सांकेतिक रुपमा चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह – Nepal Press

सांकेतिक रुपमा चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सांकेतिक रुपमा चाडपर्व मनाउन काठमाडौंबासीलाई आग्रह गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बिहीबार एक आदेश जारी गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा चाड पर्व मनाउन आग्रह गरेका हुन् ।

‘शैक्षिक संस्थाले भौतिक उपस्थितिमा पठन पाठन गर्न र गराउन नपाउने । गर्नैपर्ने भएमा स्थानीय तहले विद्यालय सञ्चालन गर्नु पूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालक समितिका पदाधिकारी सबैले अनिवार्य रुपमा खोप लगाउनुपर्ने छ ।’ प्रमुख जिल्ला अधिकारी रिजालले जारी गरेको आदेशमा भनिएको छ ।

कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेको भन्दै अनावश्यक रुपमा घरबाहिर ननिस्कन, जम्मान नहुन, भीडभाड नगर्न, सभा जुलुस नगर्न, जात्रा महोत्सव, भोज आदि नगर्न आदेशमार्फत आग्रह गरिएको छ । स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजे र अपरान्ह ४ देखि ७ बजेसम्म गर्न नपाइने आदेशमा उल्लेख छ । सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भनिएको छ ।

यस्तै अभिभावक तथा सरोकारवालाको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न सक्ने आदेशमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर