संखुवासभा प्रहरीले भन्यो- मादी हत्याकाण्डमा थप कोही पक्राउ परेका छैनन् – Nepal Press

संखुवासभा प्रहरीले भन्यो- मादी हत्याकाण्डमा थप कोही पक्राउ परेका छैनन्

काठमाडौं । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ, खोलागाउँमा एकै परिवारको ६ जनाको सामूहिक हत्या आरोपमा थप कोही पक्राउ नपरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले केही बेरअघि प्रेस विज्ञप्तिमार्फत घटनामा थप व्यक्ति पक्राउ गरेको भन्दै केही मिडियामा प्रकाशित समाचार गलत भएको प्रष्ट्याएको हो । संखुवासभा प्रहरी प्रवक्ता इन्स्पेक्टर शुभेश अधिकारीले समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

घटनामा नयाँ ट्वीस्ट भन्दै थप एकजना पक्राउ परेको र लोकबहादुरको घरमा मृतकमध्ये एकजनाको मोबाइल भेटिएको भन्दै समाचार आएपछि जिल्ला प्रहरी कार्यालयले विज्ञप्ति निकालेको छ ।

‘प्रहरीले घटना भएको दिनबाटै घटनास्थलमा बसी अनुसन्धान गरिरहेको र हाल ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक योगराज खतिवडाको कमाण्डमा खटिएको १० जना प्रहरी टोलीले सो घटना सम्बन्धमा खानतलासी, सोधपुछ, प्रमाण संकलन लगायतको कार्यहरु गरिरहेको छ’, जिल्ला प्रहरी कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘यस घटना सम्बन्धमा प्रहरीले थप कोही कसैलाई नियन्त्रणमा नलिएको कुरा सबैमा जानकारी गराईन्छ।’

प्रहरी निरीक्षक अधिकारीले अनुसन्धानको क्रममा केही व्यक्तिलाई सामान्य सोधपुछ गर्ने कुरा सामान्य भए पनि पक्राउ गरेको र मोबाइल बरामद भएको कुरा गलत भएको बताए । ‘मुद्दासम्बन्धी प्रमाणहरू संकलन गर्ने क्रममा सोधपुछ सामान्य प्रक्रिया हो । अनुसन्धानमा संलग्नहरूले गाम्भिर्यताको आधारमा पछि पक्राउ पनि गर्न सक्छन् । या साक्षीमात्र पनि हुनसक्छ नि’, अधिकारीले नेपाल प्रेससँग भने ।

९० वर्षीय बुद्धमान कार्कीको परिवारका उनीबाहेक ६ सदस्यको भदौ २१ गते हत्या भएको थियो । प्रहरीले हत्यामा संलग्न भतिजा नातेदारका लोकबहादुर कार्कीलाई पक्राउ गरी कारवाही अघि बढाइसकेको छ । लोकबहादुरले आफूले हत्या गरेको स्वीकार गरिसकेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *