सुदूरपश्चिम सरकार विस्तारको तयारी, तारा लामा अर्थमन्त्री बन्ने सम्भावना – Nepal Press

सुदूरपश्चिम सरकार विस्तारको तयारी, तारा लामा अर्थमन्त्री बन्ने सम्भावना

कैलाली । सुदूरपश्चिममा प्रदेश सरकार विस्तारका तयारी थालिएको छ । भदौ २२ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएपछि दुई मन्त्री नियुक्त भएका थिएनन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले पहिलो चरणमा आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त गर्ने तयारी थालेका हुन् । एमालेमै रहने भन्दै शाहले राजीनामा दिएको पदमा एमालेबाटै नेकपा एकीकृत समाजवादीमा गएका तारा लामा तामाङलाई ल्याउने तयारी भइरहेको छ ।

तामाङ पूर्वप्रमुख सचेतक थिए । बिहीबार नेकपा एसको संसदीय दलको बैठकले पनि सरकारमा कसलाई पठाउने भन्ने जिम्मा दलका नेता दीर्घ सोडारीलाई दिएको छ ।

‘सकेसम्म सहमतिकै आधारमा कसैलाई हामी सिफारिस गर्छौ ’नेकपा एसका एक सांसदले भने ‘तामाङ नै मन्त्री हुने सम्भावना बढी छ । ’

तर, कञ्चनपुरकै सांसद प्रकाश रावलले पनि अर्थमन्त्रीमा दाबी गरेको बुझिएको छ । सहमतिको आधारमा मन्त्री टुङ्गो लगाइने प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् ।

मुख्यमन्त्री भट्ट धनगढीमा नभएकाले बिहीबार मन्त्री नियुक्त हुन नसकेको जनाइएको छ। ‘मुख्यमन्त्री डोटी हुनुहुन्छ चाँडै फर्कनु भयो भने आजै मन्त्री नियुक्ति हुन सक्छ’ मुख्यमन्त्रीको सचिवालयले भन्यो ‘तामाङ नै मन्त्री बन्ने सम्भावना बढी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर