निक्षेप र कर्जाको व्याजदर बढाउने होडमा बैंकहरू, कसको कति पुग्यो ? (सूचीसहित) – Nepal Press

निक्षेप र कर्जाको व्याजदर बढाउने होडमा बैंकहरू, कसको कति पुग्यो ? (सूचीसहित)

काठमाडौं । तरलता अभाव शुरू भएसँगै असोज महिनाका लागि बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाको व्याजदर बढाएका छन् । वाणिज्य बैंकहरूले साधारण बचत र मुद्दती खाता दुवैको व्याजदर बढाएका हुन् ।

अधिकांस बैंक तथा वित्तीय संस्थाले मुद्दती खातातर्फको व्याजदर बढाएर करिब १० प्रतिशत पुर्‍याएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत रेमिटान्सबाट प्राप्त हुने रकमलाई बचतमा प्रोत्साहन गर्नका लागि थप अतिरिक्त १ प्रतिशत व्याजदर दिनुपर्ने व्यवस्था गरेको छ । उक्त १ प्रतिशत व्याजदरसहित बाणिज्य बैंकहरूले दोहोरो अंकमा मुद्दतीको व्याजदर कायम गरेका छन् ।

स्टाण्डर्ड चार्टर्ड, नेपाल एसवीआई, हिमालयन बैंक लगायतका केही बैंकहरूले व्याजदरमा खासै ठूलो परिवर्तन गरेका छैनन् । यसबाहेक अन्य सबै बैंकहरूले व्याजदर बढाएका हुन् । भदौ महिनाको तुलनामा बाणिज्य बैंकहरूले औसत १-२ प्रतिशतसम्म व्याजदर बढाएका छन् ।

व्याजदर बढाएकाले वाणिज्य बैंकहरूको कस्ट अफ फण्ड पनि बढ्ने भएकाले आधारदर पनि परिवर्तन हुने संभावना निकै उच्च देखिन्छ ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव हुन थालेपछि बैंकहरूबीच निक्षेप खोसाखोस गर्नुपर्ने अवस्था छ । त्यसैले व्याजदर बढाउन उनीहरू उद्यत भएका हुन् । कर्जाको मागको तुलनामा निक्षेप कम संकलन हुँदा तरलताको दबाब देखिएको हो । बजारमा तरलताको समस्या देखिन थालेपछि नेपाल राष्ट्र बैंकले पछिल्लो ‘ओपन मार्केट अपरेसनमार्फत’ दुई सातामा दुईपटक गरी करिब ५० अर्ब रुपैयाँ तरलता पठाएको छ । बजारमा तरलताको अभाव देखिन थालेपछि बैंक तथा वित्तीय संस्थाले अन्तर बैंक सापटी र ‘एसएलएफ’ लिने क्रम तीव्ररूपमा बढेको छ ।

साउन महिनाको पहिलो सातामा नेपालको बैंकिङ प्राणलीमा करिब ३७ अर्ब ३७ करोड रूपैयाँ तरलता रहेकोमा भदौ ३० गतेसम्ममा घटेर २० अर्ब रूपैयाँ रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

‘हिजोसम्ममा करिब २० अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीमा रहेको छ’, उनले भने, ‘तरलता कम हुँदाको प्रभाव व्याजदरमा परेको देखिन्छ । अधिकांस बैंकहरूले व्याजदर १ देखि २ प्रतिशतसम्म बढाएका छन्,’ ढकालले भने ।

तरलता व्यवस्थापन गर्नका लागि अन्तरबैंक सापटीको माग बढेकाले अन्तर बैंक व्याजदर ०.९१ प्रतिशतबाट बढेर ४. ८६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले अन्तर बैंक व्याजदर ५ प्रतिशतको सीमा तोकेको छ । यसैगरी नेपाल राष्ट्र बैंकमार्फत पनि बैंक तथा वित्तीय संस्थाले राखेको एसएलआर, बचत पत्र, ऋणपत्र, सरकारी प्रत्याभूतिका आधारमा एक साताका लागि एसएलएफ अर्थात सापटी लिन पाउने व्यवस्था रहेको छ ।

भदौ २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाले १४४ पटक एसएलएफबाट २ खर्ब ६० अर्ब रुपैयाँ सापटी उपयोग गरेका छन् । एसएलएफमार्फत लिएको सापटीवापत नेपाल राष्ट्र बैंकलाई ५ प्रतिशत व्याज तिर्नुपर्ने हुन्छ भने यस्तो सापटी १ साताका लागि उपयोग गर्न सक्छन् ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार औषत कर्जाको व्याजदर ८.५३ प्रतिशत रहेको थियो । तर अब कर्जाको व्याजदर १० प्रतिशतभन्दा माथि पुग्ने देखिएको छ ।

कुन बैंकको व्याजदर कति बढ्यो ?

असोज महिनाका लागि प्रकाशित भएको व्याजदर मुद्दतीतर्फ सबैभन्दा धेरै ग्लोबल आईएमई बैंक, सनराइज बैक, सानिमा बैंकले बढाएका छन् । ग्लोबल आईएमई बैकले मुद्दतीको व्याजदर करिब १०.५ प्रतिशत तोकेको छ । यसैगरी सनराइज बैंकले १०.०७ र सानिमा बैंकले १०.०१ प्रतिशतसम्म व्याजदर कायम गरेका छन् ।

अन्य बैंकहरूले ८ देखि ९.५ प्रतिशतको हाराहारीमा व्याजदर कायम गरेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक, कृषि बिकास बैंक, राष्ट्रिय वाणिज्य बैंकहरूले व्याजदरमा खासै ठुलो परिवर्तन गरेका छैनन् । अधिकांश बैंक तथा वित्तीय संस्थाले साउन महिनाको आधारदर सार्वजनिक गरेका छन् ।

रेमिटान्समार्फत प्राप्त हुने बचतका लागि साधारण तथा मुद्दती दुवैको व्याजदर बैंकहरूले १ प्रतिशतले बढाएका छन् । रेमिटान्समार्फत प्राप्त भएको प्रमाणसहित बैंक खाता खोली रकम जम्मा गरेमा निक्षेपकर्ताले साधारणतर्फ ५ देखि ६ प्रतिशत र मुद्दतीमा १० प्रतिशतभन्दा बढी व्याजदर पाउने देखिन्छ ।

व्याजदर बढाएकाले वाणिज्य बैंकहरूको कस्ट अफ फण्ड पनि बढ्ने भएकाले आधारदर पनि परिवर्तन हुने संभावना निकै उच्च देखिन्छ ।

किन भयो तरलता अभाव ?

विगतमा आर्थिक वर्षको पहिलो तीन महिनासम्म व्याजदरमा खासै समस्या नहुने भए पनि केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत निक्षेप जोड कर्जा पुँजी ‘सीसीडी’ अनुपात हटाएर निक्षेप कर्जा ‘सीडी’ ९० प्रतिशत कायम गरेपछि तरलतामा दबाब परेको थियो । पछिल्लो समयमा १७ भन्दा बढी वाणिज्य बैंकहरूको सीडी अनुपात ९० प्रतिशत पुगिसकेकाले निक्षेप नबढाइकन कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

व्याजदर वृद्धिको असर नेपालको सेयर बजारमा पनि पर्ने संभावना उच्च रहेको छ । अध्यादेशमार्फत आएको बजेटको अन्योल र संसदबाट प्रतिस्थापन विधेयक समयमा नै पारित हुन नसक्दा सरकारी खर्च प्रभावित भयो । सरकारले यसबीचमा तीव्ररूपमा राजस्व भने उठाइरहेको छ ।

केन्द्रीय बैंकले कोभिड १९ को संक्रमण शुरू भएपछि सीसीडी अनुपात ८० बाट बढाएर ८५ प्रतिशत पुर्‍याएको थियो । नेपाल राष्ट्र बैंकले वासेल ३ लाई कार्यान्वयन गर्ने भन्दै सीडी अनुपात प्रचलनमा ल्याएकाले नै तरलतामा चाप परेको बैंकर्सले बताउने गरेका छन् ।

व्याजदरमा भएको वृद्धिले उत्पादनशील क्षेत्रसहित अन्य क्षेत्रमा समेत बहुआयामिक प्रभाव पार्ने देखिन्छ । यसबाट मुल्यवृद्धिमा दबाब पार्ने अर्थविद्हरू बताउँछन् । यसै वर्ष नेपालका बैंक तथा वित्तीय संस्थाले करिब ९ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । अधिकांश कर्जा वस्तु आयातमा खर्च भएको थियो । यसैगरी सेयर कर्जा, घरकर्जा, सवारी कर्जाजस्ता अनुत्पादनशील क्षेत्रमा प्रवाह भएकाले उत्पादन नबढ्दा तरलतामा दबाब परेको हो ।

व्याजदर वृद्धिको असर नेपालको सेयर बजारमा पनि पर्ने संभावना उच्च रहेको छ । अध्यादेशमार्फत आएको बजेटको अन्योल र संसदबाट प्रतिस्थापन विधेयक समयमा नै पारित हुन नसक्दा सरकारी खर्च प्रभावित भयो । सरकारले यसबीचमा तीव्ररूपमा राजस्व भने उठाइरहेको छ । राजस्व संकलन गरेर ढुकुटीमा राख्ने तर खर्च हुन नसक्ने प्रवृत्तिका कारण तरलतमा समस्या भएको हो ।

हेर्नुस् सूची :

बैंक आधार दर (%) साधारण निक्षेप (%) मुद्दती (%)
एनआइसी एसिया ६.८४ ३.६ ८.६
हिमालयन बैंक ६.५५ ४.१५-६.१५ ५ -८.५०
एभरेष्ट बैंङ्क ५.८५ ३.६१-४ ७ -८.६१
नेपाल एसबिआई बैंक ७.३७ ३.५५ ४.०५ -८.५५
स्टाण्डर्ड चार्टड बैंक ५.५१ २.७५ – ४ ३ – ७.५
सेन्चुरी बैंक ७.५५ ४.२५ – ६.२५ ८ – ९.२५
एनएमबी बैंक ६.८४ ४.५२-६.५२ ७.५०-९.५२
नेपाल इन्भेष्टमेन्ट बैंक ५.७१ ४.०२ ९.०२
सानिमा बैंक ६.१४ ४.५१ – ५ ७ -१०.०१
नविल बैंक ५.५२ ४.२६-६.२६ ७.५१ – ९.०१
सिटिजन बैंक इन्टरनेशनल ७.८४ ३ – ५ ७.५-८
प्राइम कमर्सिएल बैंक ७.२१ ४.७६-५.७६ ८-९.५०
सनराइज बैंक ७.०१ ५.०७ ९. १० – १०.०७
मेगा बैंक ६.४८ ५.०५-६.०५ ८-९.५५
नेपाल बंङलादेश बैंक ७. ४१ ३.७६ – ४.७६ ८.५१- ८.७६
सिद्धार्थ बैंक ६.८३ ४.०५-५.०५ ८.२५ – ९.०५
ग्लोबल आइएमई बैंक ६.६० ४.५० ८.८०-१०.५०
बैंक अफ काठमान्डू ७.३० ३.७७-५.२७ ६.२७-८.७७
लक्ष्मी बैंक ७.०८ ४-६
एनसीसी बैंक ७.५७ ४.२६-५ ६.५ – ९
सिभिल बैंक ७.७९ ४.२५-६.२५ ७.२५-९.२५
प्रभु बैंक ७.१० ३.२५-५ ६.७५-८.२५
माछापुच्छ्रे बैंक ६.८० ३.७५-५ ७.५०-८.७५
कृषि बिकास बैंक ७.४९ ३.५-५ ६-८.६०
कुमारी बैंक ७.६७ ३.१५-५.१५ ८.१५
राष्ट्रिय बाणिज्य बैंक ५.४१ ३.०६-६ ६-९.०६
नेपाल बैंक लिमिटेड ५.७३ ३.०५-४.५५ ८.०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर