ओलीलाई सुन्न रुपन्देहीमा यसरी ओइरिए कार्यकर्ता (तस्वीरहरु) – Nepal Press
ओलीलाई सुन्न रुपन्देहीमा यसरी ओइरिए कार्यकर्ता (तस्वीरहरु)
रामप्रसाद आचार्य २०७८ भदौ ३० गते १९:४४
२०७८ भदौ ३० गते १९:४४

रुपन्देही । अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा एमालेले आज रुपन्देहीमा कार्यकर्ता भेला गर्दै एकताको सन्देश दिने प्रयास गरेको छ । भेलामा देखिएको उत्साहजनक उपस्थितिले जिल्लाका नेता-कार्यकर्ता हौसिएका छन् ।

सोचेभन्दा बढी सहभागिता भएपछि स्थानीय आयोजकलाई व्यस्थापन गर्न हम्मेहम्मे परेको थियो । ‘कार्यकर्ता भेला’ भनिए पनि उपस्थितिको हिसाबले यो आमसभाभन्दा कम थिएन । अध्यक्ष ओलीको भाषण सुन्न विभिन्न जिल्लाबाट ठूलै संख्यामा कार्यकर्ता र समर्थकहरु ओइरिएका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै ओलीले पार्टी विभाजनबाट ठूलो असर नपरेको दावी गरे ।

उनलेउ भने, ‘एमालेको पिलो निचोरिएको हो, दुःख मनाउ गर्नुपर्दैन, खुलेर नाच्नुहोस् ।’

केही दिनअघि रुपन्देही आएका एमाले उपमहासचिव विष्णु पौडेलले पत्रकारहरुसँग भनेका थिए, ‘भदौ ३० गते घनश्याम भुसालको हंसमुहार लिएर आउनेछु, तपाईंहरुले राखेका प्रश्नको आफै उत्तर पाउनुहुनेछ ।’

नेकपा एमालेमा तिव्र विवाद रहेका बेला रुपन्देही जिल्लावासी उपमहासचिवद्वय पौडेल र भुषाल दुई विपरित खेमामा थिए । पार्टीमा एकता कायम भएसँगै उनीहरु पनि एउटै विन्दूमा आइपुगेपछि जिल्लाको एमालेपंतिमा उत्साह छाएको छ । आज पौडेल र भुषालले एउटै मञ्चबाट सम्वोधन गर्दै विभाजनको रेखा मेटिएको सन्देश दिन खोजे ।

बुटवल उपमहानगरपालिकाको वडा नं ११ स्थित बगरमा आयोजना गरिएको सो कार्यक्रममा अनुमान गरेभन्दा २० प्रतिशत धेरै कार्यकर्ताहरु स्वतस्फूर्त आएको प्रचार विभाग प्रमुख मोहन चापागाईको भनाइ छ । बुधबारको सहभागिताले रुपन्देहीमा एमाले विभाजनको पक्षमा कोही छैन भन्ने सन्देश दिएको उनले बताए । १६ पालिका रहेको रुपन्देहीमा करिब २२ हजार सदस्य रहेकोमा उनीहरु सबै एमालेमा प्रतिवद्ध रहेको भेलाबाट पुष्टि हुनेसमेत उनले बताए ।

रुपन्देहीबाट प्रतिनिधित्व गरी पटक-पटक मन्त्री बनेका उपमहासचिव पौडेलले भने, ‘एमालेको आन्तरिक कार्यक्रम गर्नका लागि पनि चौरको आवश्यकता पर्यो, यो आमसभा होइन कार्यकर्ता भेला हो । यहाँको सहभागिता हेर्नुहोस् अनि रुपन्देहीमा एमालेको अवस्था जान्नुहोस्, मैले पत्रकार साथीहरुलाई अनुरोध गरेको छु ।’

अर्का उपमहासचिव घनश्याम भुसालले एमाले विभाजनको पक्षमा कोही नभएको सन्देश आजको सभाले दिएको बताउँदै यसअघिको वर्चश्व आउने चुनावमा राख्न सबै प्रतिवद्ध भएको उल्लेख गरे ।

मौसमका कारण निर्धारित समयभन्दा साढे दुई घन्टा ढिलो शुरु भएको कार्यक्रममा एमाले अध्यक्ष ओली प्रवेश गरेसँगै कार्यकर्ताले ‘ओली बा हाइहाई’, ‘आज होइन भोलीलाई दश वर्ष ओलीलाई’, ‘ओली बा आइ लभ यु’ भन्दै हुटिङ गरेका थिए ।

कार्यक्रममा माओवादी त्यागेर एमालेतिर लागेका टोपबहादुर रायमाझी, गिरीधारीलाल न्यौपाने, दधिराम न्यौपाने, अनुप बराल लगायतका नेता सहभागी थिए । टोपबहादुर रायमाझीले आक्रामक भाषण गर्दा कार्यकर्ताले निरन्तर हुटिङ गरेका थिए ।
अपेक्षा गरिएभन्दा धेरै मान्छेहरु आएपछि व्यवस्थापनमा चुनौती भएको व्यवस्थापनमा खटिएका युवा नेता राजेन्द्र ढकालले बताए ।





















तस्बिरहरु: राजन काफ्ले ।