साफ च्याम्पियनसिप: फाइनल पुग्न सकेको छैन नेपाल, सर्वाधिक सफल को ? – Nepal Press

साफ च्याम्पियनसिप: फाइनल पुग्न सकेको छैन नेपाल, सर्वाधिक सफल को ?

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता साफ च्याम्पियनसिपको आगामी संस्करण अक्टोबरमा माल्दिभ्समा सुरु हुँदैछ । र, त्यसैको तयारी स्वरुप भारतविरुद्ध दुई मैत्रीपूर्ण खेलपछि नेपाली टोली कतारमा अभ्यास गरिरहेको छ ।

अक्टोबर १ तारिखदेखि मालेमा हुने प्रतियोगिताका लागि त्यहाँसँग मिल्दो मौसम भएको कतारमा अभ्यासका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कतारमा नेपाली टोलीलाई तयारी गराइरहेका छन् ।

वैशाखमा घरेलु मैदानमा भएको थ्री नेसन्स कपपछि नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका कुवेती नागरिक अल्मुताइरीले आफ्नो प्रमुख लक्ष्य साफ च्याम्पियनसिपको फाइनल पुर्‍याउने रहेको बताउँदै आएका छन् ।

साफ च्याम्पियनसिपका १२ संस्करण खेलिसकेको नेपालले हालसम्म फाइनल यात्रा तय गर्न सकेको छैन । तर, नेपाललाई पहिलाेपल्ट फाइनलमा पुर्‍याउने दाबी गरिरहेका प्रशिक्षक अब्दुल्लाहले लामो समयदेखि तयारी गरिरहेका छन् । उनकै नेतृत्वमा विश्वकप छनोटका बाँकी खेलसँगै इराकसँग मैत्रीपूर्ण खेल खेलिसकेको नेपाली टोलीले साफका लागि पनि असार दोस्रो सातादेखि निरन्तर तयारी गरिरहेको छ ।

गत साता दशरथ रंगशालामा आयोजित भारतविरुद्धका दुई मैत्रीपूर्ण खेल पनि सोही प्रतियोगिताको तयारीका लागि थिए । जसमा आफूभन्दा माथिल्लो स्तरको भारतविरुद्ध नेपालले पहिलो खेलमा १–१ गोलको बराबरी नतिजा निकालेको थियो । तर, दोस्रो खेलमा भने २–१ गोलको नतिजामा पराजित भएको नेपालको गोल स्कोरिङमा समस्या देखिएको थियो । मैत्रीपूर्ण खेलपछि प्रशिक्षक अब्दुल्लाहले पनि स्कोरिङमा देखिएको समस्या स्वीकार्दै गोलका लागि फरक रणनीति अपनाउन सकिने बताएका थिए ।

भारतविरुद्धको दोस्रो खेलमा नेपालका लागि मिडफिल्डर तेज तामाङले पेनाल्टी एरिया बाहिरबाट लङरेन्जर प्रहार गर्दै सुन्दर गोल गरेका थिए । सोही गोलको उदाहरण दिँदै प्रशिक्षक अब्दुल्लाले गोलका लागि त्यस्ता रणनीति पनि तयार गर्ने बताएका थिए ।

यद्यपि, १२ पटकसम्म असफल भइरहेको नेपाली टोलीका लागि मालेमा हुने साफ च्याम्पियनसिपको फाइनल यात्रा सहज देखिँदैन । कोरोना भाइरसका कारण पटक–पटक स्थगित हुँदै र आयोजक राष्ट्र परिवर्तन हुँदै माल्दिभ्स पुगेको यो प्रतियोगितामा यसपाली पाँच टोली मात्रै सहाभागी हुँदैछन् ।

पाकिस्तान र भुटान प्रतियोगितामा अनुपस्थित भएसँगै नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, बंगलादेशमात्रै हुनेछन् । पाकिस्तानमाथि फिफाले लगाएको प्रतिबन्धका कारण प्रतियोगितामा सहभागी हुनेछैन भने भुटान सरकारले अनुमति नदिएकाले आसन्न साफ च्याम्पियनसिप पाँच टोलीमा खुम्चिएको हो ।

पाँच टोली मात्रै हुने भएसँगै प्रतियोगिताको फर्म्याट पनि लिगकम नकआउटबाट राउन्ड रोबिन पद्दतिमा परिवर्तन भएको छ । यसको अर्थ पहिलो चरणका खेलपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् ।

दक्षिण एसियाली फुटबलमा भारतपछि नेपाल चर्चित टोली मानिने भए पनि साफमा भने खराब नतिजाको शिकार बन्दै आएको छ । हालसम्म नेपाल फाइनलसम्म पुग्न नसक्दा प्रतियोगिताको सर्वाधिक सफल टोली निकटतम प्रतिद्वन्दी भारत हो ।

अक्टोबर ४ मा हुने बंगलादेशविरुद्धको खेलसँगै भारतले आसन्न संस्करणको सुरुआत गर्नेछ । अक्टोबर १ देखि १६ सम्म हुने तय भएको साफ च्याम्पियनसिप पछिल्लो पटक २०१८ मा बंगलादेशमा भएको थियो । हरेक दुई वर्षमा आयोजित हुने भए पनि कोरोना भाइरसका कारण एक वर्षपछि सरेको आसन्न १३औं संस्करणमा माल्दिभ्स साविक विजेताको रूपमा सहभागी हुँदैछ ।

बंगबंधु रंगशालामा भएको अन्तिम संस्करणको फाइनलमा भारतलाई २–१ गोलको नतिजामा पराजित गर्दै माल्दिभ्सले तीन वर्षअघि आफ्नो दोस्रो उपाधि जितेको थियो ।

हालसम्म साफ च्याम्पियनसिप विजेताहरू

वर्ष च्याम्पियन स्कोर उप-विजेता
१९९३ भारत राउन्ड-रोबिन पद्दति श्रीलंका
१९९५ श्रीलंका १-० भारत
१९९७ भारत ५-१ माल्दिभ्स
१९९९ भारत २-० बंगलादेश
२००३ बंगलादेश १-१ (५-३ पेनाल्टी) माल्दिभ्स
२००५ भारत २-० बंगलादेश
२००८ माल्दिभ्स १-० भारत
२००९ भारत ०-० (३-१ पेनाल्टी) माल्दिभ्स
२०११ भारत ४-० अफगानिस्तान
२०१३ अफगानिस्तान २-० भारत
२०१५ भारत २-१ (अतिरिक्त समयमा) अफगानिस्तान
२०१८ माल्दिभ्स २-१ भारत

 साफको सर्वाधिक सफल टोली

सात पटकको च्याम्पियन भारत प्रतियोगिताको सबैभन्दा सफल टोली हो । त्यस्तै आसन्न संस्करणको आयोजक मुलुक माल्दिभ्स दोस्रो सफल टोली हो । बंगलादेश र श्रीलंकाले हालसम्म एक/एक पटक साफ च्याम्पियनसिपको उपाधि जितेका छन् भने नेपाल, पाकिस्तान र भुटान हालसम्म उपाधिविहीन छन् ।

टोली उपाधि संख्या उपविजेता जितेको वर्ष
भारत १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५)
माल्दिभ्स २००८,२०१८
बंगलादेश २००३
अफगानिस्तान २०१३
श्रीलंका १९९५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *