प्रदेश १ र वागमतीको मुख्यमन्त्री नेकपा एसले पाउने सहमति भइसकेको माधव नेपालको खुलासा – Nepal Press

प्रदेश १ र वागमतीको मुख्यमन्त्री नेकपा एसले पाउने सहमति भइसकेको माधव नेपालको खुलासा

नेपालले भने- एक साताभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ, गठबन्धन तलमाथि हुन दिन्नौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा आफूहरुले दुई मुख्यमन्त्री र दुईजना प्रदेश प्रमुख पाउने सहमति भएको बताएका छन् ।

नेकपा एसको प्रचार विभाग र समाजवादी प्रेस संगठन आबद्ध नेताहरुसँगको छलफलमा अध्यक्ष नेपालले जसपाले एउटा प्रदेशको मुख्यमन्त्री र एउटा प्रदेश प्रमुख पाउने सहमति भएको बताए । मुख्यमन्त्री यसअघि नै प्रदेश २ मा जसपाले पाइरहेको छ ।

नेपालले भने, ‘हामीले दुई मुख्यमन्त्री र दुई प्रदेश प्रमुख पाउने हो । प्रदेश १ र वागमतीमा हाम्रै साथीहरु मुख्यमन्त्री बन्नु हुन्छ । सरकार गठबन्धनको हुन्छ । यसमा कुनै तलमाथि छैन ।’

प्रदेश १ मा राजेन्द्र राई र वागमतीमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने नेकपा एसको तयारी छ । तर कांग्रेसले पनि वागमतीमा मुख्यमन्त्री दावी गरेको छ ।

अध्यक्ष नेपालले संघीय सरकारमा पनि एक साताभित्र मन्त्रिपरिषद् विस्तार भइसक्ने भन्दै आफ्नो तर्फबाट कुनै बाधा नरहेको बताएका थिए । कार्यक्रममा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, नेता विरोध खतिवडा, जीवनराम श्रेष्ठ लगायतका नेता सहभागी थिए ।

नेकपा एसले बरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा समाजवादी प्रेस संगठन गठन गरेको छ । यसको दर्ता प्रक्रिया चलिरहेको जानकारी बैठकमा दिइएको थियो । तत्कालीन प्रेस चौतारीका उपाध्यक्ष विश्वमणी सुवेदी, नरेन्द्र साउदसहितको एउटा टिम समाजवादी प्रेस संगठनमा आबद्ध भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर