दसैँका लागि नयाँ नोटको जोहो शुरु (तस्बिर र भिडिओ) – Nepal Press

दसैँका लागि नयाँ नोटको जोहो शुरु (तस्बिर र भिडिओ)

काठमाडौं । नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दसैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट सटही थालेका छन् ।

नयाँ नोट खुलेसँगै बैंकहरूमा पैसा साट्नेको भीड लागेको छ । मीठो खाने र राम्रो लाउने पर्वको रूपमा लिइने दसैँमा नयाँ नोटको विशेष महत्व मानिन्छ । बिहान १० बज्न नपाउँदै बैंकहरूमा सर्वसाधारण टोकन लिएर लाइन बसेका छन् ।

केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।

काठमाडौं उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ ।

नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पलना गर्न केन्द्रीय बैंकले अनुरोध गरेको छ ।

राष्ट्र बैंकले १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ । कूल रुपमा केन्द्रीय बैंकले ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी भएको जानकारी दिएको छ ।

साना र ठूला दरका गरी प्रतिव्यक्तिले १८ हजार ५ सयसम्म उपलब्ध गराइने छ । संस्थागत प्रयोजनका लागि भने २ देखि ५ करोडसम्म उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

गत वर्ष भने कोरोनाको जोखिमका कारण भन्दै नयाँ नोट सटही गरिएको थिएन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर