नेपालको विकासमा प्रत्यक्ष विदेशी लगानीको भूमिका महत्वपूर्ण: राजदूत पिलोट – Nepal Press

नेपालको विकासमा प्रत्यक्ष विदेशी लगानीको भूमिका महत्वपूर्ण: राजदूत पिलोट

काठमाडौं । नेपालमा प्रत्यक्ष विदेशी लगानी अभिवृद्धिका लागि बेलायती राजदूतावासले सहयोग गर्ने भएको छ । नेपाल लगानीका लागि उपयुक्त वातावरण भएको भन्दै नेपालस्थित बेलायती राजदूतावासले विदेशी लगानी बढाउन सहयोग गर्ने बताएको हो ।

नेपाल उद्योग परिसंघसँगका पदाधिकारीसँगको छलफलमा नेपालस्थित बेलायती राजदूत निकोला पिलोटले नेपालमा व्यावसायिक वातावरण सुधार गरी विदेशी लगानी आकर्षित गर्न सकिने भन्दै बेलायती लगानीकर्ता नेपाल भित्र्याउन आफूले पहल गर्ने बताएका छन् । ‘नेपालको विकासमा प्रत्यक्ष विदेशी लगानीले महत्वपूर्ण भूमिका खेल्न सक्छ,’ उनले भने ।

राजदूत पिलोटले आउँदा दिन वातावरणीय परिवर्तनका दृष्टिकोणले चुनौतिपूर्ण हुने बताए । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि निजी क्षेत्रले काम गर्न सक्ने पनि उल्लेख गर्दै ‘हरित ऊर्जा प्रवद्र्धनका लागि निजी क्षेत्रले काम गर्न सक्छ,’ राजदूत पिलोटले जानकारी दिए ।
कोभिड – १९ को नकारात्मक प्रभाव आम जीवन र उद्योग व्यवसायमा परेको भन्दै उनले मानवीय र विकास सहायताको क्षेत्रमा बेलायतले नेपाललाई महत्वपूर्ण सहयोग गरेको उल्लेख गरे ।

भेटका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा एकातर्फ बेरोजगारीको समस्या रहेको र अर्कोतर्फ सीपयुक्त जनशक्तिको अभाव रहेको भन्दै सीपयुक्त जनशक्ति विकास आजको आवश्यकता रहेको बताए ।

नेपालको कूल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कमजोर रहेको विद्यमान परिस्थितिमा परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान सुरुवात गरेको अध्यक्ष अग्रवालले बताए । उनले औद्योगिक विकास, निर्यात प्रवद्र्धन, रोजगारी सिर्जना र स्वदेशी वस्तुको उपभोग अभिवृद्धि मुख्य लक्ष्य राखेर अघियान अघि बढाइएको उल्लेख गरे ।

अध्यक्ष अग्रवालले परिसंघले स्टार्ट अप प्रवद्र्धनका लागि सरकारसँग निरन्तर संवाद गरिरहेको भन्दै साना व्यवसायलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *