अपहरणको आरोपमा शंकर पोखरेलविरुद्ध बिमला वलीले प्रहरीमा दिइन् जाहेरी – Nepal Press

अपहरणको आरोपमा शंकर पोखरेलविरुद्ध बिमला वलीले प्रहरीमा दिइन् जाहेरी

रूपन्देही । एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध प्रदेश सांसद बिमला खत्री वलीले अपहरण तथा शरीर बन्धकमा किटानी जाहेरी दिएकी छन् । पोखरेल मुख्यमन्त्री पदमा रहँदा आफूलाई दाङबाट अपहरण गरी ल्याएर साउन १५ गतेदेखि ५ दिनसम्म बन्धक बनाएको उनको दावी छ ।

वलीले पोखरेलसहित एमाले सचेतक भूमिश्वर ढकाल, दाङका एमाले नेता मानबहादुर राउत र पोखरेलको तत्कालीन सचिवालयका किरण गौतमविरुद्ध किटानी जाहेरी दिएकी हुन् । जाहेरीमा उनले निजहरुलाई अपहरण तथा शरीर बन्धकसम्वन्धी कानूनअनुसार कारवाहीको माग गरेकी छन् ।

सांसद वलीले साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धकसम्बन्धि कानुनअनुसार कारबाहीको माग गर्दै किटानी जाहेरी दिएकी हुन् । उनले जाहेरी रुपन्देहीमा दर्ता भए पनि घटनाको सुरुवात दाङबाट भएको भन्दै दाङमै पठाइएको प्रहरी स्रोतको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले भने मुद्दा दर्ताबारे आफूलाई पूर्णरुपमा जानकारी नभए बताए । आधिकारीक रुपमा बुझेर मात्रै प्रतिक्रिया दिने उनले उल्लेख गरे ।

वलीले साउन २१ गते बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज उपचारको लागि जाने तयारी गरेको बेला साउन १५ गते नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल र नेता मानबहादुर राउत लगायतले नेपालगञ्ज पु¥याइदिने भन्दै सिधै मुख्यमन्त्री कार्यालयमा पु¥याइ ५ दिनसम्म बन्धक बनाएको बताएकी थिइन् । उनले आफूलाई विज्ञप्ती तथा अन्य केही माइन्यूटमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको आरोप लगाएकी थिइन् ।

वली तत्कालीन एमाले नेता तथा लुम्बिनी प्रदेशका सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनबाट विजयी सांसद् हुन् । माओवादी र एमाले नेकपाबीचको एकता भग भएपछि उनी कहिले माओवादी, कहिले एमालेमा बसाइ सर्दै आएकी छन् ।
अल्पमतमा परेका लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई सत्ताच्यूत गर्न भूमिका निर्वाह गरेकी उनी हाल माओवादीमा छिन् ।

वलीविरुद्ध प्रदेशसभामा निवेदन दिएको एमालेले उनलाई पदमुक्त गर्न माग गर्दै सदन अवरुद्ध गरिरहेको छ । पार्टीले निर्णय गरेर कारबाही गर्न सिफारिस गरे पनि सभामुखले प्रकृया रोकेको आरोप एमालेले लगाउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर