माधव नेपालले भने- ५ प्रतिशत मात्र शक्ति भनेर गलत प्रचार हुँदैछ, टिकट नपाएका पीडित मिलेर बलियो हुँदैछौं – Nepal Press

माधव नेपालले भने- ५ प्रतिशत मात्र शक्ति भनेर गलत प्रचार हुँदैछ, टिकट नपाएका पीडित मिलेर बलियो हुँदैछौं

पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कुनै पार्टीसँग एकता नगरी सिंगल शक्तिले आफ्नो पार्टी अगाडि बढ्ने बताएका छन् ।

पोखरामा विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले माओवादीसँग मिल्ने कुरा गलत भएको प्रष्ट्याए । ‘अहिले बाहिर अरुसँग एकता हुन्छ भन्ने कुरा छ । कुनै पार्टी, माओवादीसँग एकता हुँदैन । आफ्नै शक्तिले अघि बढ्छौँ ’, उनले भने ।

देशको पछिल्लो अवस्थाले नेकपा एमाले भन्नेबित्तिकै सबैले नाक खुम्च्याउने गरेको नेता नेपालको टिप्पणी थियो । ‘आज एमालेको हविगत किन यस्तो भयो यसको कारण तपाईंहरूले पहिल्याउन पर्ने हुन्छ, देशको अवस्था किन यस्तो भयो आज नेकपा एमालेका नाम लिनेबित्तिकै नाम खुम्च्याउने गरेका छन्, सारा जनताको नजरमा तल खसिसकेको छ ।’

आफूहरू गण्डकीमा कमजोर रहेको स्वीकार्दै उनले पार्टीसँग ५ प्रतिशतमात्र शक्ति रहेको भनी गरिएको प्रचार गलत भएको दावी गरे । गण्डकीमा टिकट नदिएर आफ्ना पक्षधरलाई पीडित बनाएको उनको भनाइ थियो । अहिले पीडित-पीडित एक भएर बलियो बनेको उनले सुनाए ।

नेपालले आफ्नो पार्टी एक हप्ताभित्र सरकारमा सहभागी हुने बताएका छन् । उनले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको सुनाए । नेपालका अनुसार प्रदेश १ र वागमतीमा सरकार परिवर्तनको तयारी भइरहेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर