फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट राजदूतहरु फिर्ता बोलायो, अकुस गठबन्धनप्रति असन्तुष्टि व्यक्त – Nepal Press

फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट राजदूतहरु फिर्ता बोलायो, अकुस गठबन्धनप्रति असन्तुष्टि व्यक्त

काठमाडौं । विशेष प्रतिरक्षा सम्झौता गर्ने अमेरिका, बेलायत र अष्ट्रेलियाको कदमपछि फ्रान्सले असन्तुष्टिस्वरुप अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । अमेरिकाका लागि फ्रान्सका लागि फेलिप एटियानले राजदूत फिर्ता बोलाइने खबरको पुष्टि गरेका छन् ।

आइतबार तीन मुलुकबीच भएको सम्झौताअनुसार अमेरिका र बेलायतले आणविक पनडुब्बी निर्माण गर्न अष्ट्रेलियालाई सघाउने र इन्डो-प्यासिफिक क्षेत्रमा चिनियाँ प्रभुत्वलाई रोक्ने खालको सम्झौता गरेका थिए । सो सम्झौतापछि अष्ट्रेलियाली जलसेनाको पनडुब्बी जहाज बनाइदिने फ्रान्सको ठेक्का सम्झौता खारेज भएको छ । आफूलाई नसोधिन यस्तो सम्झौता गरिएको भन्दै फ्रान्सले असन्तुष्टि व्यक्त गरेको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोनले राजदूतहरु फिर्ता बोलाउन आदेश दिएको युरोप र विदेश मामिलामन्त्री जाँ इभ लु दगियाँले जनाएका छन् । अष्ट्रेलियामा परम्परागत डिजलबाट चल्ने पनडुब्बी उपलब्ध गराउनेबारेको परियोजनामा फ्रान्सले २०१६ देखि काम गरिरहेको थियो । तर अष्ट्रेलियाले उक्त परियोजनाका लागि अमेरिकासँग आधुनिक परमाणु उर्जाबाट चल्ने पनडुब्बी बनाउन काम गर्ने सम्झौता गरेपछि फ्रान्सले उक्त कदम चालेको हो ।

फ्रान्सले यस्तो कदम चालेको पहिलोपटक हो । राजदूत फिर्ता बोलाउने कदमबारे फ्रान्ससँग सम्पर्कमा रहेको ह्वाइटहाउसले जनाएको छ । फ्रान्स अमेरिकाको पुरानो मित्र रहेको अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद प्रवक्ता एमिली होर्नले वक्तव्यमार्फत जनाएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर