सबै सदस्यले भोट हाल्न पाउनुपर्छ : एनआरएनए उपाध्यक्ष थापा – Nepal Press

सबै सदस्यले भोट हाल्न पाउनुपर्छ : एनआरएनए उपाध्यक्ष थापा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) वर्तमान उपाध्यक्ष रबिना थापाले सबै सदस्यले मतदान गर्न पाउनुपर्ने बताएकी छिन् । नेपाल प्रेसलाई इमेलमार्फत उनले पठाएको विवरणमा संघका १ लाख ५ हजार सदस्य सबैले मताधिकार प्रयोग गर्न पाउनुपर्ने जनाइएको छ ।

थापाले एनआरएनको आगामी अध्यक्षमा दावी गरेकी छिन् । कोरोना महामारीको कारण एनआरएनले आगामी चुनाव भर्चुअलरुपमा आयोजना गर्दैछ तर, परराष्ट्र मन्त्रालयको हस्तक्षेपको कारण चुनाव निश्चित समयमै हुने वा नहुनेमा अन्यौल कायमै छ ।

तस्बिर सहितको इमेल भोटिङ गर्न पाउने व्यवस्था मिलाइएपनि १ लाख ५ हजार जना सदस्यले नै भोटिङ गर्न नपाउने भएकाले सबैलाई मताधिकारको सुनिश्चित गर्न थापाले माग गरेकी हुन् । अहिले डेलिगेट्स (प्रतिनिधि) चयनकै विषयमा विवाद छ ।

प्रतिनिधि छनौट गर्ने परम्पराकै कारण गैरआवासीय नेपाली सङ्घको चुनावमा विवाद हुने गरेको थापा बताउँछिन् । सङ्घमा सुरुदेखि नै सदस्य सबैले नेतृत्वमा दाबी गर्ने र मतदान गर्न पाउने अधिकारका लागि आवाज उठाउँदै आएको उनको भनाई छ ।

‘यो पटक सबैले मतदान गर्ने व्यवस्था गर्ने उपयुक्त समय हो,’थापाले भनिन्,‘आफू बसेकै ठाउँबाट आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने अवसरबाट वञ्चित गराउनु मानवअधिकार विपरीतको काम हुन्छ।’ सङ्घको नवौँ महाधिवेशनसम्म जस्तो प्रतिनिधि चुनिएर नेपाल आउने र नेतृत्व चयन गर्नुपर्ने अवस्था यो पटक नरहेकाले सङ्घका सबै सदस्यले मतदान गर्न पाउनुपर्ने आवाज उठाइरहेको उनले बताइन् ।

‘प्रतिनिधि छनौट गर्दा धेरै विकृति देखा परेका छन्’ उनले भनिन्, ’भविष्यमा त्यस्ता विकृति रोक्न पनि यो पटक सबै सदस्यले भोट दिन पाउने व्यवस्था गर्नुपर्छ ।’ नेपालको सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारबाट वञ्चित नगर्न सरकारमा नाममा आदेश नै दिइसकेको बारे पनि उनले ध्यानाकर्षण गराएकी छिन् ।

‘विदेशमा बसोबास गरेका हामी नेपाली स्वदेशमा हुने चुनावमा मतदान गर्न पाउनुपर्ने भनिरहेका छौं’ थापाले भनिन्, ‘विदेशमा रहेका नेपालीको संस्थामा चाही कसैले पाउने र कसैले भोट दिन नपाउने व्यवस्था न्यायोचित हुन्छ त?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर