नेपाल-युरोपियन फिल्म फेस्टिभल भर्चुअल्ली सुरु, पाँच नेपालीसहित ११ युरोपेली फिल्म देखाइने – Nepal Press

नेपाल-युरोपियन फिल्म फेस्टिभल भर्चुअल्ली सुरु, पाँच नेपालीसहित ११ युरोपेली फिल्म देखाइने

काठमाडौं । दशौं नेपाल-युरोपियन फिल्म फेस्टिभल आजदेखि भर्चुअलरुपमा सुरु भएको छ । फेस्टिभललाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोना महामारीले थलिएको नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउन फेस्टिभल महत्वपूर्ण हुने बताए ।

आठ दिनसम्म भर्चुअलरुपमा संचालन हुने फेस्टिभलमा ११ वटा युरोपेली फिल्म, पाँच नेपाली फिल्म र २३ वटा वातावरण संरक्षण तथा जलवायु परिवर्तनबारे बनेका फिल्म प्रदर्शन हुनेछन् ।

युरोपेली डेलिगेसनका कार्यवाहक राजदूत स्टेफन माइकनले फेस्टिभलको माध्यमबाट नेपाल र युरोप थप नजिक हुने बताए । फेस्टिभल स्कोप प्लेटफर्मबाट भर्चुअलरुपमा फिल्म प्रिमियर गरिने भएको छ ।

फेस्टिभलका सद्भावना दूत समेत रहेका अभिनेता दयाहाङ राईले आगामी वर्ष भौतिकरुपमै फेस्टिभल आयोजना हुने पर्खाइमा आफूहरु रहेको बताए । युरोप र नेपालका जीवनशैली र संस्कृति आदानप्रदान हुने उनले बताए ।

उक्त प्लेटफर्ममा खाता खोलेर दर्शकले निःशुल्करुपमा फिल्म हेर्न पाउनेछन् । भर्चुअल शुभारम्भ कार्यक्रममा फिल्म निर्देशक, निर्माता र फिल्म पदाधिकारीहरु सहभागि थिए ।

फेस्टिभलमा देखाइने नेपाली फिल्महरुमा धोन्डुप छिरिङको ‘आमा खान्डो’, विनोद पौडेलको बुलबुल, सहायक श्रीमानको को-हजब्यान्ड, सर्जियो बासोको सरिता : टेल मी हु आइएम, राजन कठेतको ‘स्प्लिट इन्ड्स’ छन् ।

कार्यक्रममा लैंगिक समानताबारे निर्माण भएका छोटो फिल्मका विजेताहरु घोषणा गरिएको थियो । फिल्म प्रदर्शनसँगै फेस्टिभल अवधिभर नेपाली फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुबीच विभिन्न आयामबारे छलफल समेत हुने कार्यक्रम छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *