रामकुमारी झाँक्री भन्छिन्: आफैंले बनाएको दरबारमा बस्न कठिन यात्रा तय गर्‍यौं – Nepal Press

रामकुमारी झाँक्री भन्छिन्: आफैंले बनाएको दरबारमा बस्न कठिन यात्रा तय गर्‍यौं

रूपन्देही । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले एकीकृत समाजवादी एमालेबाट विभाजन भएर नभइ विद्रोह गरेर निर्माण भएको बताएकी छन् । एमाले अध्यक्ष केपी ओलीले १२ बुँदे सम्झौता कोर्स करेक्सन भत्काएर द्वन्द्व निम्त्याउन खोजेको उनले आरोप लगाइन् ।

एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले यसलाई काँटीको झिल्कोजस्तै बनेर प्रतिगमनकारीको योजनालाई ध्वस्त बनाउने उद्घोष गरिन् । घनश्याम भुसालसहितका पूर्व नेपाल पक्षका नेताहरुलाई लक्षित गर्दै उनले ‘अरूले बनाएको दरबारमा सयर गर्नेहरूले कठिन यात्रा तय गर्न नसकेको’ टिप्पणी गरिन् ।

‘हामी आफैले बनाएको दरबारमा बस्न कठिन यात्रा तय गरेका हौं,’ उनले भनिन् ।

एकिकृत समाजवादीले ४० प्रतिशत युवाहरू अनिवार्य केन्द्रीय कमिटीमा राख्ने व्यवस्था गरेर पार्टीलाई नवजवानहरूको पार्टी बनाउन खोजिएको झाँक्रीको भनाइ छ । एमालेका नेताहरुले बिद्रोहमा सहभागी हुन चाहने कार्यकर्तालाई राजनीतिक भविष्य र ब्यक्तिगत भविष्यको ग्यारेन्टी बाँड्दै हिँडेको आरोप उनले लगाइन् ।

नेता मेटमणी चौधरीले अहिले पार्टीको आकार सानोजस्तो देखिएपनि केही महिनाभित्र वास्तविक आकार देख्न सकिने बताए । जनप्रतिनिधिहरु आवरणमा आफुहरुतिर नदेखिए पनि जनताको अपार समर्थन एकीकृत समाजवादीलाई रहेको उनको दावी छ ।

बैठकले मेटमणी चौधरीको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको छ । सचिवमा रुपन्देहीका राजु गुरुङ चयन भएको तथा १२ वटै जिल्लाका अध्यक्षहरु र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु पनि पदेन सदस्य तथा जिल्लाबाट सिफारिस भएअनुसार थप सदस्य रहने गरी प्रदेश कमिटी गठन भएको चौधरीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर