साफ च्याम्पियन्ससिपः बंगलादेशको टोलीमा नाइजेरियामा जन्मिएका एलेटा किङ्ग्सले – Nepal Press

साफ च्याम्पियन्ससिपः बंगलादेशको टोलीमा नाइजेरियामा जन्मिएका एलेटा किङ्ग्सले

काठमाडौं । बंगलादेश फुटबल संघ (बीएफएफ)ले नाइजेरियामा जन्मिएका फरवार्ड एलेटा किङ्ग्सलेलाई साफ च्याम्पियनसिपको तयारीका लागि ३४ जनाको प्रारम्भिक टोलीमा समावेश गरेको छ । यद्यपि, एलेटाले बंगलादेशको प्रतिनिधित्व गर्न पाउने कि नपाउने भन्ने विषयमा फिफाबाट आधिकारिकता पर्खिरहेको छ ।

बंगलादेशको फुटबल टोलीले सेप्टेम्बर २१ मा राष्ट्रिय फुटबलको सिजन समाप्त भएसँगै साफ च्याम्पियनसिपको तयारी सुरु गर्ने प्रयत्न गरिरहेको छ । बसुन्धरा किङ्ग्सले बंगलादेश प्रिमियर लिगमा बाँकी तीन खेल सेप्टेम्बर १४, १७ र २० मा खेल्ने छ । त्यसपछि राष्ट्रिय टोलीको तयारी सुरु गर्ने बीएफएफको योजना छ ।

बसुन्धरा किङ्ग्सबाट खेल्ने फरवार्ड एलेटा को हुन् ?

नाइजेरियाको ओग्बोनामा जन्मिएका एलेटाले त्यहाँकै क्लब अक्वा युनाइटेडबाट खेल्दै सन् २००९ मा व्यावसायिक करियरको सुरुआत गरेका थिए । एलेटाले सन् २०११ देखि लगातार बंगालदेशमा रहेका फुटबल खेलिरहेका छन् । उनले आरमबाघ केएस, टिम बीजेएमसी र मुक्तिजोद्दा सग्सद केसीबाट खेलिसकेका छन् ।

सन् २०२१ मा उनले बंगलादेशी नागरिकता लिएका थिए । र, बंगलादेशी च्याम्पियन बसुन्धरा किङ्ग्समा आवद्ध भएका थिए । अहिले एलेटा पूर्ण रूपमा बंगलादेशका नागरिक हुन् । तर, उनले फिफाबाट भने स्पष्ट स्वीकृति पाउन बाँकी छ ।

एलेटाले बंगलादेशबाट खेल्न पाउनेबारे के भन्छ बीएफएफ ?

फिफाबाट स्पष्ट स्वीकृति नपाए पनि बंगलादेशको फुटबल संघले एलेटालाई प्रारम्भिक टोलीमा समावेश गरेको छ । बीएफएफले फिफाले चाँडै उनलाई बंगलादेशबाट खेल्ने अनुमति दिने आशासहित टोलीमा राखेका हो ।

डेसी स्टारसँग बंगलादेश फुटबल संघका महासचि अबु नयिम सोहागले भने, ‘एलेटाले बंगलादेशको नेतृत्व गर्दै साफ च्याम्पियनसिप खेल्न पाउने विषयमा हामीले फिफासँग पटक–पटक सम्पर्क गरेका छौं । हामीले बुझेअनुसार फिफाले त्यो विषयका लागि एसियन फुटबल महासंघलाई भन्ने छ । र, हामी भर्चुअल वार्ता गरेर उनले बंगलादेशबाट खेल्न पाउने विषयमा छलफल गर्न सक्छौं ।’

बंगलादेशले साफ च्याम्पियनसिपको पहिलो खेल कहिले खेल्दै छ ?

बंगलादेशले अक्टोबर १ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यस्तै, अक्टोबर ४ मा भारतसँग र ७ मा माल्दिभ्ससँग खेल्ने छ । नेपालसँग भने बंगलादेशको खेल अक्टोबर १३ मा हुने तय भएको छ ।

साफ च्याम्पियनसिपको फर्म्याट कस्तो छ ?

प्रतियोगितामा पाँच टोली मात्रै सहभागी हुने भएपछि आगामी साफ च्याम्पियनसिपमा समूह हुने छैनन् । र, प्रतियोगिता राउन्ड रोबिन पद्दतिमा सञ्चालन हुनेछ । समूह चरणका खेल सकिएपछि शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर