एमालेमै फर्किए प्युठानका प्रभावशाली नेता रायमाझी, जबज छाड्न नसकिने प्रतिक्रिया
नेकपा एसमा लागेका सबैलाई फर्काउने प्रतिवद्धता


रूपन्देही । नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका प्युठानका पुराना नेता एवं संविधानसभा सदस्य धनबहादुर रायमाझी एमालेमै फर्किएका छन् । माधव नेपाल समूहको संगठन निर्माणमा लागेका उनी एकाएक एमालेमा फर्केपछि समाजवादीका नेताहरू आश्चर्यमा परेका छन् ।
उनलाई एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्मा नेतृत्वको टोलीसहित सरुमारानी गाउँपालिका उपाध्यक्ष मिनाकुमारी सोमैलगायतका नेता कार्यकर्ताले भेट गरेका थिए । नेता तथा कार्यकर्ता टोलीको भेटमा नेता रायमाझीले नेकपा एमालेको नीति तथा मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादलाई छोड्न नसकिने बताउँदै एमालेमा रहने स्पष्ट पारेका हुन् ।
‘जहाँ जबज छैन त्यहाँ कुनैपनि अर्थमा बस्न सकिँदैन’, रायमाझीले भने, ‘समाजवादीमा लागेका एक जनालाई पनि नछोडी मूल घरमै फर्काउनेछौं ।’ नेता रायमाझीले २०५९ देखि २०६५ सम्म एमाले प्यूठानको तत्कालीन पार्टी सचिवको रूपमा नेतृत्व गरेका थिए । उनी अहिले एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्य छन् ।
केही दिनभित्रै समाजवादीको जिल्ला कमिटीमा आवद्ध बहुसंख्यक सदस्यहरु मूल पार्टीमै फर्किन लागेको एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्माले दाबी गरे । पार्टीको नीति सिद्धान्त तथा वैचारिक बाटोमा कुनै मतभेत नभएकाले पार्टीको मूल नेतृत्वमै सबै गोलबन्द हुने अध्यक्ष शर्माले बताएका छन् । उनी एमाले उपाध्यक्ष युवराज ज्ञवालीको नजिक मानिन्छन् ।