नयाँ सीडीओको अन्योलपूर्ण निर्णयले विद्यालय सञ्चालनमा मनोमानी, आज कहाँ-कहाँ खुले ? – Nepal Press

नयाँ सीडीओको अन्योलपूर्ण निर्णयले विद्यालय सञ्चालनमा मनोमानी, आज कहाँ-कहाँ खुले ?

काठमाडौं । गत सोमबार काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले असोज १ गतेदेखि काठमाडौंका सबै सामुदायिक र निजी विद्यालय खुलाउने निर्णय गरे । सो निर्णय लिएको भोलीपल्टै उनको सरुवा भयो र नयाँ सीडीओका रुपमा गोविन्द रिजाल आए ।

रिजालले अघिल्ला सीडीओले लिएको निर्णयको स्वामित्व नलिइकन विद्यालयका सञ्चालनका विषयमा अन्योलपूर्ण निर्देशन जारी गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा विद्यालय खोल्न नपाइने भनिएको छ, ‘तर खुलाउनै पर्ने भएमा’ विभिन्न मापदण्ड पुरा गरेर खोल्न पाइने पनि उल्लेख छ । तर, त्यस्तो जरुरी अवस्था के हो भन्ने प्रष्ट्याइएको छैन ।

सीडीको विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक संस्थाहरु (विद्यालय) ले भौतिक उपस्थितिमा पठन पाठन गर्न र गराउन नपाउन । विद्यालय खुलाउनै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालन गर्नुपुर्व आ-आफ्नो पालिकास्तरमा कोभिड-१९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारीचालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालक समितिका पदाधिकारीहरु सबैले अनिवार्यरुपमा कोभिड-१९ विरुद्धको खोप लगाउनुपर्ने, अभिभावक तथा सरोकारवाला समूहहरुको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न सकिने छ ।’

सीडीओको विरोधाभाषी निर्देशनका कारण विद्यालय सञ्चालकहरुलाई आफूखशी निर्णय लिन बाटो खुलेको छ । काठमाडौंका १ महानगर र १० वटा नगरपालिकामा रहेका अधिकांस विद्यालयहरु आज सञ्चालनमा आएका छन् । उनीहरुले माथि उल्लेखित मापदण्डहरु पूरा गरे-नगरेको कुनै निकायबाट अनुगमन भएको छैन ।

सिडिओ भन्छन्ः विद्यालय खुलाउनु भनेका छैनौं

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सीडीओ सिडिओ गोविन्दप्रसाद रिजालले काठमाडौंमा विद्यालय खोल्ने भनेर निर्णय नै नगरेको बताए ।

उनले नेपालप्रेससँग भने, ‘हामीले स्थानीय पालिकाहरुले त्यहाँको बस्तुस्थिति हेरेर खोल्न सक्ने भनेर पालिकाहरुलाई जिम्मा दिएका हौं । सिधै लौ खोल्नुस् भनेर भनेका छैनौं ।’

रिजालका अुनसार कोभिडको संक्रमण नभएको, घट्दो क्रममा रहेको वा धेरैले खोप लगाइसकेको अवस्था भएमा स्थानीय तहले नै निर्णय गरेर खोल्न सक्नेछ । निश्चित मापदण्ड पुरा गर्न नसकेमा खोल्न नपाइने उनी बताउँछन् ।

‘पालिकाहरुले मापदण्ड पुरा गराउन सक्दैनौं, संक्रमण फैलन सम्भावना धेरै छ खोपको कभरेज पनि कम छ भने त्यस्तोमा नखोल्ने भन्ने हो’ उनले भने ।

विद्यालयहरुले मापदण्ड पालना गरे नगरेको स्थानीय तहले नै अनुगमन गर्ने रिजालको भनाइ छ । सम्भव भयो भने शिक्षा इकाइलाई पनि अनुगमन गर्न उनले भनेका छन् ।

सिडिओ रिजालले भने, ‘कति विद्यालय खुले भनेर सबै पालिकाको रेकर्ड हामीलाई जानकारी गराउन भनेका छौं ।’ आज कति विद्यालय खुले भन्ने जानकारी आइनसकेको उनले बताए ।

कति विद्यालय खुले ?

काठमाडौंमा १ महानगर र १० वटा नगरपालिका छन् । सबै स्थानीय तहले आफूखुसी विद्यालयहरु खुलाएका छन् ।

९ वटै स्थानीय तहमा आजदेखि विद्यालय सञ्चालनमा आए । किर्तिपुर र चन्द्रागिरी नगरपालिकामा भने विद्यालय खुलेनन् । यी दुबै नगरपालिकाले जात्राको कारण मात्रै आज स्कुल नखुलाएका हुन् । उनीहरुले पनि ४ गतेदेखि विद्यालय खुलाउने तयारी गरेका छन् ।

