तालिवानद्वारा महिला मन्त्रालय खारेज गर्ने तयारी – Nepal Press

तालिवानद्वारा महिला मन्त्रालय खारेज गर्ने तयारी

काबुल । अफगानिस्तानको तालिवान सरकारले महिला मामिला मन्त्रालय बन्द गरेर त्यसको ठाउँमा दुई दशकअघि तालिवान शासनकालमा कडा धार्मिक सिद्धान्त लागू गरेको एक विभाग राख्न लागिएको शुक्रबार अफगान सञ्चारमाध्यमले जनाएका छन् ।

सदरमुकामस्थित मन्त्रालयमा मजदुरहरुले पुरानो महिला मामिला भवनमा सद्गुण प्रवर्द्धन र उपाचार रोकथामका लागि मन्त्रालयका लागि चिन्ह खडा गरेको देखिएको अफगानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

आफ्नो जागिर गुमाएको भन्दै मन्त्रालयका महिला कामदारहरुले भवन बाहिर विरोध प्रदर्शन गरिरहेका केही तस्बीरहरू गत २४ घण्टामा ट्वीटरमा पोष्ट गरिएका छन् । तालिबान अधिकारीसँग यस सम्बन्धमा मागिएको प्रतिक्रियामा कसैले पनि तत्काल यस मामिलामा टिप्पणी गर्न चाहेनन् ।

तालिवानले यस पटक आफूहरूले उदारवादी शासन गर्ने प्रतिवद्धता जनाएपनि महिलाहरूलाई काममा फर्कन अनुमति दिएका छैनन् र विश्वविद्यालयमा लगाउन सक्ने पहिरनबारे नियमहरू लागू गरेका छन् ।

दुई हप्ताअघि घोषणा गरिएको एउटा नयाँ तालिबान सरकारमा महिलाको हितको प्रतिनिधित्व गर्ने कुनै महिला सदस्य समेत सहभागी गराइएको छैन ।

महिलाहरूले विगत २० वर्षमा आधारभूत अधिकारको लागि लडेका छन् र केही अधिकार स्थापित गर्न सफल भएका छन् यद्यपि उनीहरू विधायक, न्यायाधीश, पाइलट र प्रहरी अधिकृतका लागि योग्य मानिएका छैनन् ।

दुई दशकको द्वन्द्वमा तालिवान विद्रोहीका कारण उनीहरूको प्रभाब क्षेत्रमा हजारौ नारीहरूले आफ्ना पतिलाई गुमाए । धेरै महिलाहरू विधवा भएका छन् र कतिपय अवस्थामा उनीहरूले अबैध व्यक्तिलाई आफ्नो पति सरह सेवा गर्नु परेको छ ।

अगस्त १५ मा सत्तामा फर्केदेखि तालिबानले महिलाका अधिकारहरूको सम्मान गर्ने कुनै पनि झुकाब देखाएका छैनन् । दबाब दिँदा महिलाहरुलाई आफ्नै सुरक्षाका लागि घरमै बस्न भनिएको तर उचित कानूनी व्यवस्थापछि काम गर्न दिइने तालिवान अधिकारीहरूको भनाइ छ ।

सन् १९९६ देखि २००१ सम्म तालिबानको पहिलो शासनको दौडान महिलाहरूलाई धेरै हदसम्म सार्वजनिक जीवनबाट बहिष्कृत गरिएको थियो जसमा पुरुष नातेदारको साथमा नभएसम्म उनीहरूलाई आफ्नो घर छोड्न प्रतिबन्ध लगाइएको थियो । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर