१२ कक्षाको परीक्षा दिन जाँदाजाँदै करिश्माले भनिन्- सबै भाइबहिनीलाई शुभकामना छ (भिडिओ) – Nepal Press

१२ कक्षाको परीक्षा दिन जाँदाजाँदै करिश्माले भनिन्- सबै भाइबहिनीलाई शुभकामना छ (भिडिओ)

काठमाडौं । आजबाट सुरु भएको कक्षा १२ को वार्षिक परीक्षामा सहभागी करिब ३ लाख ७४ हजार परिक्षार्थीहरुमध्येकि एक हुन्, चर्चित अभिनेत्री करिश्मा मानन्धर । बिहानको सिमसिमे झरीमा छाता ओढेर परीक्षा हलतर्फ लम्किँदै गर्दा उनी हाम्रो क्यामरामा कैद भइन् ।

मुखमा मास्क र कलेज ड्रेसमा भएकाले अरू परीक्षार्थीभन्दा फरक देखिइनन् करिश्मा । होमसेन्टरका रूपमा रहेको गोदावरीस्थित किटिनी माविमा छिर्नुअघि उनले गेट बाहिर टाँसिएको सूचनामा आफ्नो सिट नम्बर चेक गरिन् । अनि प्रवेशपत्र देखाउँदै भित्र छिरिन् ।

परीक्षाहल भित्रै उनको तस्वीर खिच्न जान खोजेका सञ्चारकर्मीलाई भने अनुमति दिइएन । परीक्षा दिन जानुअघि करिश्माले हामीसितको छोटो कुराकानीमा यसपाली राम्रो तयारी गर्न नपाएको गुनासो सुनाइन् ।

‘म योचोटि अलि धेरै व्यस्त भएँ । इन्टेक्सको व्यापार भर्खरै सुरु गरेको अनि मुन्द्रेको कमेडी क्लवको सुटिङ पनि परेकाले पढाइमा धेरै समय दिन सकेको छैन । तैपनि राम्रै हुन्छ भन्ने अपेक्षा छ,’ उनले भनिन् ।

करिश्माले मेजर इंग्लिस लिएर आर्ट्स पढिरहेकी छन् । अब ८ गतेसम्म आफूले कुनै पनि कार्यक्रम नराखेको र पढाइमै फोकस हुने उनले सुनाइन् ।

‘यो वर्ष हामी कलेज नै जान पाएका छैनौं, त्यसैले प्राक्टिसको कमिले परीक्षामा लेख्न अलि स्लो होला कि जस्तो लागेको छ,’ उनले भनिन् ।

परीक्षाअघि कत्तिको डर लागेको छ ? भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘डर भन्दा पनि अलिक बेचैनीजस्तो भएको छ । आज राति तीनपटक निद्राबाट बिउँझिएँ ।’

उनले आफूसँगै १२ कक्षामा सहभागीहरुलाई शुभकामना दिएकी छन् ।

‘सबै मेरा भाइबहिनीहरुलाई परीक्षा राम्रो होस भनेर शुभकामना दिन चाहन्छु । धेरै प्रेसर महसुस नगर्नुस । सबै प्रश्नहरुको उत्तर दिने प्रयास गर्नुस,’ उनले भनिन् ।

     

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर