त्यो मध्यरात १ बजे ओलीलाई के भनेर बिदा भएका थिए सोम पाण्डे ? – Nepal Press

त्यो मध्यरात १ बजे ओलीलाई के भनेर बिदा भएका थिए सोम पाण्डे ?

काठमाडौं । कानूनीरूपमा एमालेमै रहेका तर राजनीतिक रुपमा नेकपा एकीकृत समाजवादीमा सक्रिय भएका नेता सोमप्रसाद पाण्डेले पार्टी विभाजनको अन्तिम मध्यरातमा आफू बालकोटबाट फर्किँदा अब ‘एकताको लागि वातावरण बनाएर आउँछु’ भन्दै केपी ओलीसँग बिदा भएको खुलासा गरेका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै प्रतिनिधिसभा सदस्य तथा एमालेका तत्कालीन केन्द्रीय सदस्य पाण्डेले भदौ ८ गते राति १ बजेसम्म आफू र रघु पन्त ओलीलाई मनाउन बालकोटमा बसेको बताए । माधव नेपाललाई पार्टीमै अड्याउन आफ्नो प्रयास सफल नभएपछि आफू एमालेमा नरहने जानकारी दिएर हिँडेको र अध्यक्ष ओलीले ‘त्यस्तो गल्ती नगर्न’ आफूलाई आग्रह गरेको पाण्डेले सुनाए ।

उनले भने, ‘हामी माधव नेपालको प्रतिनिधि भएरै तीनवटा प्रस्ताव लिएर गएका थियौं, राति १ बजेसम्म म बालकोटमै थिएँ र त्यसदिन निर्वाचन आयोगमा दल विभाजनका लागि गएको थिइन । तर, अन्तिममा मैले लौ मैले माधव नेपाललाई साथ दिनुपर्ने भयो, अब एकताको लागि वार्ता गर्न तपाईंसँग फेरि आउँछु भनेर हिँडेको हुँ ।’

के थिए त माधव नेपालका अन्तिम तीन सर्त ? नेपाल प्रेसको जिज्ञासामा पाण्डेले यसरी बुँदागतरूपमा सुनाए ।

१. माधव नेपालसहित १४ सांसदमाथिको कारवाही फिर्ताको पत्र भदौ ९ गते दिउँसो १ बजेसम्म संसद सचिवालयमा पठाउने

२. एमाले सम्पूर्णरूपमा जेठ २ मा फर्किने प्रतिबद्धता ओलीले मिडियाबाट बोल्ने

३. माधव नेपाललाई सम्मानजनक रूपमा पार्टीमा स्पेस दिन कुनै न कुनै परिभाषित जिम्मेवारी उल्लेख गर्ने (हस्ताक्षरसहितको)

पाण्डेले भनेका ओलीलाई भनेका थिए, ‘यी कुरा तपाईंले मान्नुस, माधव नेपाललाई मेरै गाडीमा हालेर ल्याउँछु र विभाजनबाट रोक्छु ।’

तर, अध्यक्ष ओलीले कारवाही फिर्ता नहुने भनेपछि आफू बिदा भएर हिँडेको तर पार्टी एकताको लागि वातावरण बनाएर आउँछु भन्दै बिदा भएको उनले जानकारी दिए ।

‘मलाई हिँड्ने बेलामा पनि उहाँले सोम कमरेड त्यो गल्ती (पार्टी छाड्ने) नगर्नुस् है भन्नुभएको थियो तर मैले माधव नेपाललाई साथ दिनुपर्ने भयो’ पाण्डेले अन्तिम रातको संवाद सुनाउँदै भने ।

एमाले विभाजन हुनुमा अध्यक्ष केपी ओलीभन्दा पनि दोस्रो तहका केही नेता र माधव नेपाल पक्षका पनि दोस्रो पुस्ताका दुई तीन जना नेताको भूमिका रहेको आरोपसमेत पाण्डेले लगाए ।

पाण्डे एकताको पक्षमा लागेकै कारण दल विभााजनको निवेदनमा उनको हस्ताक्षर थिएन । त्यहीकारण भदौ ९ गते सनाखतका लागि जाँदा निर्वाचन आयोगले उनको सनाखत लिएन ।

पाण्डे र राष्ट्रियसभा सदस्य शारदा भट्ट नेकपा एसमा जान पाउँ भनेर अदालत गए । अदालतले उनीहरूलाई नेकपा एस रोजेका आधारमा कुनै कारवाही नगर्न अन्तरिम आदेश दिएको छ ।

तर, मुद्दाको फैसला नहुन्जेल उनीहरूमाथि कारवाही गर्नमात्र रोकेको तर उनीहरूको हैसियत साविककै दलको हुने सर्वोच्चकै अधिकारीहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर