गोन्जालो र प्रचण्डका आठ समानताः दुवै पूर्वशिक्षक, दुवै विलासी – Nepal Press

गोन्जालो र प्रचण्डका आठ समानताः दुवै पूर्वशिक्षक, दुवै विलासी

दक्षिण अमेरिकी देश पेरुमा गोन्जालोले माओवादी आन्दोलन ‘साइनिङपाथ’को नेतृत्व गरे । दक्षिण एसियाली देश नेपालमा प्रचण्डले पनि माओवादी आन्दोलनकै नाममा त्यस्तै हिंसात्मक अभियान चलाए । प्रचण्ड र गोन्जालोले नेतृत्व गरेका यी आन्दोलनका पृष्ठभूमि एवं प्रकृतिमा धेरै समानता र केही भिन्नता पाइन्छन् ।

गोन्जालोले छेडेको आन्दोलनले पेरुका ७० हजार नागरिक मारिएका थिए भने प्रचण्डले छेडेको आन्दोलनमा १७ हजार नेपालीको ज्यान गयो । माओवादीमा लाग्नुभन्दा केही अगाडि गोन्जालो विश्वविद्यालयका प्राध्यापक थिए भने प्रचण्ड विद्यालयका शिक्षक । गोन्जालोको हिंसात्मक आन्दोलन दुई दशक चल्यो । प्रचण्डको एक दशकमा टुंगियो ।

सन् १९९६ फेब्रअरीमा प्रचण्डले माओवादी आन्दोलन नेपालमा सुरु गर्दा गोन्जालो थुनिएको साढे तीन वर्ष भएको थियो । गोन्जालो सन् १९९२ सेप्टेम्बर १२ मा थुनिएका थिए ।

उमेरमा मात्रै होइन, आन्दोलनमा पनि जेठा हुन् गोन्जालो । एक हिसाबले प्रचण्डका गुरु । त्यहीं भएर शनिबार पेरुको समयअनुसार बिहान ६ः४० मा जेलमै ८६ वर्षको उमेरमा मरेका गोन्जालोको स्मृतिमा प्रचण्डले भावुक पोस्ट गरे । उनले गोञ्जालोलाई ‘वैचारिक निष्ठा, त्याग र समर्पणका प्रतीक’ को संज्ञा दिएका छन् ।

पृथ्वीका दुई कुनाका दुई हिंसात्मक आन्दोलनका दुई नेता गोन्जालो र प्रचण्डका धेरै असमानताहरु छन् । तर, उनीहरुका केही समानताहरु पनि छन् ।

सुरुमा समानताकै चर्चा गरौं –

१. सिमान्त जातिको मुद्दा, सम्भ्रान्त जातिको नेतृत्व

औपचारिक नाम म्यानुएल रुबिन अभिमान गुजमान भएका कमरेड गोन्जालो र औपचारिक नाम पुष्पकमल दाहाल भएका कमरेड प्रचण्डको आन्दोलनको मूल मुद्दा सिमान्तकृत समुदायको भएको दाबी थियो । उनीहरुको भाषामा सिमान्तकृत समुदायभन्दा भिन्न समुदायका आम मान्छेहरुहरु समेत ‘सम्भ्रान्त’ थिए । रोचक समानता चाहिँ उनीहरु त्यहीं सम्भ्रान्त समुदायका नेता थिए ।

प्रचण्ड जन्मले माओवादीले भन्ने तथाकथित ‘उच्च जातीय’ बाहुन समुदायका हुन् । गोन्जालो युरोपेली पृष्ठभूमिबाट आएका पेरुका सभ्रान्त समुदायका थिए । यहीं समानताको व्याख्या चर्चित पुस्तक ‘चाइनाज इन्डिया वार’ पुस्तकका लेखक बर्टिल लिन्ट्नरले आफ्नो पुस्तकको सातौँ अध्ययन ‘माओइजम रिडेक्स’मा गज्जबसँग गरेका छन् ।

२. गुरिल्ला युद्ध, गैरन्यायिक हत्या, पूर्वाधार ध्वंश र आतंककारी बिल्ला

गोन्जालो र प्रचण्डको माओवादी आन्दोलनको स्टाइल एकै थियो । दुवैले गुरिल्ला युद्ध नीति लिएका थिए । गुरिल्ला युद्ध नीति भनेको कुनै ठाँउमा बाह्रै महिना कब्जा गरेर नबसी धरापदेखि भिडन्त गरेर युद्ध लड्नु हो ।

साइनिङ पाथ र माओवादी दुवैको आधार इलाकामा राष्ट्रिय सेना जान्थे । त्यहाँ भिडन्त हुन्थ्यो । तर, जसरी राष्ट्रिय सेनाको खास खास ठाँउमा पोस्ट हुन्छ, गुरिल्ला युद्धमा हुन्न । यो एकैखाले रणनीतिको अख्तियारी गोन्जालो र प्रचण्डले गरेका थिए ।
गैरन्यायिक हत्यामा गोञ्जालो र प्रचण्डको कार्यशैली मिल्छ । गोञ्जालोले दोहोरो फौजी भिडन्तमा सहभागीहरु मात्रै मारेनन्, साइनिङ पाथविरोधी र गैरहतियारधारीहरु समेत मार्थे ।

विचार र हतियार विसर्जनमा गोन्जालो र प्रचण्डको लाइन मिल्छ । गोन्जालोले पक्राउ परेको एक वर्षपछि टेलिभिजनमा आएर हतियार बिसाउन आग्रह गरे । बहुसंख्यकले हतियार बिसाए । माओवाद पनि हतियारसहित पेरुको मूलधारको विद्रोहीबाट विसर्जन भयो ।

त्यस्ता हजारौं हत्या गोन्जालोको नेतृत्वमा भएको थियो । सन् १९८३ मा पेरुको शहर लुकानामार्काको नरसंहार सबैभन्दा आलोचित हो । जहाँ ६ महिने बालकदेखि वृद्धहरुलाई सफाया गरिएको थियो । त्यहाँ १८ जना बालबालिकाको हत्या भएको वासिङ्टन पोस्टले लेखेको छ । सरकारी र सार्वजनिक पुर्वाधार गोन्जालोको पालामा धेरै ध्वस्त भएका थिए ।

नेपालको माओवादी आन्दोलनमा पनि अनेकौं गैरन्यायिक हत्या भएकोसत्य निरुपण तथा मेलमिलाप आयोगमा आएका उजुरीको चाङले देखाउँछ । आयोगमा ६१ हजारभन्दा धेरै उजुरी परेका छन् । त्यसको ठूलो हिस्सा माओवादीतर्फ छ ।

सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा काभ्रेका अर्जुन लामाको हत्याको मुद्धा चलिरहेको छ । माओवादीले धरापमा परेर सार्वजनिक बसमा बिस्फोट गराए ।

२०६२ जेठ २३ गते चितवनको बाँदरमुढेमा भएको माओवादीको बिस्फोटमा परेर ३८ जनाले ज्यान गुमाए भने ७२ घाइते भएका थिए । विदामा घरपरिवार भेट्न आएका सेना, प्रहरीदेखि माओवादीले सुराकीको नाममा हजारौं गैरहतियारधारी नागरिकको हत्या गरेका थिए ।

सार्वजनिक पूर्वाधारहरु ध्वस्त गर्नमा पनि गोञ्जालोभन्दा कम भएन माओवादी । दश वर्ष माओवादी भूमिगत भएको समयमा नेपालका २,१४९ विद्यालय, २,०७२ गाविस भवन, ९८६ जिल्ला सदरमुकामका सरकारी कार्यालय र १०४७ स्थानीय निकायका सरकारी भवनहरु माओवादीले भत्काएका थिए । पूर्णबहादुर सिलवालले हालै प्रकाशन गरेको पुस्तक ‘नेपाल्स इन्ट्याबिलिटी कननड्रम’ मा यी तथ्यांक छन् ।

गैरन्यायिक हत्याकै कारण गोन्जालोलाई पेरु सरकारले आतंककारी घोषणा गरेको थियो । पेरुका वर्तमान राष्ट्रपति पेद्रो कास्टियो, जो वामपन्थी हुन्, उनले अहिलेसम्म गोन्जालोलाई आतंककारी भन्छन् । प्रचण्डलाई आतंककारी घोषणादेखि टाउकाको मोल राजा ज्ञानेन्द्र र प्रधानमन्त्री देउवाको पालामा तोकिएको थियो ।

अमेरिकाले समेत माओवादीलाई सन् २००३ मा आतंककारी घोषणा गरेको थियो । बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा माओवादी लडाकुको व्यवस्थापनपछि मात्रै माओवादीलाई अमेरिकाले आतंककारीको सूचीबाट सन् २०१२ सेप्टेम्बर ६ मा हटाएको थियो ।

ध्वंस र हत्या गर्न गोञ्जालो र प्रचण्ड दुवैका आफ्ना–आफ्ना नारा थिए । गोन्जालो भन्थे, ‘रगतको नदी तरेर मात्रै साम्यवादमा पुग्न सकिन्छ ।’ प्रचण्डले धेरै भित्ते लेखनमा माओको भनाइ कोट गर्दै भन्थे, ‘बन्दुकको नालबाट सत्ता जन्मन्छ ।’

३. चीनकै विचार आयात गरेर चीनकै आलोचना

गोन्जालो र प्रचण्ड दुवैले चिनियाँ नेता माओ जेदुङको नाममा आन्दोलन गरेका थिए । तर, दुवैले चीनको आलोचना गरेका थिए । गोन्जालोले चिनियाँ नेताहरु मात्रै हैन ल्याटिन अमेरिकाकै फिडेल क्यास्ट्रोहरुको समेत आलोचना गर्थे । उनीहरु क्रान्तिकारी नभएको उनको आरोप हुन्थ्यो ।

गोन्जालोले चीनको विरोध मात्रै गरेनन् । चिनियाँ दूतावासमा दुईपटक बम हमलासमेत गराएका थिए । पहिलोपटक सन् १९८९ अक्टोबर २५ मा बम हानिएको थियो । दोस्रोपटक सन् १९९२ डिसेम्बर २८ मा पेरुको राजधानी लिमामा रहेको चिनियाँ दूतावासमा गोन्जालोको पार्टीले बम हानेको थियो ।

तत्कालीन चिनियाँ रास्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव देङ स्याओपिङलाई त सन् १९८० को डिसेम्बरमै हदैसम्मको अपमान गरेको थियो गोन्जालोको पार्टीले । उनलाई ‘देङ स्याओपिङः बोक्सीको छोरा’ भन्दै विभिन्न पोस्टरहरु बनाइएको चाइनाज इन्डिया वारका लेखक तथा प्रसिद्ध स्विडेनी पत्रकार बर्टिल् लिन्ट्नरले लेखेका छन् ।

लिमाको सडकमा उभिएका ल्याम्पपोस्टमा मरेका कुकुरहरु झुण्ड्याइएको थियो । ‘पुँजीवादी कुकुर’ हरुलाई त्यसैगरी झुण्ड्याउने भन्दै उनीहरुले आतंक मच्चाएका थिए ।

प्रचण्डले एक लेखै लेखेर देङ स्याओपिङ आएपछिको चीन ‘संसोधनवादी’ र चीनमा माओधारा त्याग गरेर ‘प्रतिक्रान्ति’ भएको आरोप लाएका थिए ।

सन् २००५ फेब्रअरी ३ मा चीन सरकारको विदेश मन्त्रालयका तत्कालीन प्रवक्ता कोङ कुआङले माओवादीको आलोचना गरेका थिए । पत्रकारहरुको प्रश्नको उत्तर दिँदै उनले नेपाली माओवादीले नागरिक हत्यालाई जनयुद्ध भनेको भन्दै माओको नाम दुरुपयोग गरेकोमा आपत्ति जनाएका थिए ।

त्योभन्दा तीन वर्षअगाडि नै राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा २०५९ जेठ ८ मा संसद विघटन गरेको केही दिनपछि तत्कालीन नेपालका लागि अमेरिकी राजदूत माइकेल मालिनोस्कीसँग ‘सरकारविरोधी माओवादी’ विरुद्ध अन्तर्राष्ट्रिय सहकार्य हुनुपर्ने बताएका थिए । विकिलिक्स्ले यो संवाद सार्वजनिक गरेको छ ।

तत्कालीन नेपालका लागि चिनियाँ राजदूत वु चोङ्योङले नेपाली माओवादीको ‘हिंसा र आतंककारी क्रियाकलाप’को सार्वजनिक विरोध गरेका थिए । हालसालै आएको अमिसराज मुल्मीको पुस्तक ‘अल रोड्स लिड नर्थ’ मा यो प्रसंग लेखिएको छ ।

४. विचार र हतियार विसर्जन

विचार र हतियार विसर्जनमा गोन्जालो र प्रचण्डको लाइन मिल्छ । गोन्जालोले पक्राउ परेको एक वर्षपछि टेलिभिजनमा आएर हतियार बिसाउन आग्रह गरे । बहुसंख्यकले हतियार बिसाए । माओवाद पनि हतियारसहित पेरुको मूलधारको विद्रोहीबाट विसर्जन भयो ।

प्रचण्डले हतियार विर्सजन गर्न पक्राउ पर्नु परेन । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको २०६२–६३ सालको दोस्रो जनआन्दोलनपछि २०६३ मंसिर ५ गते भएको विस्तृत शान्तिसम्झौता हुँदै हतियार विसर्जनको बाटो खुला भएको थियो । २०६८ चैत्र २८ मा १०४ महिलासहित १४२२ माओवादी लडाकु योग्यताअनुसार नेपाली सेनामा समायोजन भए ।

आफ्नो देवत्वकरण गर्नमा गोन्जालो र प्रचण्डको तौरतरिका उस्तै छ । गोन्जालोले आफूलाई माक्र्स, लेनिन र माओपछिका साम्यवादी विचारका उत्तराधिकारी मान्थे ।

माओवाद विसर्जन गर्न पनि प्रचण्डले पटकपटक सार्वजनिक रुपमा भन्दै आएका छन् । २०७५ जेठ ३ गते भएको तत्कालीन नेकपा एमाले र माओवादीले घोषणा गरेको पार्टी एकतामा औपचारिक रुपमा माओवाद प्रचण्डले छोडेका थिए ।

अदालतले २०७७ फागुन २३ मा नेकपा एकता अवैधानिक भनेपछि पुनः प्राविधिक रुपमा प्रचण्ड माओवादी ब्राण्डमा फर्किएका हुन् । फेरि पनि माधव नेपाल, बाबुराम भट्टराई तथा उपेन्द्र यादव आदिसँग मिलेर ‘समाजवादी’ पार्टी बनाउने प्रचण्डको योजनाले माओवाद विचार विसर्जन निश्चित देखिन्छ ।

आन्दोलनको समयमा भनेका वैचारिक विसर्जन पनि गोन्जालो र प्रचण्डको समानता हो । गोन्जालो र प्रचण्ड दुवै संसदीय राजनीतिका विरोधी थिए ।

सन् १९८० मा भएको पेरुको चुनाव बहिस्कार गरेर गोन्जालो जंगल पसे । प्रचण्ड नेतृत्वको माओवादीको पहिलो पर्चा २०५२ फागुन १ गते जारी भयो । पर्चाको तेस्रो लाइनमा भनिएको थियो, ‘नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटामा अघि बढौं ।’

५. उस्तै सामाजिक र भौगोलिक परिस्थितिको आन्दोलन

गोन्जालो र प्रचण्डले दुई फरक महादेशका दुई फरक देशमा छेडेको युद्धका केही सामाजिक तथा भौगोलिक परिस्थितिहरु मिल्थे । पेरुका अधिकांश भागहरु दक्षिण अमेरिकी पर्वत शृङ्खला एन्डिजअन्तरर्गत पर्छन् । हिमाल शृङ्खलामा पर्ने नेपाल पनि मुलतः हिमाल र पहाडी क्षेत्रहरु भएको देश हो ।

पेरुमा राजधानी र मुख्य सहरमा बस्ने नागरिक र भित्री गाउँका दूरदराजमा बस्नेहरुको हैसियत व्यापक फरक थियो । त्यही असमानताको मुद्दा टेकेर गोन्जालोले सहरभन्दा अलग दुर्गम गाउँहरुबाट युद्ध छेडे । प्रचण्डले पनि रोल्पा र रुकुम क्षेत्रमा गोन्जालो शैलीमै आफ्नो आन्दोलन छेडे । पहाडी क्षेत्रहरु धेरै भएकोले गोन्जालो र प्रचण्ड दुवैलाई युद्धमा सजिलो भयो ।

६. युद्धमा सहभागी नहुने विलासी जीवन

हिंसात्मक आन्दोलन छेडेपनि गोन्जालो र प्रचण्ड दुवैले आफ्नै नेतृत्वमा भिडन्त गरेनन् । गोन्जालो देशभर हिंसा मच्चाउँदै राजधानी लिमाको एक डान्सबारदेखि माथिल्लो तल्लामा बसेका थिए । आफ्नी प्रेमिका एलिना इपारागिर्रेसँगै बस्थे उनी ।

उनलाई सन् १९९२ सेप्टेम्बर १२ मा त्यहींबाट पक्राउ गरिएको थियो । उनले जेलमै हुँदा एनिलासँग ७५ वर्षको उमेरमा बिहे गरेका थिए ।

प्रचण्ड युद्धको समयमा समेत बिलासी भएको पूर्वमाओवादी नेतृ हिसिला यमीले पुस्तकमा लेखेकी छिन् । भारतमा बस्दादेखि नेपालमै भूमिगत हुँदा पनि उनलाई राम्रो–राम्रो कुराहरु चाहिने संकेत हिसिलाले गरेकी छिन् ।

कतिसम्म बिलासी भने, माओवादीले बन्देज गरेको रक्सी स्वयं प्रचण्डले हरेक रात पिउने गरेको उनको दावी छ । युद्धमा प्रचण्ड सहभागी नभएको त उनको केही वर्ष अगाडि गान्धिसँगै तुलना गरेको भनाइबाट थाहा हुन्छ ।

७. आफ्नो देवत्व गर्न आफ्नै नामको विचार

आफ्नो देवत्वकरण गर्नमा गोन्जालो र प्रचण्डको तौरतरिका उस्तै छ । गोन्जालोले आफूलाई माक्र्स, लेनिन र माओपछिका साम्यवादी विचारका उत्तराधिकारी मान्थे । उनकै नाममा ‘गोन्जालो विचार’ बनाइएको थियो । त्यहीं विचार हरेक नेताकार्यकर्ताले आफ्ना राजनीतिक प्रशिक्षण तथा भाषणमा लिनुपर्ने नियत थियो ।

प्रचण्डले आफूलाई माक्र्स, लेनिन र माओपछिको महान नेता त भनेनन् । तर, महान अध्यक्ष तथा ‘प्रचण्डपथ’ नामक विचार भनेर नेता कार्यकर्तालाई प्रशिक्षण गराए । भित्ते लेखन गरे । प्रचण्डपथ नभन्ने र फरक मत राख्नेलाई पेल्न सुरु गरे । हिसिला यमीको विश्वप्रद्धित पेन्गुइन बुक्सले प्रकाशन गरेको ताजा पुस्तककमा यसको विस्तृत जानकारी छ ।

८. माओवादी आन्दोलनको सम्पूर्ण कमाण्ड गर्न असफल

आफ्नो नेतृत्वमा भएको माओवादी आन्दोलनमा सबै घटकलाई समेट्न गोन्जालो र प्रचण्ड दुवै असफल भए । गोन्जालोले सन् १९९३ मा हतियार बिसाउन आग्रह गर्दा धेरैले बिसाए । तर, सबैले बिसाएनन् ।

अहिले पनि गोन्जालोका रहलपहल साइनिङ पाथका कार्यकर्ताहरु ध्वंश मच्चाउन सक्रिय छन् । पेरुको पछिल्लो राष्ट्रपतीय चुनावी दौरानताका गत मे २३ को रातमा दुई बालबालिकासहित १६ जनाको बम पड्काएर हत्या भएको थियो ।

प्रचण्डले पनि अहिले माओवादी युद्धका महत्वपूर्ण नेताहरु बैद्य, बाबुराम, बादल, विप्लवदेखि गोपाल खम्बुसम्मलाई आफ्नै नेतृत्वमा गोलबन्द गर्न सकेनन् ।

प्रतिक्रिया

2 thoughts on “गोन्जालो र प्रचण्डका आठ समानताः दुवै पूर्वशिक्षक, दुवै विलासी

  1. जनबिद्रोह र नेतृत्वको निष्ठामाथी ओलीकोणीय कुतर्क।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर