धनगढी पुगेर भीम रावलले भने– पार्टी रक्षाको लागि जस्तोसुकै त्याग गर्न तयार छु – Nepal Press

धनगढी पुगेर भीम रावलले भने– पार्टी रक्षाको लागि जस्तोसुकै त्याग गर्न तयार छु

कैलाली । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।

मंगलबार एमालेको जिल्ला पार्टी कार्यालयमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले रक्षाका लागि आफू पछि हट्न पनि तयार भएको बताएका हुन् ।

‘मलाई नेकपा एमालेको रक्षाको लागि कसैले पछि हट्दिनुहोस् भने जुनसुकै त्याग गर्न पनि तयार छु’ उनले भने ‘एमाले बचाउनका लागि म मात्र हैन, सबै कार्यकर्ताले त्याग गर्न तयार हुनुपर्दछ ।’

तर कसैले पाखा लगाउन खोजे परिणाम राम्रो नहुने उनको चेतावनी छ ।

उनले १० बुँदे सहमति कार्यान्वयन हुने समेत विश्वास व्यक्त गरेका थिए । नेकपा एकता प्रक्रियामा आएका माओवादी नेता तथा कार्यकर्ताहरूको समेत उचित व्यवस्थापन हुने रावलको भनाइ थियो ।

‘१० बुँदे सहमति कार्यान्वयन हुनुपर्छ, सबै पार्टी कमिटी जेठ २ मा फर्किनु पर्छ’ उनले भने ‘एकता प्रक्रियामा माओवादीबाट आउनु भएकाहरूलाई सम्मानजनक स्थान लिने कुरामा दुईमत छैन ।’

उनले पदाधिकारी रहेका माओवादीबाट आएका नेता तथा कार्यकर्ताहरूको बिषयमा छलफलबाट टुङ्याउन सकिने बताए ।

आफूबाट पनि विगतको विषयलाई लिएर विभेद र पक्षपातपूर्ण व्यवहार नहुने उनले स्पष्ट पारेका थिए। ‘कुनै पनि व्यक्तिमाथि पक्षपात हुँदैन । हुन दिइँदैन’ उनले भने ‘कसैलाई पनि अन्याय हुने छैन । ’

रावलले यसअघिका तिक्तता भुलेर एमालेलाई बलियो बनाउनसमेत सबैलाई आग्रह गरेका थिए । उनले विगतमा माधव नेपालकै सहमति पछि १० बुँदे सहमति गरेको भन्दै पार्टी विभाजनको अर्थ नरहेको बताए ।

एमाले विभाजन पछि एमाले छेडेका नेता तथा कार्यकर्ताहरूलाई रावलले पार्टीले ठूलो क्षति बेहोर्नसक्ने भन्दै एमालेमै फर्किन आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर