अखिलका विद्यार्थीलाई ओलीको निर्देशन: पदको लडाइँ गरेर अहिल्यै प्रचण्ड–माधवजस्तो बन्न नखोज्नू (भिडिओ) – Nepal Press

अखिलका विद्यार्थीलाई ओलीको निर्देशन: पदको लडाइँ गरेर अहिल्यै प्रचण्ड–माधवजस्तो बन्न नखोज्नू (भिडिओ)

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पदका लागि विवाद नगर्न विद्यार्थी नेताहरुलाई आग्रह गरेका छन् ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टीनिकट अनेरास्ववियूको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले युवा भएकाले अहिले आफ्नो पहिचान स्थापना र क्षमता निर्माणमा लाग्नुपर्ने बताए।

एउटै पार्टीमा रहँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पदको मात्रै कुरा गरेको भन्दै ओलीले भने– अहिले विद्यार्थी हुनुहुन्छ, पदको विवाद गरेर प्रचण्ड–माधव जस्तो हुनुभयो भने…!’

ओलीले अहिल्यै पदको लोभमा नलाग्न निर्देशन दिए। मान सम्मानको कुरा गरेर प्रचण्ड र माधवले जहिले पनि पद मागेको ओलीले आरोप लगाए। उनले भने, ‘पद चाहियो भनेको छ। सम्मान चाहियो भनेको छ। अपमान भयो भनेको छ ।’

‘प्रचण्ड कम्युनिष्ट होइनन्, प्रतिगामीका पुच्छर हुन्’

ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादी केन्द्रका अध्यक्ष कम्युनिष्ट नभएको पनि टिप्पणी गरेका छन्। ‘प्रचण्डले आफूलाई कम्युनिष्ट भन्न सुहाउँछ ? नाम राखेर हुन्छ ?,’ ओलीले भने, ‘कुनै पनि हालतमा प्रचण्ड भन्ने मान्छे कम्युनिष्ट होइन, यसमा कुनै शंका छैन ।’

त्यसपछि उनले माधव नेपालको आलोचना गरे। वामपन्थी सरकार ढालेर नेपालले देश र कम्युनिष्टविरुद्ध अपराध गरेको अरोप पनि ओलीले लगाए। ‘माधव नेपाल भन्ने मान्छे, जसले कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न खोज्दै छन्,’ उनले भने, ‘अहिले हेर्नुहोस् त, वामपन्थी सरकार कसरी ढाले । प्रदेश सरकार ढाल्न खोज्दै छन्।’

ओलीले थपे, ‘यिनले कम्युनिष्ट भन्न सुहाउँछ ? आफ्नै पार्टीको सरकार ढाल्न ‘फ्लोर क्रस’ गर्ने, कम्युनिष्ट सरकार ढालेर देउवाको सरकार बनाउने ।
माधव नेपालले देश र कम्युनिष्टविरुद्ध अपराध गरेका छन् ।’

ओलीले प्रचण्ड र माधव नेपाल प्रतिगामी भएकोसमेत आरोप लगाए। उनले भने, ‘प्रचण्ड र माधव नेपाल प्रतिगामी हुन, प्रतिगामीका पुच्छर हुन्।’

चुनावमा माधव र प्रचण्डको पार्टीसँग कुनै तालमेल नुहने उनले घोषणा गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर