आफूनिकट पत्रकारलाई माधव नेपालले भने- एमालेमै बसेका १० भाइको अपमान हुने केही नलेख्नुस् – Nepal Press

आफूनिकट पत्रकारलाई माधव नेपालले भने- एमालेमै बसेका १० भाइको अपमान हुने केही नलेख्नुस्

पत्रकारको प्रश्न- तपाईंलाई तथानाम भन्दा हामी सहने ? नेपालको जवाफ- त्यो त मिलाएर गर्नु न

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनको बेला अन्तिममा एमालेमै बसेका दोस्रो पुस्ताका नेताहरूको अपमान हुने गरि नबोल्न र नलेख्न निर्देशन दिएका छन् ।

पार्टी प्रचार विभाग र समाजवादी प्रेस संगठनका नेताहरूसँगको छलफलमा केही पत्रकारले दोस्रो पुस्ताका नेताहरूले किन धोका दिए ? भन्दै नेपालसँग प्रश्न गरेका थिए ।

जवाफमा नेपालले छाडेर जानेलाई मिस गरेर के हुन्छ ? भन्दै सीपी मैनालीदेखि धेरै साथीहरू यसबीचमा छुटेको भन्दै पछिल्लो पटक छुटेका १० स्थायी समिति सदस्य छिट्टै आफूसँग आइदिए हुन्थ्यो भने ।

नेकपा एस निकट पत्रकार नेताहरूले रघुजी पन्तले समेत माधव नेपाललाई छाडेकोमा अचम्म लागेको भन्दै नेपालसँग यसबारे सोधेका थिए । नेपालले भने आफूलाई पनि अचम्म लागेकोमात्र जवाफ दिए ।

काठमाडौंमा तत्काल उपलब्ध नेकपा एक निकट पत्रकारको भेलामा समाजवादी प्रेस संगठनका संस्थापक टंक पन्त, विश्वमणी सुवेदी, नरेन्द्र साउद, पत्रकार महासंघका सचिव गोविन्दप्रसाद चौगालाईसहित तेजप्रसाद वाग्ले, टिबी लोप्चन, बुद्धवीर वाहिङ राई, ध्रुव लम्साल, भरतराज पोखरेल, भिमसेन राजवाहक, भवानी कार्की, रोहित दाहाल, श्याम रिमाल, ऋतुराज सुवेदी, नारायण पौडेल, मनिता कोइराला, आशिष गुरागाई, भुपराज खड्का, अप्सरा गौतम लगायत सहभागी थिए ।

१० जनाले छाडेकोबारे अध्यक्ष नेपाल र पत्रकारबीच भएको रोचक प्रश्नोत्तर यस्तो थियो ।

पत्रकार: अन्तिममा तपाईंको साथ छोडेका १० भाइलाई कत्तिको मिस गर्नुहुन्छ ?

माधव नेपाल: सीपी मैनाली र म कम्युनिष्ट आन्दोलनमा सँगै अगाडि बढेको । उहाँ झापाबाट, म मोरङबाट । तर, अहिले सीपी हामीसँग हुनुहुन्न । अब मिस गरेर के गर्नु ? काम गर्दै जादा यसरी थुप्रै साथीहरू यताउता हुँदै जानुहुन्छ । अब के मिस गरेर बसिराख्ने त ?

पत्रकार: उनीहरू कहिले फर्केलान् त ?

माधव नेपाल: छिटै आए हुन्थ्यो नि त (हाँसो…)

पत्रकार: उनीहरूलाई के भन्न चाहनुहुन्छ ?

माधव नेपाल: उहाँहरूलाई होच्याउने, अपमान गर्ने काम तपाईंहरूले पनि नगर्नुहोला । तपाईंहरूले त त्यस्तो कहिल्यै गर्नुहुन्न, मलाई थाहा छ । अरुलाई पनि गर्न नदिनुस् । विभिन्न नाम, उपनाम झुण्ड्याएर गाली गर्ने काम कसैले गरेको छ भने बन्द गर्नुस् ।

पत्रकार: हैन कमरेड, तपाईंलाई उनीहरूले तथानाम भन्न थालेपछि हामीलाई पनि सहन गाह्रो पर्यो नि?

माधव नेपाल: त्यो त मिलाएर गर्नु न (हाँसो)

पत्रकार: रघु पन्तले पनि छोड्दा सबैले अचम्म मानेका छन् नि ?

माधव नेपाल: सबैभन्दा बढी अचम्म त मलाई लागिरहेको छ । (फेरि हाँसो..)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर