बज्जिकाको कथा सुनाउँदै घनश्यामको दावी- एमाले हराउने शक्ति छैन, २०७४ कै वर्चश्व फर्काउँछौं (भिडिओ) – Nepal Press

बज्जिकाको कथा सुनाउँदै घनश्यामको दावी- एमाले हराउने शक्ति छैन, २०७४ कै वर्चश्व फर्काउँछौं (भिडिओ)

बुटवल । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एमाले जिम्मेवार भूमिकामा रहनु पर्ने भन्दै मात्तिने छुट नभएको बताएका छन् । अध्यक्ष केपी ओली उपस्थित रुपन्देहीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले एमालेको भूमिका जिम्मेवार हुनुपर्ने बताए ।

डेढ वर्षअघिको नेकपालाई सम्झिँदै भुसालले आज नेकपामात्र होइन एमालेसमेत विभाजित भएकोले लोकतान्त्रिक स्थिरता हुन्छ भन्ने जनताको विश्वासमा खेलवाड भएको बताए ।

भुसालले भने, ‘हामी आज हामी कहाँ छौं ? एमालेसमेत विभाजित भएको छ । डेढ वर्ष अगाडि हामी त्यहाँ थियौं आज यहाँ छौं । आज पनि एमाले सबै भन्दा ठूलो पार्टी भएकाले कमजोरी गर्ने र उत्ताउलो हुने छुट हामीलाई छैन ।’

एमालेले आफैंभित्र पनि हरबखत न्याय र समानता कायम गर्न सक्नु पर्ने भन्दै भुसालले आन्तरिकरूपमा लोकतान्त्रिक हुन नसके मुलुकको नेतृत्व गर्न नसक्ने बताए । जति बढी कार्यकर्तालाई न्याय र समानता दिन सक्छौं त्यति नै मुलुक र जनतालाई न्याय गर्न सकिने भन्दै भुसालले एमालेभित्र कुनै व्यक्तिको पदभन्दा पनि अधिकार मागिएको बताए ।

भुसालले गौतम बुद्धको पालाका लुम्बिनी क्षेत्रकै राजा अजात शत्रुले बज्जिकामाथि आक्रमण गर्नुभन्दा पहिले बुद्धसँग सल्लाह लिएको उदाहरण दिँदै बज्जिकाहरू एकजुट भएर शत्रुमाथि आक्रमण गर्ने र कसैले परास्त नगर्ने जानकारी पाएपछि आक्रमणबाट पछि हटेको कथा सुनाए ।

उनले भने, ‘बुद्धकै पालादेखि गणराज्यको कुरा थियो । बज्जिकाहरुमा आन्तरिक लोकतन्त्र भएकाले जस्तासुकै ठूला शक्तिलाई पनि झुकाए । हामी पनि आन्तरिक लोकतन्त्र बलियो बनाउँदै गयौं भने यो धर्तिमा, यो मुलुकमा एमालेलाई हराउने शक्ति छैन, हामी फेरि पनि २०७४ सालकै वर्चश्वमा फेरि पनि फर्काउँछौं । हामीले जान खोजेको त्यसरी नै हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर