
पार्टी बनाउने कसम खादै आलोकनगरमा उठेका मुठी (तस्बिरहरु)

काठमाडौं । एमालेबाट विद्रोह गरेर चुनौतीपूर्ण यात्रा रोजेका माधव नेपाल नेतृत्वको नयाँ पार्टी (एकीकृत समाजवादी)ले आजदेखि औपचारिकरुपमै आफ्नो मुख्यालय संचालनमा ल्याएको छ।
बानेश्वरस्थित आलोकनगरमा रहेको एक निजी आवासलाई मासिक ३ लाख २५ हजार भाडा तिर्ने गरि पार्टी मुख्यालय बनाइएको हो । धेरै फराकिलो नभएकाले यसलाई अस्थायी प्रयोजनका लागि कार्यालयका रुपमा प्रयोग गरिने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
शुक्रबार बिहानै नेता कार्यकर्ताका साथमा नेपालले कार्यालयको उद्घाटन गरे । उद्घाटनपछि मुठी उज्याउँदै सबैले नारा लगाए- एकीकृत समाजवादी जिन्दावाद !
आलोकनगरमा उठेका मुठीसँगै नेताहरुले नयाँ पार्टीलाई स्थापित गराइ छाड्ने कसम पनि खाए। यद्यिप नेकपा एसका नेताहरु आफूहरुले नयाँ पार्टी बनाउनुको नभइ पार्टी पुर्नगठन गरेको भन्न रुचाउँछन् ।
जे हो, उठेका मुठीमा पार्टी बनाइ छाड्ने दृढता पनि छ, तर यो चुनौतीरहित भने छैन् । नयाँ पार्टी स्थापित गर्ने चुनौतीसँगै पार्टी विभाजनको औचित्य स्थापित गर्ने चुनौती पनि नेकपा एसलाई छ।
तस्बिरहरु: उमेश कार्की