गोर्कर्णेश्वर नगरपालिकाले भने भदौ १५ देखि नै सबै सामुदायिक तथा निजी विद्यालय खुलाउने निर्णय गरेको थियो । १५ गतेदेखि नै नगरपालिकाका विद्यालयमा भौतिक उपस्थितिमा पढाइ भइरहेको छ । स्थानीय तहको अधिकारअनुसार नै भदौ १५ देखि सबै विद्यालय खुलिरहेको गोर्कर्णेश्वरका मेयर सन्तोष चालिसेले बताए । गोकेर्णेश्वरमा नीजि र सामुदायिक गरी १ सय १० विद्यालय छन् ।

संखरापुर नगरपालिकाको पनि सबै स्कुल आजदेखि भौतिक उपस्थितिमा नै खुलेको संखरापुरकी उपमेयर शुक्रलक्ष्मी श्रेष्ठले बताइन् । ती नगरपालिकामा ३१ वटा विद्यालय छन् । कागेश्वरी महोनगरपालिकामा पनि आजदेखि सबै विद्यालय खुलेका छन् । नगरपालिकाका मेयर कृष्णहरी थापाका अनुसार सिडिओले स्थानीयतहलाई अधिकार दिएसँगै आजदेखि सबै विद्यालय खुलाउन अनुमति दिइएको छ । तर स्वास्थ्य मापदण्ड पुरा गरेर मात्रै खोल्न निर्देशन दिइएको उनले बताए । यस नगरपालिकामा ८५ वटा विद्यालयहरु छन् ।

बुढानिलकण्ठ नगरपालिकामा पनि आजदेखि केही विद्यालयहरु आंशिक रुपमा खुल्न थालेका छन् । मेयर उद्धवप्रसाद खरेलका अनुसार सोमबारदेखि सबै विद्यालय खुल्नेछन् । उक्त नगरपालिकामा सामुदायिक र निजी गरी १ सय २० वटा विद्यालयहरु छन् ।

टोखा नगरपलिकाको ८७ वटा विद्यालयहरुमध्ये केही विद्यालयहरु मात्रै आजदेखि खुले । विस्तारै सबै विद्यालयहरु मापदण्ड पुरा गरेर खुल्ने उपमेयर ज्ञानमाया डंगोलले बताइन् ।

तार्केश्वर, नार्गाजुन नगरपालिकामा पनि आजदेखि विद्यालय खुलेका छन् । यस नगरपालिकामा १ सय २ र नागार्जुन नगरपालिकामा ५२ वटा विद्यालयहरु छन् ।

किर्तिपुर नगरपालिकामा भने आजदेखि विद्यालयहरु खुलेनन् । सबै विद्यालयहरु कोभिड प्रोटोकल पालना गराउनको लागि छलफल भइरहेकाले सोमबारदेखि मात्रै खुल्ने मेयर रमेश श्रेष्ठले बताए । यस नगरपालिकामा ४० वटा स्कुलहरु छन् । मेयर श्रेष्ठमा अनुसार आइतबार विदा परेकाले सोमबारदेखि मात्रै स्कुल खुल्नेछन् ।

यसैगरी चन्द्रागिरी नगरपालिकाका ७४ वटा विद्यालयहरु शुक्रबारदेखि खुलेका छैनन् । मेयर घनश्याम गिरीका अनुसार आज नगरपालिकामा जात्रा लाग्ने भएकाले नखोलिएको हो । ४ गतेदेखि नै सबै विद्यालयहरु खुल्नेछन् ।

दक्षिणकाली नगरपलिकाका २७ वटा विद्यालयमध्ये आज अधिकांश विद्यालय खुलेका छन् । केही विद्यायलहरुले व्यवस्थापकीय कारणले नखोलिएको मेयर मोहन बस्नेतले बताए ।

काठमाडौं महानगरपालिकाले आजदेखि विद्यालय नखुलेको दावी गरेका छन् । महानगरका शिक्षा शाखाका प्रमुख रामप्रसाद सुवेदीले महानगरपालिकाले खुल्ने निर्णय गरेको नगरेको बताए । अब ४ गते शिक्षा समितिको बैठक बसेर विद्यालय अहिले खुलाउनेकी दशैंतिहार पछि खुलाउने भनेर छलफल गरेपछि मात्रै विद्यालय खुलाउने नखुलाउने निर्णय गर्ने उनले बताए । उनले नेपालप्रेससँग भने,‘आज हामीले कोभिड प्रोटोकल बनाएका छौं । अझै छलफल भइसकेको छैन र काठमाडौं महानगरले विद्यालय खुलाउने तत्काल कुनै निर्णय गरेका छैनौं । कसैले खुलाएका छन् भने पनि हामी अनुगमन गर्छौं ।’

तर महानगरका केही विद्यालय भने आंशिक रुपमा खुलेका छन् । खुलेका विद्यालयमा पनि खासै विद्यार्थीको उपस्थिति छैन । काठमाडौं महानगरभित्र ६ सय ९१ वटा विद्यालयहरु छन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण नघटेको भन्दै तत्काल विद्यालय नखुलाउन आग्रह गरेको थियो । अभिभावकहरु पनि दशैं नजिकै आउन लागेको अवस्थामा विद्यालय खोल्ने निर्णयमा खुशी थिएनन् । उनीहले तत्कालीन सीडीओ पराजुलीसँग छलफल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर