सुर्खेत कांग्रेसमा ‘अखण्ड नेपाल’ विवाद ! सदस्यताको लफडाले अधिवेसन हुन सकेन – Nepal Press

सुर्खेत कांग्रेसमा ‘अखण्ड नेपाल’ विवाद ! सदस्यताको लफडाले अधिवेसन हुन सकेन

सुर्खेत । क्रियाशील सदस्यता विवादका कारण कर्णालीका दुई जिल्लामा अझै नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न हुन सकेको छैन । विवादका कारण सुर्खेत र डोल्पामा वडा अधिवेशन नहुँदा महाधिवेशनका अरु तालिकासमेत प्रभावित हुने देखिएको छ ।

सुर्खेतको मूल विवाद हो, पार्टी एकतापछि ‘अखण्ड नेपाल’ बाट आएकालाई दिने सदस्यता । यहाँ संस्थापन पक्षले अखण्ड नेपाल पार्टीबाट आएकालाई सदस्यता नदिएकोप्रति आपत्ति जनाएको छ । आम निर्वाचनमा यस क्षेत्रबाट अखण्ड नेपाल पार्टीको प्रतिनिधित्व गर्दै प्रेमप्रकाश खड्का प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका थिए । उनले जम्मा ३२ मत पाएका थिए । तर कांग्रेसले समायोजन गर्न भनेर जिल्ला कार्यसमितिलाई १९९ जनाको लिस्ट पठाएको थियो । ३२ मत मात्रै पाएको अखण्ड नेपालको नाममा एक सय ९९ जनाको क्रियाशील सदस्यताबारे केन्द्रबाट विवरण आएपछि सुर्खेत कांग्रेस झस्किएको हो ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का सुर्खेतका हुन् । उनी देउवा निकट मानिन्छन् । जिल्ला सभापति कमलराज रेग्मी भने रामचन्द्र पौडेल निकट हुन् । जिल्लामा उनलाई केन्द्रीय सदस्य हृदयराम थानीले साथ दिइरहेका छन् ।

कांग्रस केन्द्रले अखण्ड नेपाल पार्टीबाट आएकाहरुलाई क्रियाशील सदस्यता दिनका लागि भन्दै कार्यविधी नै लेखेर पठाइसकेको छ । महामन्त्री खड्काले हस्ताक्षर गरी पठाएको तीन बुँदे कार्यविधीमा कांग्रेसको क्रियाशील सदस्य बन्नका लागि अखण्ड नेपाल नामक राजनीतिक दलका सक्रिय सदस्यका रुपमा क्रियाशील रहेको व्यक्ति हुनुपर्ने, नेपाली कांग्रेस र अन्य राजनीतिक दलको सदस्य हुन नहुने र सो पार्टी छाडी अन्य पार्टीमा प्रवेश गरेको व्यक्ति हुन नहुने उल्लेख छ ।

केन्द्रले गरेको परिपत्रमा प्रक्रिया पुर्‍याई नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेकालाई समायोजनको कार्य गर्ने भन्ने उल्लेख छ । तर आफूहरुलाई सो अनुसार गर्न केन्द्रबाट नदिइएको सभापति रेग्मीले गुनासो गरे ।

‘१९९ जनालाई समायोजन गर्नु भनेर पत्र आएको हो । त्यसकालागि हामीले सुर्खेतका १४ वडाका साथीलाई पत्र लेख्यौं,’ रेग्मीले भने, ‘वीरेन्द्रनगर १ का २४ जनामा २१ जना, लेकवेशी नगरपालिका-१० का १६ जनामा १४ जना, भेरीगंगा वडा नं. ७ का २२ जनामा २१ जनाले अखण्ड नेपाल पार्टीका होइनौं, कांग्रेस नै हौं भनेर हस्ताक्षरसहित पत्र पठाउनु भएको छ ।’

उनले तहगत निर्णय भएर गएका सदस्यहरु बाहेकको नाम केन्द्रले पठाउँदा समस्या भएको बताए ।

‘तहगत समायोजन नभएका अखण्ड नेपालका नाममा जर्वजस्ति कार्यकर्ता राख्नु गलत हो,’ उनले भने, ‘पार्टीलाई विधी विधान अनुरुप नै सञ्चालन गर्नुपर्छ भन्ने मान्यता हामीले राखेका छौं । त्यहि मान्यतालाई केन्द्रले नटेरेका कारण अधिवेशन सम्पन्न हुन नसकेको हो ।’

उनले असोज ५ गते वडा अधिवेशन गर्ने भनिए पनि केन्द्रले हालसम्म मतदाता नामावली सार्वजनिक नगरेको बताए ।

‘केन्द्रले मतदाता नामावलीको सूची अहिलेसम्म प्रकाशित गरेको छैन । मतदान अधिकृत पनि तोकेको छैन,’ सभापति रेग्मीले भने, ‘पार्टीको सर्कुलरमा तहगत समायोजन हुनुपर्ने, अनि मात्र समायोजन हुने हाम्रो अडान हो, तर केन्द्रले भने सबैको नाम जसरी पनि सिफारिस गरेर पठाउन भनेको छ । यो कुरा मान्य छैन ।’

सुर्खेतमा देउवा पक्षका महामन्त्री पूर्णबहादुर खड्का र पौडेल पक्षका केन्द्रीय सदस्य हृदयराम थानीबीच कडा प्रतिस्पर्धा चलेको छ । दुई नेताबीचको प्रतिस्पर्धाले काँगेसको अधिवेशनलाई अन्यौलतामा धकेलेको कार्यकर्ताको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर