेताको जस्तै व्यवहार देखिन थाल्यो : प्रचण्ड – Nepal Press

माओवादी केन्द्रमा पनि एमाले नेताको जस्तै व्यवहार देखिन थाल्यो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहलले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताएका छन् ।

सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफ्नो पार्टीमा बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता भएको बताएका हुन् ।

उनले नेकपा माओवादी केन्द्र पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताको जस्तै ब्यबहार देखिन थालेकाले चिन्ता बढाएको बताए । उनले समाजको विकास र न्यायको निम्ति पनि पार्टी र हामीहरुलाई रुपान्तरण गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता थाहा पाएपनि केही साथीहरुले आफूलाई आत्मसमर्पण गरेको बताए । उनले नेकपा एमालेले मदन भण्डारी र एमालेको लोगो भएपछि एमाले भनिरहेको भन्दै एमालेको कुनै सिद्धान्त नरहेको दावी गरे । थोरै मिहेनत गरे नेकपा माओवादी केन्द्र अबको चुनावमा पहिलो नम्बरमा आउन सक्ने उनको दावी छ । ।

अध्यक्ष दाहालले भने, ‘समाजवादी क्रान्ति अघि बढाउनको लागि विकास समृद्धिको यात्रा हुँदै न्यायसहितको एउटा नयाँ समाज निर्माणको निम्ति हाम्रो पार्टीले आफूलाई रुपान्तरण गर्नैपर्छ, हाम्रो पार्टी बिस्तारै बिस्तारै एमालेकरण हुनथाल्यो, यस्तै भइरहने हो भने मैले भनिसकेको छु पार्टी छ नभने हुन्छ, मैले पार्टी सकिदिने भन्न खोजेको होइन, जनताको चाहनाअनुसार नचल्ने हो भने यस्तो सिद्धान्तहीन पार्टी चलाएर के काम भन्न खोजेको हो, तर यो पनि मैले भनिरहेको छु कि नेकपा माओवादीले नै जनता र समाज साथै समाजवादी क्रान्तिको रणनीतिमा आफूलाई अघि बढाउँछ, नेकपा माओवादी नाम त छ, विज्ञापन जस्तो तर जनयुद्ध लड्ने योद्धाहरु भ्नेर चिनिनु पर्ने ठाउँमा चिनिदैनन्, नाम छ, तर काम हेर्दा जनताले छुट्याउन सक्दैनन्, को काँग्रेस को माओवादी, को एमाले ? त्यसैले हामीले थोरै मिहेनत गर्‍याे भने अब आउँदो चुनावमा एक नम्बर हुने सम्भावना छ ।’

अध्यक्ष दाहालले अब फेरि एकपटक सम्पूर्ण कम्युनिष्टहरुले सोच्नुपर्ने बेला आएको बताए । उनले कम्युनिष्टहरुले नेतृत्व नगरे अरुले बिगार्ने मात्रै देखिएको भन्दै सबै कम्युनिष्टहरुले आँखा चिम्लेर भएपनि देश र जनताको लागि सोच्नुपर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर